
लमजुङ जिल्लाको आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन निकै रोचक हुने भएको छ । चुनावी चर्चाको केन्द्रमा छन् पृथ्वीसुब्बा गुरुङ र गमप्रसाद गुरुङ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा पटक पटक मन्त्री पद सम्हालेका नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई हराउन एउटै पालिका क्होलासोथर गाउँपालिकाबाट नै नेपाली काग्रेंसका गमप्रसाद गुरुङ चुनावी मैदानमा उत्रनुभएको छ । निर्वाचनमा पृथ्वीसुब्बा गुरुङ र गमप्रसाद गुरुङको प्रतिस्पर्धा रोचक हुने भएको छ।
एमालेले केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बालाई नवौँ पटक उम्मेदवार बनाएको छ भने अघिल्लो पटक जिल्ला अध्यक्षमा पराजित गमप्रसाद पहिलो पटक कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा छन् । दुवै जना क्होंलासोंथर गाउँपालिकाका हुन् । पृथ्वीसुब्बाले विगतका विकास आयोजना र अधुरा सपना पूरा गर्ने एजेन्डा अघि सारेका छन् भने गमप्रसादले नीतिगत सुधारको प्रतिबद्धता जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीले पुराना दलप्रतिको वितृष्णा र सुशासनको एजेन्डालाई चुनावी मुद्दा बनाएका छन्। त्यस्तैगरी नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका हरिजङ तामाङ परिवर्तन र सामाजिक न्यायको एजेन्डासहित मैदानमा उत्रिएका छन्।
यस अघिको लमजुङ जिल्लाको मत परीणाम कस्तो थियो त ?
नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ ३४ हजार ९८५
गठबन्धनका देवप्रसाद गुरुङ ३१ हजार ७९१ मत (काग्रेंस र माओवादी केन्द्रका साझा उमेदवार )
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ई. धर्म केसी ९ हजार ३३
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बालचन्द्र्र श्रेष्ठ १२ सय ३१
मगाेंल नेसनल अर्गनाइजेसनका उमेदवार विकास गुरुङ ४५७
आगामी निर्वाचनमा सहभागि हुने मतदाताको संख्या र मतदान स्थल कति र कस्तो छ लमजुङमा ??
लमजुङ जिल्लामा कुल १ लाख ३ हजार १२५ जना मतदाता रहेका छन्। जसमध्ये महिला मतदाता ५१ हजार ५ सय २५ र पुरुष मतदाता ५१ हजार ६ सय जना रहेका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्या ३ हजार ४ सय ७ जनाले वृद्धि भएको छ।
लमजुङ जिल्लामा कुल १ सय ३० वटा मतदान स्थल र १ सय ८६ वटा मतदान केन्द्र तोकिएको छ । जसमा ३० वटा मतदान स्थललाई अति संवेदनशित, ७७ वटा मतदान स्थललाई संवेदनशील र २३ वटालाई मामान्य सुरक्षाको श्रेणीमा राखिएको छ ।
प्रतिश्पर्धी उमेदवारका बारेमा जानकारी
नेकपा एमालेका उमेदवार पृथ्वीसुब्बा गुरुङ
पटक–पटक मन्त्री र प्रदेशको संस्थापक मुख्यमन्त्रीसमेत भएर काम गरिसकेका पृथ्वीसुब्बासँग यसअघि काम गरेका विकास आयोजना चुनावी एजेण्डा छन् ।

गुरुङले मतदातासगँ भेटेर भन्ने गरेका छन् ‘मैले ल्याएका विकासका योजनाहरू धेरै अधुरा छन, ती अधुरा योजना पूरा गर्न र जिल्ला बनाउने मैले देखेका सपना पूरा गर्न म फेरि तपाईंहरूको माझमा आएको छु, मलाई आफ्नो मत दिएर जिताउनुहोस् ।’
नर्वाैं पटक नेकपा एमालेबाट उम्मेदवार बनेका पृथ्वीसुब्बा गुरुङ राष्ट्रिय स्तरमै परिचित नेता हुन्। पूर्वमुख्यमन्त्रीका रूपमा प्रदेश सरकारको नेतृत्व गरिसकेका गुरुङले नीति निर्माण, पूर्वाधार विकास र प्रशासनिक अनुभव सँगालेका छन्। पार्टीभित्र निर्णायक भूमिकामा रहँदै आएका उनी लमजुङको विकाससँग प्रत्यक्ष जोडिएका नेताका रूपमा एमाले कार्यकर्तामाझ लोकप्रिय छन्।
नेपाली काग्रेंसका गमप्रसाद गुरुङ
त्यस्तैगरी नेपाली काग्रेंसबाट उमेदवार बनेका गमप्रसाद गुरुङले पनि आफूलाई विकासको पक्षधर भनेर चिनाएका छन्, तर उनी बढी नीतिगत सुधार गर्ने प्रतिबद्धता सहित भोट मागिरहेका छन् । ‘

धेरै नीतिगत समस्याले हाम्रो विकास प्रभावकारी हुन सकेको छैन । बजेट आएपनि समयमा काम भएको छैन, काम नगर्नेलाई कारबाहीको दायरामा ल्याउन सकिएको छैन, सही कार्यान्वयनका लागि नीतिगत रूपमा प्रस्ट हुनुपर्ने भन्दै अब मूल नीतिमा सुधार ल्याउनैपर्ने गुरुङको भनाई छ ।
लामो समय अघिदेखि जडीबुटी र कृषिमा व्यस्त उनी लमजुङलाई जडीबुटीको हब बनाउनुपर्ने र किसानको उत्पादनलाई बजारसँग जोड्ने विषयलाई चुनावी एजेण्डा बनाएर हिँडिरहेका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका गमप्रसाद गुरुङ पार्टीको तल्लो तहदेखि सक्रिय रहँदै आएका नेता हुन्। गुरुङ संगठन विस्तार, कार्यकर्ता परिचालन तथा स्थानीय तहमा काँग्रेसको आधार बलियो बनाउन उनले निरन्तर योगदान पु¥याउँदै आएका छन्। सरल स्वभाव र जनसम्पर्कमा सक्रिय गुरुङ पार्टीभित्र भरोसायोग्य नेताका रूपमा चिनिन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसी
एउटै पालिकाका गुरुङ बन्धुबिचको प्रतिस्पर्धामा दाउ हेरिरहेका छन् वैकल्पिक शक्ति दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसी । अघिल्लो चुनावमा पनि आफ्नो उमेद्वारी दिएर रामै्र मत ल्याउन सफल केसीले पुराना दलप्रति मतदाताले देखाइरहेको वितृष्णा र सुशासनको एजेण्डालाई अस्त्र बनाएका छन् ।

‘नयाँ साथीहरू विरक्तिएका छन् । नेतृत्वको गाली गरेरमात्रै हुँदैन भनेर सम्मानपूर्वक उहाँहरूलाई विस्थापन गरेर काम गर्न हामी आएका हौँ,’ उनले भने, ‘सुशासन, भ्रष्टाचार, बेथिति अन्त्य गर्नुछ । जनताको अवस्थामा परिवर्तन ल्याउन म निर्वाचनमा होमिएको हुँ ।’ एकपटक मलाई जिताएर अवसर दिनुहोस्, त्यसपछि तपाईहरुको काम गर्ने जिम्मा मेरो भन्दै केसीले घरदैलोमा भोट मागिरहका छन् ।
सुन्दरबजार नगरपालिकाका केसी वातावरणीय इन्जिनियरिङमा काम गरिरहेका छन् । विकास निर्माण, पारदर्शिता र जवाफदेहिता उनका मुख्य एजेन्डा हुन्। कुनै दलको प्रभावबिनै जनताको प्रत्यक्ष आवाज प्रतिनिधित्व गर्ने उद्देश्यसहित उम्मेदवारी दिएका केसी स्थानीयस्तरमा सचेत नागरिकका रूपमा परिचित छन्।
नेपाली कम्युनिस्ट पार्टीका हरिजंग तामाङ
त्यसो त, नेपाली कम्युनिस्ट पार्टीले पनि युवालाई अघि सारेको छ । हरिजंग तामाङ नेकपाका उम्मेदवार छन् । उनी पनि नेतृत्व युवा पुस्तामा आउनुपर्ने बताउँछन् ।

तामाङले कानुन विषयमा स्नातक गरिसकेका छन् भने पिएडीका लागि एम.फिल गरिरहेका छन् । तामाङ नेकपा भित्र जनपक्षिय, बैचारिक एवम विकासप्रेमी नेताको रुपमा परिचित छन् । तामाङ पार्टी भित्र निष्ठावान तवरले अविचलित रुपमा आम नागरिकका पक्षमा अहोरात्र खटीरहने नेताको पहिचान बनाएका छन् ।
तामाङ लामो समयदेखि वाम आन्दोलनमा सक्रिय छन्। श्रमिक, किसान र निम्न वर्गका मुद्दा उठाउँदै आएका तामाङ पार्टी संगठन निर्माण, जनसंघर्ष र राजनीतिक चेतना अभिवृद्धिमा योगदान पु¥याउँदै आएका नेता हुन्। उनी परिवर्तन र सामाजिक न्यायको एजेन्डासहित मैदानमा उत्रिएका छन्।
कस्तो आउला चुनावी परिणाम ???
लमजुङमा पहिलेभन्दा फरक परिस्थिति छ । विगतका निर्वाचनमा दलहरूबिच हुने गठबन्धन अहिले छैन । १२ वर्षपछि सबै दल एक्लाएक्लै चुनावी मैदानमा छन् । गठबन्धनको ओत नभएपछि कसको प्रभाव कति छ भन्ने असली परीक्षा यसपटक हुँदैछ ।
यस अघिकोे चुनावमा काग्रेंस र माओवादीको गठबन्धनलाई पछाडी पार्दै ३ हजार भन्दा बढी मतले विजयी भएका एमालेका पृथ्वीसुब्बा गुरुङको आफ्नौ पालिकाको मत अहिले बाँडिनेवाला छ भने यसअघि गठबन्धनको कारण आफ्नै चिन्ह्ममा मतदान गर्न नपाएका काग्रेंसका कार्यकर्ता पनि अहिले जुरमुराएका छन् ।
परम्परागत रूपमा लमजुङमा कांग्रेस र एमालेकै प्रभाव बढी छ । जेनजी आन्दोलनपछि बढेको लहरले पुराना गढहरू भत्किने अवस्था समेत सिर्जना भए पनि यद्यपि, यहाँका मतदाता पुरानै दलहरूबिच प्रतिस्पर्धा हुने बताउँछन् ।
लमजुङमा पृथ्वीसुब्बा आफ्नै विरासत जोगाउन सङ्घर्षरत छन् भने कांग्रेसका गमप्रसाद उनको जितको निरन्तरतालाई रोकेर संसदमा इन्ट्री गर्ने दाउमा छन् । रास्वपाका धर्म केसीचाहिँ पुराना दलको गढलाई भत्काउन प्रयासरत छन् । युवा जोसका साथ आएका हरीजगंले तामाङ पनि आफ्नो पकडमा राम्रै मत ल्याउने आशामा छन् ।
यी चारै उम्मेदवार फरक विचार, अनुभव र कार्यशैली बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिँदा लमजुङको राजनीतिक बहस थप जीवन्त र अर्थपूर्ण बन्ने अपेक्षा गरिएको छ। जिल्लाबासीको मन जितेर विजयको माला कसले पहिरिन्छ त्यो अव समयले देखाउने छ ।









