
वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन्। भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा धार्मिक कार्यमा अत्यन्त महत्वपूर्ण मानिने कुश विधिपूर्वक घरमा भित्र्याउने गरिन्छ। यही दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा पनि मनाइने भएकाले कुशेऔँसी धार्मिक आस्था र पारिवारिक सम्मानसँग जोडिएको पर्व हो।
सनातन परम्परामा कुशलाई पवित्र वनस्पतिका रूपमा लिइन्छ। वर्षभरि गरिने देवकार्य, पितृकार्य, श्राद्ध, तर्पण तथा विभिन्न धार्मिक कर्मकाण्डमा कुशको प्रयोग गरिन्छ। धार्मिक मान्यताअनुसार कुशेऔँसीका दिन विधिपूर्वक उखेलिएको कुश वर्षभरि प्रयोग गर्न योग्य मानिन्छ। त्यसैले यस दिन घरघरमा कुश भित्र्याएर सुरक्षित राख्ने चलन छ।
कुशेऔँसीलाई बाबुप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा पनि लिइन्छ। जीवित बाबु हुनेहरूले मिठाइ तथा आफूलाई मन पर्ने परिकार खुवाएर सम्मान गर्ने र आशीर्वाद लिने गर्छन्। बाबु दिवङ्गत भइसकेकाहरूले भने तीर्थस्थल तथा धार्मिक स्थानमा पुगेर बाबुको सम्झनामा तर्पण, पिण्डदान, श्राद्ध तथा सिदादान गर्ने परम्परा छ।
विशेषगरी मिथिला क्षेत्रमा यस पर्वलाई ‘कुशअमबसीया’का रूपमा मनाउने गरिन्छ। मैथिल समुदायले वैदिक मन्त्रोच्चारण र धार्मिक विधिअनुसार कुश सङ्ग्रह गरी घरमा राख्ने गर्छन्। आज सङ्ग्रह गरिएको कुशलाई वर्षभरि हुने पितृकार्य, शुभकार्य तथा धार्मिक कर्मकाण्डमा प्रयोग गर्ने परम्परा रहेको छ।
यसरी हेर्दा कुशेऔँसी केवल कुश घरमा भित्र्याउने पर्व मात्र नभई धर्म, संस्कार, पितृस्मरण र बाबुप्रतिको सम्मानलाई एकैसाथ जोड्ने विशेष दिनका रूपमा मनाइन्छ।









