
प्रदेश अस्पताल लमजुङमा अब पेटमा एउटा मात्र प्वाल बनाएर एपेन्डिक्सको शल्यक्रिया गर्न सकिने भएको छ। अस्पतालले SILS (Single-Incision Laparoscopic Surgery) प्रविधिबाट एपेन्डिक्सका दुई वटा सफल शल्यक्रिया सम्पन्न गरेको हो।
यसअघि सामान्य दूरबिन प्रविधिबाट एपेन्डिक्सको शल्यक्रिया गर्दा पेटमा तीन ठाउँमा साना प्वाल बनाउनुपर्ने भए पनि SILS प्रविधिमा एउटै प्वालबाट शल्यक्रिया गर्न सकिन्छ। यसले शल्यक्रियापछि पेटमा देखिने दाग कम हुने तथा बिरामीलाई तुलनात्मक रूपमा छिटो निको हुन सहयोग पुग्ने चिकित्सकहरू बताउँछन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार नेपालका सरकारी अस्पतालमध्ये सम्भवतः पहिलोपटक लमजुङमा यो प्रविधिबाट एपेन्डिक्सको शल्यक्रिया सफलतापूर्वक गरिएको हो। सीमित स्रोतसाधनका बीच पनि आधुनिक प्रविधिको प्रयोग गर्दै जिल्लामै गुणस्तरीय शल्यक्रिया सेवा विस्तार गर्न अस्पताल सफल हुँदै गएको उहाँको भनाइ छ।
“दुर्गम क्षेत्रका नागरिकलाई पनि आधुनिक र विश्वस्तरीय स्वास्थ्य सेवा आफ्नै जिल्लामा उपलब्ध गराउने हाम्रो प्रयास हो। यो प्रविधिबाट सेवा दिन पाउँदा निकै खुसी छौँ,” डा। देवकोटाले भन्नुभयो, “यसका लागि निरन्तर साथ दिने सम्पूर्ण सर्जरी तथा ओटी टोलीप्रति आभारी छौँ।”
प्रदेश अस्पताल लमजुङले पछिल्ला वर्षहरूमा उपचार सेवाको दायरा निरन्तर विस्तार गर्दै आएको छ। अस्पतालमा डायलाइसिस सेवासँगै टेलिमेडिसिन, इन्डोस्कोपी, इकोलगायतका सेवा थपिएका छन् भने दूरबिन प्रविधिबाट शल्यक्रिया सेवासमेत सञ्चालनमा आएको अस्पतालले जनाएको छ। इन्डोस्कोपी र इको सेवा विस्तारसँगै विशेषज्ञ चिकित्सक तथा अन्य जनशक्ति थपिँदा अस्पतालमा सेवाग्राहीको संख्या समेत बढ्दै गएको छ।
प्रदेश अस्पतालको आधिकारिक विवरणमा पनि ओपीडी, आकस्मिक, अन्तरंग, मातृशिशु स्वास्थ्य, रेडियोलोजी, प्रयोगशाला, फार्मेसी, स्वास्थ्य बीमा र हेमोडायलाइसिसलगायतका सेवा सञ्चालनमा रहेको उल्लेख छ।
दुर्गम क्षेत्रका नागरिकलाई सामान्य उपचारका लागि समेत काठमाडौं वा पोखरा जानुपर्ने अवस्था कम गर्दै जिल्लामै विशेषज्ञ तथा आधुनिक शल्यक्रिया सेवा उपलब्ध गराउनेतर्फ प्रदेश अस्पताल लमजुङ अघि बढिरहेको छ। पछिल्लो समय थपिँदै गएका प्रविधि र सेवाले अस्पताललाई लमजुङसँगै आसपासका जिल्लाका नागरिकका लागि समेत महत्वपूर्ण उपचार केन्द्रका रूपमा स्थापित गर्दै लगेको छ।
सेवा विस्तार भएसगैँ अस्पतालमा अहिले दैनिक ४ सय देखि ५जना सम्म विरामीहरु उपचारको लागि आउने गरेका छन् ।









