विकासको दाबीबीच सडकमा जन्मिएको बच्चा…… हामी साँच्चै कति अगाडि बढ्यौँ?

-


     सृजना बराल     
     भाद्र २५ गते २०८३ मा प्रकाशित


राजविराजमा एउटी महिलाले अस्पतालको गेटनजिकै बच्चा जन्माएको खबर बाहिर आएपछि अहिले सामाजिक सञ्जाल तातेको छ र धेरैको मनमा एउटै प्रश्न उठेको छ– नेपालमा हामीले गरेको विकास आखिर कसका लागि हो ?

सार्वजनिक भएका विवरणअनुसार प्रसूति गराउन अस्पताल पुगेकी ती महिलासँग आवश्यक जाँचका लागि पैसा नभएको र उपचारका क्रममा समस्या भएपछि अस्पतालबाट बाहिरिनुपरेको बताइएको छ। त्यसपछि अस्पतालकै आसपासमा उनले बच्चा जन्माउनुपरेको घटना सार्वजनिक भएको हो। घटनाको वास्तविकता के हो, अस्पतालको गल्ती थियो वा थिएन, कसको कमजोरी थियो भन्ने कुरा छानबिनबाट स्पष्ट होला। तर एउटी गर्भवती महिलाले अस्पतालको छेउमै बच्चा जन्माउनुपर्ने अवस्था आउनु आफैंमा गम्भीर विषय हो।

हामी आज विकासको कुरा गर्छौं। गाउँगाउँमा सडक पुगेको भन्छौं। स्वास्थ्य क्षेत्रमा ठूलो बजेट छुट्याएको बताउँछौं। सरकारी अस्पतालमा प्रसूति सेवा निःशुल्क रहेको प्रचार गर्छौं। तर त्यही नेपालमा पैसा नभएकै कारण एउटी महिला सुरक्षित प्रसूति सेवाबाट टाढिनुपरेको हो भने हाम्रो विकासको वास्तविक तस्वीर कस्तो छ ?

यो प्रश्न राजविराजको एउटा अस्पतालको मात्र होइन। देशका धेरै ठाउँमा अझै पनि महिलाले यस्तै समस्या भोगिरहेका छन्।

दुर्गम गाउँमा अस्पताल पुग्न घण्टौँ हिँड्नुपर्ने अवस्था छ। कतिपय ठाउँमा स्वास्थ्य चौकी भए पनि प्रसूति सेवा छैन। कतै स्वास्थ्यकर्मी छैनन्। कतै एम्बुलेन्स समयमा आउँदैन। बाटो बिग्रिएको बेला गर्भवती महिलालाई बोकेर स्वास्थ्य संस्था लैजानुपर्ने बाध्यता अझै हटेको छैन।

कतिपय आमाले अस्पताल पुग्न नपाउँदै बाटोमै बच्चा जन्माउनुपरेका घटना पनि हामीले सुन्दै आएका छौँ। यो केवल भौगोलिक कठिनाइको कुरा होइन। यो राज्यले महिलाको स्वास्थ्यलाई कति प्राथमिकता दिएको छ भन्ने प्रश्न पनि हो।

महिलाको स्वास्थ्य कहिले पहिलो प्राथमिकता बन्छ ?

गर्भावस्था कुनै सामान्य अवस्था होइन। त्यो समयमा एउटा महिलालाई नियमित स्वास्थ्य जाँच, पोषण, सुरक्षित प्रसूति र आकस्मिक उपचारको आवश्यकता पर्छ।

तर आर्थिक रूपमा कमजोर परिवारमा अझै पनि महिलाको स्वास्थ्यलाई अन्तिम प्राथमिकतामा राख्ने अवस्था छ। घरमा पैसा कम छ भने पुरुषको उपचार पहिले हुन्छ, बच्चाको उपचार पहिले हुन्छ, तर गर्भवती महिलाले आफ्नो पीडा सहेर बस्नुपर्ने अवस्था पनि देखिन्छ।

महिलाले बच्चा जन्माउनु उनको मात्र जिम्मेवारी होइन। सुरक्षित मातृत्वको व्यवस्था गर्नु राज्यको पनि जिम्मेवारी हो।

त्यसैले प्रश्न उठ्छ– स्वास्थ्य सेवा साँच्चिकै सबै नागरिकका लागि समान छ कि पैसा र पहुँच हुनेका लागि मात्र सहज छ ?

‘हाम्रा आमाले पनि घरमै जन्माएका थिए’ भन्ने तर्क अब चल्दैन,

यस्ता घटना आउँदा कतिपयले भन्ने गर्छन्– ‘हाम्रा आमाहरूले पनि घरमै बच्चा जन्माएका हुन्, केही भएको थिएन।’

तर समय बदलिएको छ।

पहिले अस्पताल टाढा थियो, स्वास्थ्य सेवा सीमित थियो। आज राज्यसँग अस्पताल छन्, स्वास्थ्य चौकी छन्, चिकित्सक छन्, एम्बुलेन्स छन्, औषधि छन् र सुरक्षित प्रसूतिको नीति पनि छ।

त्यसैले हिजोको बाध्यतालाई आजको उपलब्धिको प्रमाण बनाउन मिल्दैन।

आज एउटी महिलाले सुरक्षित रूपमा बच्चा जन्माउन पाउनु उसको अधिकार हो। उसलाई त्यो अधिकार दिलाउनु परिवारको मात्र होइन, राज्यको पनि दायित्व हो।

गरिब महिलाले अझै कति पीडा सहने ?

राजविराजको घटनाले अर्को गम्भीर पक्ष पनि देखाएको छ– गरिब हुनु आफैंमा स्वास्थ्य सेवाबाट टाढिने कारण बन्नु हुँदैन।

ठूला मानिस बिरामी हुँदा देशभित्रका महँगा अस्पतालदेखि विदेशसम्म उपचारको व्यवस्था मिल्छ। आवश्यक पर्दा राज्यकै स्रोतबाट उद्धार र उपचारको व्यवस्था हुन्छ।

तर गाउँबाट आएको गरिब महिला अस्पतालको ढोकामा पुग्दा उसले पैसा, कागज वा पहुँचको कुरा सुन्नुपर्ने अवस्था आयो भने त्यसले हाम्रो स्वास्थ्य प्रणालीमाथि प्रश्न उठाउँछ।

नागरिक धनी वा गरिब हुन सक्छन्। तर राज्यले दिने स्वास्थ्य सेवामा उनीहरूको जीवनको मूल्य फरक हुनु हुँदैन।

अब भाषण होइन, व्यवहार चाहिन्छ………….

यस्ता घटना भएपछि छानबिन समिति बन्ने, दोषी देखिए कारबाही गर्ने र सुधार गर्ने प्रतिबद्धता आउने गर्छ। त्यो आवश्यक पनि छ।

तर एउटै प्रश्न छ– यस्ता घटना फेरि नदोहोरिने ग्यारेन्टी कहिले हुन्छ ?

सरकारले अब कागजमा मात्र होइन, व्यवहारमै सुरक्षित मातृत्व सुनिश्चित गर्नुपर्छ।

दुर्गम क्षेत्रमा पर्याप्त स्वास्थ्यकर्मी हुनुपर्छ। स्वास्थ्य चौकीमा आवश्यक सेवा र औषधि उपलब्ध हुनुपर्छ। प्रसूतिको समयमा आकस्मिक अवस्था आए तत्काल एम्बुलेन्स उपलब्ध हुने व्यवस्था हुनुपर्छ। आर्थिक अवस्था कमजोर भएका महिलाले पैसाकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन दिनु हुँदैन।

अस्पतालमा कुनै बिरामीसँग दुर्व्यवहार भयो वा सेवा दिन अस्वीकार गरिएको आरोप आयो भने त्यसको निष्पक्ष छानबिन हुनुपर्छ। दोषी जो भए पनि कारबाही हुनुपर्छ।

विकासको असली मापन

हामीले कति सडक बनायौँ, कति भवन बनायौँ, कति बजेट खर्च गर्‍यौँ भन्ने हिसाब आफ्नो ठाउँमा छ।

तर देशको विकासको अर्को हिसाब पनि हुनुपर्छ।

दुर्गम गाउँकी गर्भवती महिला कति सुरक्षित छिन् ?
गरिब महिलाले अस्पतालमा कस्तो व्यवहार पाउँछिन् ?
स्वास्थ्य संस्था पुग्न नसकेर कति आमाले बाटोमै बच्चा जन्माउनुपर्छ ?
पैसा नभएकै कारण कति महिला उपचारबाट पछि हट्न बाध्य छन् ?

यी प्रश्नको उत्तर नदिई विकासको परिभाषा पूरा हुँदैन।

राजविराजमा सडकछेउ जन्मिएको त्यो बच्चा एउटा परिवारको मात्र पीडा होइन। त्यो हाम्रो स्वास्थ्य प्रणालीलाई सोधिएको प्रश्न हो।

सरकारले यो प्रश्नको उत्तर भाषणबाट होइन, कामबाट दिनुपर्छ।

किनकि देश कति विकसित भयो भन्ने कुरा ठूलाठूला भवनले मात्र देखाउँदैनन्। एउटा गरिब आमाले प्रसूतिको पीडामा राज्यबाट कति सुरक्षा पाइन् भन्ने कुराले पनि देशको विकास देखाउँछ।

र यदि अझै पनि कुनै आमाले अस्पतालको ढोकासम्म पुगेर पनि सुरक्षित रूपमा बच्चा जन्माउन पाउँदिनन् भने हामीले विकासको दाबी गर्नुअघि एकपटक आफैंलाई सोध्नैपर्छ–

हामी साँच्चै कति अगाडि बढ्यौँ ?

सृजना बराल
बेसीशहर, लमजुङ