बाढीपीडितका लागि गुरुङ समुदायको १४ लाख ४५ हजार सहयोग

-


     भरत बाबु घिमिरे     
     भाद्र २६ गते २०८३ मा प्रकाशित


लमजुङको बेंसीसहर क्षेत्रमा बसोबास गर्ने गुरुङ समुदायले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु। १४ लाख ४५ हजार ५ सय ७२ सहयोग गरेका छन्।

तमु हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेंसीसहर इकाइको संयोजनमा १७ वटा तमु समाज र ८ सय ५७ जना दाताबाट रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको परिषद्का सचिव कृष्णबहादुर घलेले जानकारी दिए।

शुक्रबार बेंसीसहर नगरपालिका–७ त्रिवेणी टोलस्थित शान्तिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा सहयोगबारे जानकारी गराइएको थियो। कार्यक्रममा परिषद्का अध्यक्ष कुमबहादुर गुरुङले विपद्को समयमा पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले समुदायबाट रकम संकलन गरिएको बताए।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष पूर्णसिंह गुरुङले सहयोग गर्ने विभिन्न तमु समाज तथा दाताहरूको नाम र रकम विवरण प्रस्तुत गरेका थिए।