चितुवा फुत्किएर वनरक्षकलाई आक्रमण, नियन्त्रणका लागि डार्ट टोली पोखराबाट आउँदै

-


     नयाँ दीप    
     भाद्र २५ गते २०८३ मा प्रकाशित


लमजुङमा घाइते अवस्थामा उद्धार गरी डिभिजन वन कार्यालय परिसरमा ल्याइएको चितुवा पिँजडाबाट फुत्किएर आक्रमण गर्दा एक वनरक्षक घाइते भएका छन्। चितुवा कार्यालय परिसरमै रहेपछि बेंसीसहर बजार क्षेत्रमा समेत त्रास बढेको छ।

चितुवाको आक्रमणबाट डिभिजन वन कार्यालय लमजुङमा कार्यरत ५७ वर्षीय वनरक्षक बुद्धिजङ गुरुङ घाइते भएका हुन्। चितुवाको आक्रमणबाट उनको देब्रे हात र अनुहारमा चोट लागेको छ। उनको प्रदेश अस्पताल बेंसीसहरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बेंसीसहर नगरपालिका–११ चितीस्थित तिलाहार–कार्कीडाँडा सडकअन्तर्गत धङ खोलामा बिहीबार दिउँसो स्थानीयले अशक्त अवस्थामा चितुवा देखेपछि वडाध्यक्ष शिवप्रसाद जोशीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी, वन कर्मचारी र स्थानीयको टोलीले चितुवालाई उद्धार गरी डिभिजन वन कार्यालय बेंसीसहर ल्याएको थियो।

डिभिजनल वन अधिकृत शिव श्रेष्ठका अनुसार चितुवा बिरामी तथा अशक्त अवस्थामा भेटिएको थियो। उद्धारपछि त्यसलाई कास्कीको पचभैयास्थित रेस्क्यु सेन्टरमा लैजाने तयारी गरिएको थियो। तर, कार्यालय परिसरमा चितुवालाई अर्को पिँजडामा सार्ने क्रममा खोर भत्काएर फुत्किएको हो।

चितुवा फुत्किएपछि नियन्त्रणमा लिने क्रममा वनरक्षक गुरुङमाथि आक्रमण भएको बताइएको छ। आक्रमणपछि घाइते गुरुङलाई उद्धार गरी चितुवा ल्याउन प्रयोग गरिएको सवारीसाधनभित्र सुरक्षित राखिएको थियो।

वन कार्यालयका अनुसार करिब दिउँसो साढे ३ बजेतिर उद्धार गरिएको चितुवा बेंसीसहर ल्याउँदा साँझ पर्न लागेको थियो। कार्यालय परिसरमा ल्याएपछि पिँजडाबाट फुत्किएको हो।

हाल चितुवा डिभिजन वन कार्यालय आसपासमै रहेको अनुमान गरिएको छ। त्यसलाई नियन्त्रणमा लिन वन कर्मचारी, प्रहरी र स्थानीय परिचालन गरिएको छ भने डार्ट ९बेहोस बनाउने सुई० टोली पोखराबाट लमजुङतर्फ आउँदै गरेको जनाइएको छ।

चितुवा नियन्त्रणमा नआएसम्म कार्यालय परिसरमा सुरक्षा सतर्कता बढाइएको छ। कार्यालयका कर्मचारीलाई समेत आवश्यक सावधानी अपनाउन भनिएको छ भने आसपासका बस्ती तथा बजार क्षेत्रमा पनि सचेत रहन आग्रह गरिएको छ।