लापसे नियन्त्रणमा यातायात व्यवसायीको पहल, ट्राफिक प्रहरीलाई १० मेडिकल किट

-


     नयाँ दीप    
     भाद्र २५ गते २०८३ मा प्रकाशित


सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षालाई प्रभावकारी बनाउन लमजुङ कालिका यातायात सञ्चालक प्रालिले ट्राफिक प्रहरीलाई लागुऔषध सेवन परीक्षण ९लापसे० का १० थान मेडिकल किट उपलब्ध गराएको छ।

सवारी चालकले लागुऔषध सेवन गरेर सवारी चलाउने अवस्था नियन्त्रण गर्न परीक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रालिले उक्त किट सहयोग गरेको हो।

बिहीबार आयोजित कार्यक्रममा प्रालिका अध्यक्ष पूर्णलाल श्रेष्ठले आफ्नै कार्यकक्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक गौतमबहादुर खत्रीलाई १० थान मेडिकल किट हस्तान्तरण गर्नुभयो।

प्राप्त किटमार्फत सवारी चालकले लागुऔषध सेवन गरी सवारी चलाए–नचलाएको परीक्षण गर्न सकिने जनाइएको छ। नियमित तथा आवश्यकताअनुसार हुने लापसे परीक्षणले जोखिमपूर्ण अवस्थामा सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न र सम्भावित दुर्घटना रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यातायात व्यवसायी र ट्राफिक प्रहरीबीच भएको छलफलमा सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन आगामी दिनमा समेत सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

यातायात व्यवसायीको यस्तो पहलले ट्राफिक नियम कार्यान्वयनमा प्रहरीलाई सहयोग पुग्नुका साथै चालकलाई जिम्मेवार र सुरक्षित रूपमा सवारी सञ्चालन गर्न थप सचेत बनाउने अपेक्षा गरिएको छ।