बाढीपीडितको सहयोगमा फ्युचर स्टार विद्यालय परिवार, २ लाख ८९ हजार राहत कोषमा

-


     नयाँ दीप    
     भाद्र २५ गते २०८३ मा प्रकाशित


पीडित नागरिकको साथमा उभिँदै लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालय परिवारले २ लाख ८९ हजार १९५ रुपैयाँ सहयोग गरेको छ।

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयका संस्थापक, शिक्षक–कर्मचारी र विद्यार्थीको संयुक्त पहलमा रकम संकलन गरिएको हो।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक रामकृष्ण घलेले जानकारी दिनुभयो।

विद्यालयका संस्थापकद्वय बाबुराम पौडेल र साबित्रा दवाडी पौडेलले १ लाख ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ। त्यस्तै, शिक्षक तथा कर्मचारीले आफ्नो एक दिनको तलब बराबर ७० हजार ८ सय रुपैयाँ प्रदान गरेका छन्।

विद्यालयको जुनियर रेडक्रस सर्कलमार्फत विद्यार्थीहरूले समेत ६८ हजार ३९५ रुपैयाँ संकलन गरी राहत अभियानमा योगदान दिएका छन्। यसरी संस्थापकदेखि शिक्षक, कर्मचारी र विद्यार्थीसमेतको सहभागितामा कुल २ लाख ८९ हजार १९५ रुपैयाँ जुटेको हो।

विपद्का बेला पीडितको दुःखमा विद्यालय परिवारको तर्फबाट ऐक्यबद्धता जनाउँदै तत्काल राहतमा सहयोग पुर्‍याउने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा समेत टेवा पुगोस् भन्ने उद्देश्यले रकम सहयोग गरिएको प्रधानाध्यापक घलेले बताउनुभयो।

विद्यार्थीको सानो–सानो योगदानदेखि संस्थापकको ठूलो सहयोगसम्म जोडिँदा राहतका लागि उल्लेख्य रकम जुटेको विद्यालयको यो पहलले विपदमा सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको सकारात्मक सन्देश दिएको छ।