भोटेकोशी बाढी : १ हजार ३६७ शव फेला, ५ हजार १३२ जना अझै सम्पर्कविहीन

-


     नयाँ दीप    
     भाद्र २४ गते २०८३ मा प्रकाशित


काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीको १५ दिन पुग्दा हालसम्म १ हजार ३६७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै ५ हजार १३२ जना सम्पर्कविहीन छन्।

प्राधिकरणका अनुसार रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ शव फेला परेका छन्। उपचारका क्रममा काठमाडौंमा थप दुई जनाको मृत्यु भएको छ।

फेला परेका शवमध्ये १०२ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ६२८ जना रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।

सम्पर्कविहीनमध्ये सबैभन्दा धेरै रसुवाका २ हजार ८६० र नुवाकोटका १ हजार ३९३ जना छन्। बाँकीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी कर्मचारी तथा विभिन्न जिल्लाका नागरिक रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत, पुनर्स्थापना र आवश्यक व्यवस्थापनका कामलाई निरन्तरता दिइएको छ।