
आगामी पुस १२ गतेबाट सुरु हुने ३२ औं राष्ट्रव्यापी त्रिवेणी कप फुटवल प्रतियोगगिताको तयारी ८० प्रतिशत सकिएको छ । लमजुङको सदरमुकाम बेसीशहरमा रहेको त्रिवेणी रङ्गशालामा हुने खेलको लागि तयारीलाई तीब्र बनाईएको हो ।
सहजी स्थित खेल मैदान परिषरमा १० हजार जनाले हेर्न मिल्ने अस्थायी प्याराफिट निर्माण गरिदै छ भने खेल्ने मैदान सम्याउने, आयोजक तथा प्रायोजकको ब्यानर बनाउने तथा टास्ने काम गरिदैछ ।
आयोजक त्रिवेणी युवा क्लवले शनिबार नै खेल कार्यतालिका समेत सार्वजनिक गरेको छ । ३२ औं त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियोगितामा यस बर्ष ए डिभिजनका थप चर्चित टीमले पनि सहभागिता जनाउने भएका छन् ।

सहिद स्मारक ए डिभिजन राष्ट्रिय लिग २०७६ र २०७८ को विजेता बनिसकेको मच्छिन्द्र क्लव, २०५२ को बिजेता एनआरटी र २०४२ को विजेता संकटासंगै विभागीय टीमहरु त्रिभुवन आर्मी क्लव र एपिएफ क्लव पनि यस बर्ष त्रिवेणी कपमा प्रतिस्पर्धा गर्दै छन् ।
यस बर्ष कूल १६ वटा टीमबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भन्दै खेलको स्तर बढाउन राष्ट्रिय रुपमा ख्यातिप्राप्त क्लवहरुलाई प्रतियोगितामा समावेश गराइएको क्लवका उपाध्यक्ष खुशीजंग गुरुङले बताउनुभयो ।
यस बर्ष अभिषेक चर्च एफसी, टोखा भगवती एफसी, सामना एफसी, चामे युवा क्लव एफसी पनि प्रतिस्पर्धामा छन् ।
लमजुङबाट आयोजक त्रिवेणी एफसीसंगै सुन्दरबजार एफसी सुन्दरबजार, बुद्ध युवा क्लव (बीवाइसी) भोटेओडार, मर्स्याङदी युवा क्लव (बेसीशहर), ठडराई अधिकारी समाज (दिहीथोक), लाङदी देवी युवा क्लव नाल्मा र लालीगुराँस युवा क्लव भुजुङ गरी प्रतियोगितामा जिल्लाका ७ टिम सहभागी हुँदै छन् ।
आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष राजकुमार घिमिरेले गतवर्ष प्रथम पुरस्कार ८ लाख रुपैयाँ रहेकोमा यसवर्ष ४ लाख बढाएर १२ लाख रुपैयाँ पुराएको बताउनुभयो ।
प्रतियोगितामा उपविजेता (दोस्रो पुरस्कार) लाई ६ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
प्रतियोगितामा सेमीफाइनलमा पुगेर पराजित २ टीमलाई २\२ लाख रुपैयाँ दिइने भएको छ । अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २५\२५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । क्वाटर फाइनलदेखि प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने आयोजकले जनाएको छ ।
२०४९ सालमा स्थापना भएको त्रिवेणी क्लवले हरेक बर्ष पुस १२ गतेदेखि फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रथम पुरस्कार खसी र दोस्रो पुरस्कार कुखुराको भाले राखेर शुरु गरिएको प्रतियोगिता ३२ औं श्रृंखलासम्म पुग्दा गण्डकी प्रदेशकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता बन्न सफल भएको छ ।