भुकम्पमा परी १ सय ५७ जनाको मृत्यु, ३ हजार ४१ घरपूर्ण क्षति

-


     नयाँ दीप    
     कार्तिक १९ गते २०८० मा प्रकाशित


गत शुक्रबार राती गएको भुकम्पमा परी जाजरकोट र रुकुममा १ सय ५७ जनाको मृत्यु भएको छ भने ३ हजार ४१ घरपूर्ण रुपमा क्षति भएको छ ।

रुकुम पश्चिममा भूकम्पले २ हजार १३६ घर पूर्ण क्षति भएका छन् । २ हजार ६४२ आंशिक र ४ हजार ६७० सामान्य क्षति भएका छ्न् । त्यस्तै भूकम्पका कारण जाजरकोटका ९ सय ५ घरमा पूर्ण क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुमका अनुसार प्रारम्भिक विवरणमा रुकुममा २ अर्बभन्दा बढीको क्षति भएको देखिएको छ । हालसम्म घाइते भएका ३०९ मध्ये १८१ डिस्चार्ज भएका छन् । २७ गम्भीर बिरामीको काठमाडौं, सुर्खेत, नेपालगन्जमा उपचार भइरहेको छ । हालसम्म ५२ को मृत्यु भएको सीडीओ हरिप्रसाद पन्तले बताएका छन् ।

सरोकारवाला र प्रभावितले राहत पर्याप्त नपुगेको गुनासो गरेका छन् । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।