
लमजुङको बेसीशहरमा महिलाहरुद्धारा सञ्चालित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ बार्षिक साधारण सभा छैटौं अधिबेसन सम्पन्न भएको छ । अधिबेसनले कान्तीदेवी घिमिरेको अध्यक्षतामा ७ सदस्यिय नयाँ सञ्चालक समिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मैयाकुमारी श्रेष्ठ, सचिवमा विमला पौडेल, कोषाध्यक्षमा विनिता बोहरा, सदस्यहरुमा, खातुन मिया, कला घिमिरे र सीता गौली रहनुुभएको छ । त्यस्तैगरी लेखा समितिको संयोजकमा अमृता घिमिरे असिम, सदस्यमा रमा न्यौपाने सर्वसम्मत रुपमा चयन हुनुभएको छ । ऋण समितिको सदस्यमा सविता बोहरालाई चयन गरिएको छ भने बाँकी सदस्यहरु बैठकबाट चयन गरिने छ ।
साकोसका अध्यक्ष सृजना घिमिरेको अध्यक्षतामा भएको साधारसभाको उद्घाटन प्रदेशसभा सदस्य पार्वती तामाङले गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य तामाङले अहिले सहकारीका वारेमा धेरै टिका टिप्पणी भएपनि लक्ष्मी नारायण सहकारी सहकारीको नीतिनियम भित्र रहेर सञ्चालनमा रहेको वताउनुभयो । उहाँले सस्था संचालनको क्रममा विभिन्न समस्या आइपर्नु स्वभाविक भएको भन्दै ति समस्यालाई क्रमिक रुपमा सुधार गर्दै अघि बढ्न सुझाव दिनुभयो । आर्थिक पारदर्शिता र सहकारीका सिद्धान्तलाई आत्मसाथ गर्दै संस्थाप्रति सञ्चालक समिति, सेयर सदस्य र कर्मचारी इमान्दार हुनुपर्ने उहाँको भनाई थियो ।

साकोसका अध्यक्ष सृजना घिमिरेले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै २०६९ सालमा ४० जना शेयर सदस्यबाट सुरु भएको लक्ष्मीनारायण सहकारीमा हाल १५ सय ५९ शेयर सदस्य पुगेको बताउनुभयो । पछिल्लो समयमा केहि सहकारीमा देखिएको समस्यालाई लिएर समग्र सहकारीलाई नै अविश्वास गर्न नहुने उहाँको भनाई थियो ।
दुई लाख शेयर पुजीबाट सुरु भएको साकोसको शेयर पुँजी हाल ८७ लाख १४ हजार ८ सय ९४ पैसा रहेको छ । आर्थिक बर्ष २०८१⁄०८२ को कुल वासलत ५ करोड ४७ लाख ६७ हजार ३ सय ७५ रुपैया रहेको छ ।
साधारण सभामा बार्षिक आय व्यय तथा लेखा परीक्षण प्रतिवेदन संस्थाका कोषाध्यक्ष कान्ती देवी घिमिरेले प्रस्तुत गर्नुभएको थियो भने साकोसका उपाध्यक्ष ज्ञानुमाया नखोलाले स्वागत मन्तव्य र संस्थाका सचिव विमला पौडेलले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा उषा बराल, उषा देवी घिमिरे, संस्थाका सदस्य खातुन मियाले शुभकामना मन्तव्य राख्नुभएको थियो भने पूर्व अक्ष्यक्ष शोभा थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । महिलाहरुको नेतृत्वमा सञ्चालित साकोसले वित्तिय क्षेत्रमा खाली बचत संकलन र ऋण प्रवाह मात्र नभई महिलाहरुलाई आर्थिक एवं समाजिक रुपले सशक्त वनाउन विभिन्न आय आर्जन एवं सिपमुलक कार्यक्रमहरु समेत गर्दै आएको छ ।









