
रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि लमजुङ उद्योग वाणिज्य संघले १ लाख ७० हजार १ सय ७० रुपैयाँ सहयोग गरेको छ।
विपद्को घडीमा पीडित परिवारलाई राहत पुर्याउने उद्देश्यले संघले आफ्नो विपद् राहत कोषबाट १ लाख रुपैयाँ उपलब्ध गराएको हो। त्यसैगरी संघका पदाधिकारी, कार्यसमिति सदस्य, व्यवसायी तथा एक आमा समूहबाट संकलित ७० हजार १ सय ७० रुपैयाँ थप गरी कुल रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको संघले जनाएको छ।
बिहीबार कोषमा रकम जम्मा गरेपछि त्यसको भौचर संघका अध्यक्ष भरतकुमार श्रेष्ठसहितको टोलीले लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई हस्तान्तरण गरेको थियो।
भौचर हस्तान्तरण कार्यक्रममा संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठ, महासचिव विपिन श्रेष्ठ, कोषाध्यक्ष भरत बिष्ट, बेँसीशहर इकाइ उपाध्यक्ष यज्ञनारायण श्रेष्ठ, महिला उद्यमी समितिका उपाध्यक्ष भवानी थापा, सचिव तीर्था घलेलगायत महिला व्यवसायी तथा संघका पदाधिकारीहरूको सहभागिता थियो।
संघले आर्थिक सहयोगसँगै बाढी प्रभावितका लागि आवश्यक जिन्सी राहत सामग्रीसमेत संकलन गरिरहेको जनाएको छ। संकलित सामग्रीलाई आवश्यकताका आधारमा सम्बन्धित प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको संघले बताएको छ।
विपद्का बेला व्यवसायी तथा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सहयोगले बाढीपीडितको राहत तथा पुनःस्थापनामा केही योगदान पुग्ने अपेक्षा गरिएको छ।









