अस्पतालमा लमजुङको ऐतिहासिकता झल्कदै

-


     भरत बाबु घिमिरे    
     पौष २३ गते २०८० मा प्रकाशित


लमजुङ जिल्ला अस्पतालमा विभिन्न आकर्षक चित्र बनाइएको छ । जिल्लाका प्रशिद्ध धार्मिक, पर्यटकीय, ऐतिहासिक विरासत बोकेका स्थान र संरचनाहरूका चित्र बनाइएको हो ।

लमजुङका स्थापित चित्रकार बाबु साइँलाद्वारा मनमोहक चित्र बनाइदै छ । अस्पतालमा स्वास्थ्य सम्बन्धी जानकारी मूलक चित्र हुनुपर्नेमा अन्य चित्र किन बनाइएको हो भन्ने प्रश्नमा सुन्दर र मनमोहक चित्रले मानिसको मन मश्तिष्क आनन्द बनाउँछ, रोगसँग प्रतिरोध गर्ने क्षमता बढाउँछ जसले आधा रोग त यिनै चित्र अबलोकनका कारण नै निको हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङले बताउनुभयो ।

लमजुङ दरबार

साथै स्वास्थ्य सम्बन्धी चित्रहरु पनि बनाइएको छ र यी चित्र परम्परागत हुन् अब मानिसलाई नयाँ स्वाद दिनुपर्छ भनेर यस्तो धार्मिक, पर्यटकीय, ऐतिहासिक चित्रहरु बनाएको अध्यक्ष तामाङले बताउनुभयो ।

अस्पतालको बाहिरी कम्पाउण्ड गरिएको वालमा लमजुङ दरबार, घलेगाउँ, पिस हिल, भुजुङ, दुधपोखरी, बराह पोखरी इशानेश्वर मन्दिर, कर्पूरेश्वर मन्दिर लगायतका ठाउँहरुको चित्र निर्माण भएको छ भने अन्य ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको चित्र निर्माण गरिदैछ ।

लमजुङ अस्पतालमा दैनिक चार सयको हाराहारीमा मानिस उपचारका लागि आउने गर्छन् । साथमा विरामी कुर्ने, भेट्न आउनेको संख्या पनि धेरै हुन्छ । यसरी दैनिक हजार जना जति मानिस अस्पताल छिरेका हुन्छन् । ती सबैका लागि मन प्रफुल्ल हुने वातावरण निर्माण गर्न सकियो भने अन्य मानिस पनि आउने मेडिकल सुपरिटेन्डेन्ट डा.विशाल तिवारीले बताउनुभयो । यसले अस्पतालको गरिमा पनि बढाउने डा. तिवारीको भनाई छ ।

चित्र लमजुङका आठ वटै पालिकाका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूका बनाइएका छन् । यसरी बनाइएका चित्र सम्बन्धित पालिकासँग सहकार्य गरेर बनाइएको अध्यक्ष तामाङको भनाई छ । अस्पतालको बाहिरी वालमा चित्र बनाउन सुरु गरेदेखि केही मानिसहरू तिनै चित्र हेर्नका लागि मात्रै पनि अस्पताल छिर्ने गरेका छन् ।

दुई तीनवटा चित्र बनाउँदै गर्दा देखि नै सामाजिक सञ्जालमा पोष्ट हुन थालेका थिए । यसरी पोष्ट हुन थाले पछि केहीले हाम्रो पालिकाको ऐतिहासिक स्थल पनि बनाउन पाए हुन्थ्यो भन्ने सुझाब दिएका थिए, साथमा ती स्थलका चित्र पनि बनाएर सम्बोधन गरिएको व्यवस्थापन समितिका सदस्य वासुदेव थापाले बताउनुभयो ।