लमजुङमा करिब १७ सय अस्थायी मतदाताले मत दिने

-


     नयाँ दीप    
     फागुन ७ गते २०८२ मा प्रकाशित


जिल्ला निर्वाचन कार्यालय लमजुङले एक हजार सात सय १२ जना अस्थायी मतदाताको नामावली सार्वजनिक गरेको छ । कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको नामावली स्वीकृत गरेको हो ।

संघ र प्रदेश सरकार मातहतका कर्मचारी, सुरक्षाकर्मी अस्थायी मतदाताको रुपमा रहेका छन् भने अस्थायी मतदातालाई छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी यादवराज आचार्यले बताउनुभयो।

लमजुङमा १३ मतदान अधिकृत, १३ सहायक मतदान अधिकृतसहित एउटा मतदान केन्द्र, सहायक कर्मचारी र स्वयंसेवक ३÷३ जना र एक जना कार्यालय सहयोगी गरी ९ जना कर्मचारी खटाउने तयारी गरिएको छ ।

लमजुङमा १ लाख ३७ हजार ९ सय २६ जना मतदाता रहेका छन् । जसमा महिला मतदाता ६९ हजार ३२४ र पुरुष मतदाता ६८ हजार ६०२ जना रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्या तीन हजार ४०७ जनाले बढेको छ । गत २०७४ को तुलनामा ३ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार आगामी निर्वाचनका निम्ति जिल्लामा एक सय ३० मतदान स्थल कायम भएको छ । जिल्लामा हाल एक सय ३० मतदानस्थलमा एक सय ९२ मतदान केन्द्र र एक वटा अस्थायी केन्द्र कायम भएकोे जनाएको छ ।

मतदानस्थलको पहिलो घेरा र मतपेटिकाको सुरक्षामा नेपाल प्रहरी खटिने भए पनि बाहिरी घेरामा आवश्यकताका आधारमा सशस्त्र प्रहरी र नेपाली सेनासमेत खटाउने गरिएको छ ।