समानुपातिक बन्दसूचीमा लमजुङबाट एमालेका २ जना मात्रै अटाए

-


     नयाँ दीप    
     पौष १८ गते २०८२ मा प्रकाशित


राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा लमजुङ जिल्लाबाट नेकपा (एमाले) का २ जनाको नाम मात्रै सार्वजनिक भएको छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि समानुपातिक उमेद्वारको बन्दसूचीमा एमाले पार्टीबाट महिलातर्फ टुकाभद्र हमाल र जनजाती पुरुषतर्फ प्रेमबहादुर घले समेटिएका हुन् ।

हमाल एमालेकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष हुन् । उनी २०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक तर्फ संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् । निर्वाचन आयोगमा एमालेले बुझाएको बन्दसूचीमा उनको नाम महिलातर्फ दोस्रो नम्बरमा छ ।

घले नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हुन् । उनी यसअघि २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूचीमा परेका थिए । तर यसअघि जनप्रतिनिधि भएकै कारण अन्तिम समयमा उनको नाम हटाइएको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा क्व्होलासोथार गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका घले हाल जनजातितर्फको बन्दसूचीमा ११ औं नम्बरमा छन् ।

निर्वाचन आयोगमा १ सय १० जना समानुपातिक सांसदका लागि ६५ राजनीतिक दलबाट ३ हजार ४ सय बढी उम्मेदवारको नामावली बुझाउँदा लमजुङबाट एमालेबाहेक नेपाली कांग्रेस, नेकपा, रास्वपालगायत अन्य कुनै पनि पार्टीका दलका उम्मेदवार समानुपातिक सूचीमा समावेश हुन सकेनन् । दलहरुले जिल्लाबाट समानुपातिकतर्फ ठूलो संख्यामा उम्मेदवार सिफारिस गरेका थिए ।