
झण्डै ५० वर्ष पहिला भए गरेका काम कुराहरु मध्ये कतिपय कुरा उमेर अवस्थाको कारणले पनि होला, स्मृति पटलमा जस्ताको तस्तै ताजा रहन सकेन । बुढयौलीले गाँजेपछि स्मरण शक्ति हास्र हुने, हातपाँउ चलाउन निकै गारो हुने र लेखपढ गर्ने जाँगर मर्दै जाने स्थिती सिर्जना हुँदो रहेछ ।
जेहोस् सम्झन सकेजति कुराहरुको स्मरण गर्न लायक विषय लिपिवद्ध गरेर राखिदिन सके यस्ता ऐतिहासिक एवं सामाजिक परिघटनाहरु प्रति चासो राख्ने भावी पिढींका लागि उपयोगी सामाग्री बन्न पनि सक्ला भन्ने हेतुले यस संबन्धमा सम्झन सके जति कुराको खेस्रा उतारेर राख्न चाहें । शुद्धाशुद्धी र भाषागत त्रुटीहरु पर्याप्त भएकोमा अल्पज्ञता नै मुख्य कारण हो भन्ने आत्मालोचना गर्र्दै यसबाट कोही कसैलाई अप्ठ्यारो परेमा क्षमा याचना गर्दछु ।

विषय प्रवेश गर्नु अगावै समष्टीगत जिल्लाको भौगोलिक, सामाजिक र ऐतिहासिक पृष्ठभुमी जाने बुझेसम्म संक्षेपमा उल्लेख गर्न सके प्रतिपादय विषय बुझ्न सजिलो पर्ला भन्ने अभिप्रायले त्यसतर्फ केहि उल्लेख गर्न चाहन्छु ।
वि.सं २०१९ को संविधान लागु हुनुपूर्व हालको मनाङ जिल्ला पनि लमजुङ अन्त्तरगत भएकाले मनाङ तर्फको प्रशासकीय सबै काम लमजुङबाटै हुने गर्दथ्यो । यो लमजुङ जिल्लाको पश्चिमोत्तर भेगका गोर्जे, तार्काङ, सैमराङ, भाचोक सिद्ध र ताङतिङ गा.वि.स.हरु लमजुङकै अभिन्न अंग थिए । जो वि.स. २०३२ मा संविधान संशोधन हुदां कास्की जिल्लामा गाभिन गएर लमजुङ केहि सागुरिएको हो । छुट्टै मनाङ जिल्ला अस्तित्वमा नभै लमजुङको अभिभाज्य भूभाग भएको त्यो कालखण्डको भौगोलिक बनावट अनुसार खुदी तरापु, सेरा, भुलभुलेको समतल फाँट क्षेत्र जिल्लाको लगभग केन्द्र विन्दुमा पर्ने देखिन्थ्यो ।
त्यही क्षेत्र अन्र्तगतको घनपोखराका गुरुङ जातिका जङ परिवारहरु राणाकालदेखि नै लमजुङ जिल्लाभरी आफ्नो साम्राज्य कायम राख्दै आएका संभ्रान्त परिवार मध्येका नरजङ सुब्बा खानदानको बोलवाला चल्ने भएकाले खुदीको पुरन्द्रिही भन्ने ठाँउमा महेन्द्र दल गण (सैनिक व्यारेक) रहेको, संस्कृत पाठशाला, आयुर्वेद औषधालय, हुलाक कार्यालय संचालन भै रहेको र वि.स.२०१३\२०१४ सालमा त्रिभुवन ग्राम विकास केन्द्रको स्थापनाले खुदी क्षेत्रमा जिल्ला सदरमुकाम हुनसक्ने प्रवल संभावना थियो ।
वि.स. २०१७ सालको राजनैतिक परिर्वतन पश्चात महेन्द्र दल गण गोरखा जिल्लामा सरेको बुझिन्छ भने वि.स. २०१९ मा लागु भएको संविधानले ताल भन्दा माथिको उत्तर खण्ड मनाङ र तालदेखि तलको भू–भाग मात्र लमजुङ जिल्ला हुनेगरि जिल्ला विभाजन हुदाँ भौगोलिक बनावट अनुसार जिल्लाको मध्यभागमा बेसीशहर पर्ने देखियो । त्यसैपनि यो बेसीशहर–गाउँशहर क्षेत्र ऐतिहासिक महत्व बोकेको स्थान हो । जहाँ श्री सम्वत् १५५० आषाढ १५ गते दशमी तिथी रविवारका दिन कास्की कोटका राजा कुलमण्डन शाहाका कान्छा राजकुमार यशोब्रहम (जसबम) शाहलाई कुश्माकर घिमिरेले खजे दुराको पिठयूमा जाबीमा बोकाएर सिन्दुरे ढुंगामा अविर जात्रा गदैै गाँउशहरमा ल्याई राजा रजाएका थिए ।
गृष्मकालमा गाँउशहर र शीतकालमा बेसीशहर रहेर यशोब्रहमा शाह देखि वीरर्मदन शाहसम्मका १२÷१३ पुस्ताले राज्य संचालन गरेका थिए भन्ने कुरा ऐतिहासिक तथ्यहरुबाट पुष्टी हुन्छ । त्यसैले होला राक्से खोलादेखि भलाम सेरासम्मको मस्र्याङ्दी वारिपारीको क्षेत्रलाई “रजस्थलमौजा” भनिन्थ्यो । गाँउशहर दरबारमा शाह वंशका कुल देवता गुहृयकाली र बेसीशहरमा लक्ष्मीनारायण मन्दिर तथा मस्र्याङदी मझुवा दोभानमा करपुरेश्वर महादेव मन्दिर यहीँ कालखण्डमा शाहवंशले स्थापना गरि यी ३ देविदेवताको नित्य नैमित्तिक पूजा हेतु ९०० मुरी गुठी जग्गाको व्यवस्था भएको रहेछ ।
गाँउशहर दरबार बेलाबेलामा मर्मत सुधार हुदै गएकोले यथास्थितिमा रहन सक्यो र एतिहासिक र पुरातात्विक महत्वको कारण अन्तत्तोगत्वा तत्कालिन श्री ५ को सरकारले गाँउशहर दरबार हेरचाह कार्यालय स्थापना गरेको कारण दरबारको संरक्षण, संवद्र्धन र विकासमा थप टेवा पुगेको छ । तर बेसिशहर दरबार (हाल फुलबारी, सार्वजनिक मञ्च एवं जिल्ला प्रहरी कार्यालय भएको ठाँउ) रेखदेख, मर्मत र सुधारको अभावले खण्डहरमा परिणत भै त्यसको भग्नावशेष समेत समाप्त भैसकेको छ ।
भौगोलिक, ऐतिहासिक तथा सामाजिक दृष्टिले बेसीशहर सदरमुकामको लागि उपयुक्त भएपनि यो काममा लागि पर्ने स्थानीय नेतृत्वको अभाव, वि.स. २०१७ सालको राजनैतिक परिर्वतनले बेसीशहर सदरमुकामको लागि पहल कदमी गर्दै आएका खुदी, भुलभुले र घनपोखरा क्षेत्रका बुद्धिजीवि, समाजसेवीहरु कोही पलायन भएका, कोही भूमिगत अवस्थामा रहेको मौकाछोपी दक्षिण पश्चिम भेगका टाठाबाठा, बुद्धिजीवि र व्यापारीहरुले केन्द्रमा पँहुच पुर्याई वि.स.२०१९ सालमा खुदीमा भएको त्रिभुवन ग्राम विकास केन्द्र कुन्छा सारियो र तनँहु लमजुङको सिमाना स्थित कुन्छामा झन्डै १० वर्ष सदरमुकाम कायम हुन सक्यो ।

पश्चिम, उत्तर, पूर्व र मध्यभागका बुद्धिजीविहरुबाट जिल्लाको दक्षिण सिमानाको कुन्छामा लमजुङको सदरमुकाम हुन सक्दैन, जिल्लाको मध्ये भाग बेसीशहरमा सदरमुकाम हुनुपर्छ भन्ने जनआवाज भित्रभित्रै भूसको आगो झै सल्की रहेको थियो । पंचायत व्यावस्थाको प्रथम सभापति एवं राष्ट्रिय पंचायत सदस्य स्वर्गीय युद्धजङ गुरुङ (नरजङ सुब्बाको नाती, घनपोखरा गा.वि.स.) लमजुङ जिल्लाको सदरमुकाम बेसिशहरमा हुनुपर्छ भनि खरो रुपमा लागि पर्नु भएको हो । तर उहाँको अकस्मात दुःखद देहावसान भएपछि उहाँका (युद्धजङ गुरुङका) दाजु स्वर्गीय नरेन्द्रजङ गुरुङ मनाङ जिल्लाको रा.पं.स. भएपनि स्थायी बसोवास लमजुङको घनपोखरामा नै भएको र उहाँ उत्कृष्ट बुद्धिजीवि, एवं कुशल राजनितिज्ञ समेत भएकोले लमजुङ जिल्लासँग सम्बन्धीत विषयमा चासो र चिन्ता हुनु स्वभाविकै थियो ।
उहाँले गाँउदेखि केन्द्रसम्म लमजुङ जिल्लाको सदरमुकाम बेसिशहरमा हुनुपर्छ भनी आवाज उठाउदै आउनु भएकोे हो । सायद यिनै नरेन्द्रजङ गुरुङलाई होला तत्कालिन गृहमन्त्रीसँग लमजुङको सदरमुकाम बेसीशहर हुनुपर्याे भनि माग राख्दा “बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन, कुन्छालीहरु माग्न आए पाए, बेसीशहर तर्फका कोहि माग्न आएन पाएनन” भन्ने अस्वभाविक ठाडो जवाफ दिएका थिए ।
लमजुङ जिल्लाको रा.पं.स.मा लामा गाँउका स्वर्गीय युद्धजङ गुरुङ निर्वाचित भएपछि नरेन्द्रजङ गुरुङ एक्लो वृहस्पती झुटो जस्तो हुनु परेन । यी दुवै नेताको संयुक्त प्रयासले गृहमन्त्रीलाई घचघच्याउने, राजा कहाँ विन्तीपत्र चढाउने काममा संयुक्त रुपमा दर्शन भेटको समयमा सदरमुकामको विषयलाई मूलमूद्दा बनाएर राजा समक्ष विन्ती चढाउने काममा सक्रिय भूमिका निर्वाह गर्नुभयो । फलतः लमजुङको सदरमुकाम टुङ्गो लगाउन आयोग गठन गर्नु भन्ने हुकुम पश्चात प्रमाङ्गी पश्चात तत्कालिन श्री ५ को सरकारदद्धारा वि.स. २०२७ सालमा भूगोलविद स्वर्गीय डा.हर्क गुरुङको संयोजकत्वमा लमजुङको सदरमुकाम निरोपण आयोग गठन भयो ।
सो आयोगले लमजुङको सदरमुकाम बेसीशहर नारायणस्थान निर्धारण हुनुपर्छ भन्ने प्रतिवेदन पेश गरेकोले श्री ५ को सरकारले तदनुसार निर्णय गरी लमजुङको सदरमुकाम बेसीशहर नारायणस्थान तोकि वि.स.२०२७ माघ १० गतेको राजपत्रमा सार्वजनिक सूचना प्रकाशित गरेको हुनाले लमजुङ जिल्लाको सदरमुकाम बेसीशहर निश्चित भएको हो ।
वि.स. २०१९ पछिको कालखण्डमा दक्षिण पश्चिम भेगका बुद्धिजीवि खास गरि स्वर्गीय लेखनाथ अधिकारी समेतले तँनहुको फाँउदी खोला र कलेश्ती उत्तरको भाग लमजुङ जिल्लामा गाभ्ने र लमजुङको भलाम खोला भाचोक खोला उत्तरको भाग काटेर मनाङ जिल्लामा गाभी सुन्दरबजार हाँडेटार क्षेत्रमा लमजुङको सदरमुकाम बनाउने प्रयास भएपनि दरबारका विश्वास पात्र डा.हर्क गुरुङको विरोधका कारण यो कथित प्रस्तावले मूर्तरुप लिन सकेन र सुषुप्त अवस्थामा नै सेलाएर गयो ।
यो पंक्तिकार गृह मन्त्रालयबाट जिल्ला पंचायत लमजुङमा सरुवा भएर वि.स. २०२७ कार्तिकमा हाँजिर भएको थिँए । गृह मन्त्रालय र पंचायत मन्त्रालय एउटै थियो । त्यसैले जिल्ला प्रशासन कार्यालय र जिल्ला पंचायत पनि एउटै कार्यालय भएकाले प्रमुख जिल्ला अधिकारी जिल्ला पंचायतको सचिव समेत हुने व्यवस्था थियो । जँहासम्म मलाई संझना छ, वि.स.२०२८ श्रावण १ गते मात्र जिल्ला पंचायत र जिल्ला प्रशासन कार्यालय अलग–अलग भएको हो । वि.स. २०२७ सालमा जिल्ला पंचायत सभापति स्वर्गीय लेखनाथ अधिकारी र प्र.जि.अ. कुलराज पाण्डे हुनुहुन्थ्यो । प्र.जि.अ. कुलराज पाण्डे सहायक अञ्चलाधीस पदमा सरुवा भै वि.स. २०२७ माघको पहिलो हप्ता रमाना हुँदा अर्को प्र.जि.अ. हाजिर हुन नआएसम्म प्र.जि.अ.को सम्पूर्ण जिम्मेवारी बहन गरी काम गर्ने मलाई निमित्त प्रमुख जिल्ला अधिकारीको अख्तियारी सुम्पेर जानुभएको थियो ।

यसै बिच (वि.स.२०२७ माघको अन्त्य तिर) गण्डकी अञ्चलाधीस कार्यालयका पंचायत निरीक्षण अधिकारी र लेखापरीक्षक जिल्लाको वस्तुस्थिति बुझन लमजुङ आउनु हुँदा जिल्ला भ्रमणको सिलसिलामा म पनि समावेश भै खुदी, भुलभुले, बेसीशहर, दुराडाँडा, धुसेनी आदि ठाँउमा पुगेको थिँए । त्यस बखत घनपोखराका गन्यमान्ने व्यक्तित्वहरुसँग सदरमुकाम बेसीशहर सार्ने विषयमा मोटामोटी सल्लाह र सुझाव प्राप्त भएको हो ।
वि.स.२०२८ वैशाख १ गतेदेखि ३ गतेसम्म राष्ट्रिय विभूति अमरसिंह थापाद्धृारा निर्मित कुन्छा भन्ज्याङको पौवामा जिल्ला पंचायत सभापति स्वर्गीय लेखनाथ अधिकारीको अध्यक्षतामा जिल्ला पंचायत लमजुङको साधारणसभा संचालन भएको थियो । निमित्त प्रमुख जिल्ला अधिकारीकोे हैसियतले सचिवको काम मैले चलाएको थिए । सदरमुकाम सार्ने सम्बन्धित प्रस्ताव पनि कार्यसुचिमा समावेश थियो । यो प्रस्तावलाई ३ गते बसेको साधारणसभाबाट श्री ५ को सरकारको निर्णयानुसार यही वैशाख ५ गते बेसीशिहर सदरमुकाम सार्ने सर्वसम्मत निर्णय भएको हो ।
वि.स.२०२७ चैत्रमा मित्रराष्ट्र भारतले नेपाललाई नाकाबन्दी गरेको विरोध गर्न भूतपूर्व सहहायक मन्त्री खगेन्द्रजङ गुरुङको अगुवाईमा दुई÷तीन सय मानिसको शान्तिपूर्ण जुलुस वि.स. २०२८ वैशाख १ गते कुन्छा पुगि धर्ना बसेको थियो । फेरी उत्तरपूर्व र पश्चिम भेगका जनताहरु वि.स. २०२८ वैशाख २ गते डोको नाम्लो सहित झन्डै तीन÷चार सय जति जनता बडागाँउका स्वर्गीय सुवेदार इन्द्र बहादुर गुरुङ र बेसीशहरका जम्दार हर्क बहादुर गिरी जसले उर्दी पोशाकधारी भू.पु.सैनिकहरुको रणकुशल नेतृत्व गर्नु भएको थियो । यो भिडमा अधिकांश भू.पु.सैनिकहरु आइलागे मात्र जाइलाग्ने मनस्थितिमा मौन रहेका देखिन्थे ।
सदरमुकाम सार्ने काममा भू.पु.सैनिकहरुको उल्लेखनीय सहयोग भएको थियो । साधुरो कुन्छा भन्ज्याङमा २ थरीको त्यत्रो भिड उपस्थित हुँदा खान र बस्नको समस्या त थियो नै, शान्ति सुब्यवस्था कायम राख्न समेत हम्मे–हम्मे परेको थियो ।
उता गण्डकी अञ्चलाधीश सूर्य प्रसाद श्रेष्ठसँग टेलिफोन तार मार्फत सिधा सम्पर्क हुने व्यवस्था मिलाइएको थियो र अञ्चलाधीसज्यूले “लिखित आदेश आँउदैछ सदरमुकाम लैजान्छौं भनी आएका जनताको भिडलाई जवरजस्ती हुलदंगा वा अशान्तिको स्थिती सृजना गरेमा प्रशासन चूप लागेर बस्दैन, शान्ति सुरक्षा कायम राख्न कफ्र्यु आदेश (निषेधाज्ञा) समेत जारी गरिनेछ” भन्ने सुचना मौखिक रुपमा सुनाई, “जिल्ला सभामा कुनै हुलहुज्जत हुन नपाउने गरी शान्ति सुरक्षाको प्रबन्ध मिलाउनु, सदरमुकाम सार्ने कुरा विशुद्ध प्रशासनिक मामिला हो, कसैको बलजफ्ती वा कुनै व्यक्ति विषेशले जस–अपजस लिनेगरी सदरमुकाम सार्न मिल्दैन” भन्ने आदेश माइकिङ गरि उपस्थित जनतालाई सुनाइएको थियो ।
साधा पोशाकका थप प्रहरी बल र लिखित आदेश २ गते बेलुका मलाई प्राप्त भएको थियो । सो लिखित आदेशमा “विशुद्ध प्रशासनिक ढंगले शान्ती सुरक्षाको समुचित प्रबन्ध मिलाई धनजन सहित सरकारी सम्पत्तिको हानी नोक्सानी नहुने गरी सदरमुकाम सार्नु” भन्ने व्यहोरा पनि उल्लेख गरिएको थियो ।
उता कुन्छाका साहुमहाजन र बुद्धिजीविहरुको सदरमुकाम कुन्छामा थामी राख्ने गोप्य मिटिङहरु भैरहेका थिए । राम्रो सुझबुझ भएका दुरगामी परीणामलाई मध्यनजर राखी कामकाज मिलाउन सक्षम जिल्ला पंचायत सभापति स्वर्गीय लेखनाथ अधिकारीज्युले सम्झाएपछि कुन्छाली मित्रहरुले श्री ५ को सरकारको निर्णय बदल्न असम्भव छ भन्ने कुरा बुझी शान्त मनस्थितिमा रहेका थिए ।
वि.स.२०२८ वैशाख ४ गते सभापतिज्यूको उपस्थितिमा तत्कालिन लमजुङ–मनाङ अदालतका माननीय न्यायाधीश चिरञ्जीवि शर्मा, मालपोत अधिकृत विष्णुध्वज अधिकारी, प्रहरी प्रमुख टेक बहादुर थापा, मेरो कार्यालय सहयोगी यदुनाथ सरल, स्वर्गीय गेहनाथ घिमिरे, त्रिलोचन सुवेदी, चन्द्रकान्त बराल समेतका कार्यालय प्रमुखहरुको बैठक बसी, भरियाको रुपमा सरकारी सामान लगी सहयोग गर्न आएका गाँउ–गाँउका जनतालाई, कार्यालयहरुका सामानहरुको तौल अन्दाज गरी औचित्यको आधारमा कार्यालय भाग लगाई, सामानको जिम्मा दिने र विभिन्न कार्यालयका कर्मचारीहरु आ–आफ्नो सामानको अघिपछि हुदै सुरक्षित साथ वि.स.२०२८ वैशाख ५ गते बिहान कुन्छाबाट बेसीशहर प्रस्थान गर्ने निधो गरियो । मालपोत कार्यालयको झण्डै १५० किलोग्रामको सेफ २ जना बलवान गुरुङ युवकहरुले आलोपालो बोकेर बेलुका बेसीशहर पुर्याएका थिए भने कारागारका थुनुवा कैदिहरुलाई प्रहरी बलको घेराबाट भाग्न उम्कन नपाउने गरि चलान गरियो ।
प्राविधिक समस्याले तत्काल आकाशवाणी कार्यालय सार्न मिलेन र यो बाहेकका सबै सरकारी कार्यालयहरुका मालसामानहरु र कर्मचारीहरु आ–आफ्ना सामानको अघीपछि हुदैं वि.स.२०२८ वैशाख ५ गते बेलुका सकुशल बेसीशहर आइपुगेका थिए ।
जिल्ला पंचायत सभापति स्वर्गीय लेखनाथ अधिकारीज्यू बेसिशहरमा व्यावस्था मिलाउन वि.स.२०२८ वैशाख ५ गते विहानै घोडा चढेर बेसीशहर जानु भएको थियो । म भने सबै कार्यालयका सामान चलाइ सकेर कुन्छाबाट झण्डै ११ः०० बजे प्रस्थान गरी बेलुका ६ः०० बजे बेसीशहर पुगेको थिए ।
कुन्छाका स्थानीय जनताबाट कुनै अभद्र व्यवहार होला कि भन्ने आंशका गरिए पनि, त्यहाँका भद्रजनहरुबाट सौहार्दपूर्ण वातावरणमा हात मिलाएर विदाई अभिवादन गरे । बेसीशहरबाट अड्डा लिन गएका मानिस र हामी कर्मचारीहरुलाई त्यस्तै बेसीशहर भन्दा लगभग ३÷४ किलोमिटर पर, बेसीशहर आउने बाटोमा पर्ने, नरुबल ढाँडमा स्वर्गीय मेजर डम्बर बहादुर थापा सहितको जनसमुदायले फुलमालादृारा हामीहरुलाई स्वागत गरेर भद्रता प्रर्दशन गरेका थिए ।
वि.स.२०२८ वैशाख ५ गते कुन्छाबाट बेसीशहर सदरमुकाम सारेर मैले आफ्नो न्यूनतम कर्तव्य पालना गरेको, यो कथा सुदुर भविष्यसम्म एकादेशको दन्त्तेकथा जस्तै, कहीं–कतै जीवित रहन सक्यो भने यो कथाकारको आत्मालाई सन्तोषको अनुभूती हुनेछ । अब अन्त्यमा, बेसीशहर सदरमुकामको स्थायित्वमा पुनः प्रश्न चिन्ह उब्जेको उपकथा यसैमा गाँसेर सम्पूर्ण कथाको उपसंहार गर्न चाहेको छु ।
यस सम्बन्धी कुरा के भने पंचायत कार्यकालमा हरेक वर्ष जस्तै नेपाल अधिराज्यका ५ विकास क्षेत्र र १४ अञ्चलहरुमा आलोपालो मिलाई श्री ५ महाराजधिराजको १÷२ महिना मुकाम हुनेगरि सवारी हुने सिलसिलामा, वि.स. २०३३ सालमा यो पश्चिमाञ्चल क्षेत्रको पोखरामा राजाको सवारी भएको थियो । यस क्रममा यस जिल्लाका उच्चपदस्थ व्यक्तित्वहरुले राजाको दर्शन भेट पाँउदै गर्दा, लमजुङको कुनै एक उटपटयाङ स्वनाम धन्य व्यक्तिले “बेसीशहरको जग्गा अत्यन्त उर्वरा लायक छ, त्यहाँ सदरमुकाम राख्न हुदैन, दनाईगाँउ माथिको (गाँउशहर चण्डीस्थान मुनि) तिलबारी भन्ने ठाँउमा सदरमुकाम राख्न उपयुक्त हुन्छ” भनेर वि.स.२०३३ साल कार्तिकमा विन्तीपत्र चढाएको रहेछ ।
राजाबाट हवाई निरिक्षण हुँदा नभन्दै बेसिशहर तथा आसपासका फाँटहरुमा लहलह धान झुलेको देखिदा, विन्तीपत्रवालाले जाहेर गरेको व्यहोरा साँचो ठानी राजाबाट “बेसीशहरको जग्गा खेतीयोग्य र अत्यन्त उर्वरा लायक भएकोले सदरमुकाममा भवन निर्माणका लागि तिलबारी भन्ने ठाँउको जग्गा उपयोग गर्नु, बेसीशहर फाँटको जग्गा नचलाउनु” भन्ने हुकुम प्रमाङ्गी भएको हुँदा सोहि अनुसार गर्नु भन्ने आदेश सवारी मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयमा प्राप्त भयो ।

त्यो समयमा लमजुङको प्रमुख जिल्ला अधिकारी स्वर्गीय पुरुषोत्तम भट्टराई हुनुहुन्थ्यो र म पनि जिल्ला प्रशासन कार्यालयमा कार्यरत थिए । लमजुङ अस्पतालको लागि जग्गा अधिग्रहण सम्बन्धी पहिलो सुचना प्रकाशित भै सकेको थियो । तर हुकुम प्रमाङ्गीका कारण स्थगित गर्न बाध्य हुनुपर्याे । तिलबारी भन्ने वैलानी जग्गा सदरमुकाम व्यावस्थापन गर्न साँगुरो हुने, बेसीशहर फाँटको जग्गा लिन नपाइने जटिल परिस्थिति सिर्जना भयो । त्यो बेला राजाको हुकुम प्रमाङ्गी उल्लङ्गन गर्नु भनेको गद्र्धन थाप्नु सरह अकाट्य हुन्थ्यो । यस्तो विषम परिस्थितिले बेसीशहरको सदरमुकाम यहाँबाट विस्थापित हुने संभावना देखियो साथै सुन्दरबजार, र्दोदी, दोभान, हाडेटार आदि स्थानमा सदरमुकाम स्थानान्तरण गर्ने विकल्पहरु आउन थाले ।
त्यो बेला रामचन्द्र बहादुर सिंह गण्डकी अञ्चलाधिश हुनुन्थ्यो र प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईसँग उहाँको राम्रो सम्बन्ध भएकाले, अञ्चलाधिसलाई बेसीशहर बोलाइयो । अञ्चलाधिस र प्र.जि.अ को छलफल भएपछि, प्रस्तावित तिलबारी, शेराफाँट र ओखलेफाँटको वेग्लावेग्लै ३ ओटा प्राविधिक नक्सा बनाएर, दरबारसँग निकटत्तम सम्पर्क र विश्वास भएका अञ्चलाधीसज्यूले राजदरबारसँग सोधेर “तिलबारीको जग्गा नपुग्ने भए नक्सा नं. ३ ओखलेफाँटको जग्गा अधिग्रहण गरी सरकारी भवन निर्माण गर्नु” भन्ने दोस्रो हुकुम प्रमाङ्गी गराउनु भएको थियो । अन्ततः जिल्ला अस्पताल र अन्य प्रशासकिय भवनहरुको लागि ओखलेफाँटको जग्गा विधिवत अधिग्रहण गरी, जिल्ला सदरमुकाम बेसीशहर टिकाउन सफल भएको हो । अस्तु ।
लीला बहादुर घिमिरे, बेसीशहर न.पा–१०, लमजुङ
यो लेख लिलाबहादुर घिमिरेले आफू निमित्त प्रमुख जिल्ला अधिकारी रहेको अवस्थामा लमजुङको सदरमुकाम कुन्छाबाट बेसीशहर सार्दाको प्रसगंमा लेख्नुभएको हो । १९९८ साल भदौ २६ गते लमजुङको बाँझाखेतमा जन्मनुभएको घिमिरेले २०१९ सालमा मनाङको जिल्ला बिकास समितिबाट आफ्नो जागिरे जीवन सुरु गर्नुभएको थियो । विभिन्न जिल्लामा सरुवा हुँदै २०२७ सालमा लमजुङको सदरमुकाम कुन्छामा रहेको जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमख जिल्ला अधिकारीको रुपमा आउनुभएको थियो । सोही समयमा लमजुङको सदरमुकाम कुन्छाबाट बेसीशहरमा सारिएको हो । बेसीशहर नै फराकिलो भएको र जिल्लाको चारैतिरबाट पायक पर्ने उपयुक्त स्थान भएकोले सोही समयमा कुन्छाबासीलाई समेत मनाएर सदरमुकाम यहाँ ल्याईएको उहाँले बताउनुभयो ।
जागिरे जीवनको ३० वर्ष विताएर २०५० सालमा घिमिरे रिटायर्ड हुनुभयो । नयाँ दीपसँगको कुराकानीका क्रममा जागिरे जीवनमा राजा विरेन्द्रको विवाहमा समेत आफू सहभागी भएको उहाँले स्मरण गर्दै खुशी व्यक्त गर्नुभयो ।
२०६० सालदेखि उहाँ तनहुँको देवघाटमा बसोबासका लागि जानुभयो । त्यहाँ साधुसन्तहरुसगँ सङ्गत हुने, शान्त बातावरण अध्ययन गर्न पाईने, सरसङ्गतमा सहभागी हुन पाउने हुँदा जीवनमा शान्ति भएको उहाँले बताउनुभयो । २०२४ सालमा सारदा कुमारी घिमिरेसगँ उहाँको विवाह भएको थियो । आफ्नो धर्मपत्नीसगैँ कहिले देवघाट त कहिले बेसीशहरको बाँझाखेतमा रहेको घरमा उहाँ बसोबास गर्दै आउनुभएको छ ।
लमजुङको सदरमुकाम बेसीशहरमा सार्दा निकै हतार हतारमा सारिएको पछि बजारलाई व्यवस्थित बनाउन केही पहल नभएकोमा भने उहाँलाई दुख लाग्छ । बेसीशहर अस्तव्यस्त शहर भएको उहाँको भनाई छ । सदरमुकाम सार्दा केही घटना हुन्छ भन्ने डरले प्रजिअले उहाँलाई नै निमित्त प्रजिअ दिएर बिदामा बसेको सोही मौका छोपेर सदरमुकाम बेसीशहरमा ल्याएको घिमिरेले बताउनुभयो ।
त्यो काम आफैंले गर्न पाएकोमा उहाँलाई गर्व लाग्छ । “हुन त आफू जागिरे भएर त्यो काम गर्ने अवसर पाएको हो तर पनि अहिलेसम्म कसैले पनि उहाँलाई तपाईले त्यति बेला सदरमुकाम बेसीशहर ल्याउन धेरै राम्रो भूमिका खेल्नुभयो भनेर कसैले भनेको छैन” घिमिरेले भन्नुभयो ।
आफू अहिले ८४ वर्षको उमेर भएको यो समयमा देशमा भएको धेरै परिवर्तनहरु देखेको भएपनि देशले खासै राम्रो नेतृत्व नपाएकोमा उहाँको दुखेसो छ । देश कंगाल भैसक्यो, न राजा ठीक छ, न त नेताहरु नै, संघियता देशको लागि बोझ भैसक्यो, धर्म निरपेक्षता पनि अशोभनिय भैसक्यो, अब देशमा आमुल परिवर्तन गर्न सक्ने खालको सुधारिएको र भ्रष्ट नभएको नेता आउनुपर्ने घिमिरेको भनाई छ भने जनता देश र नेतृत्वकोे विषयमा जिम्मेवार र सचेत बन्नुपर्ने उहाँको धारणा रहेको छ ।









