आजदेखि वडा दशैं सुरुः आज घटस्थापना, घर–घरमा जमरा राखिँदै

-


     नयाँ दीप    
     असाेज २८ गते २०८० मा प्रकाशित


आजदेखि नेपालीहरुको महान चाड वडा दशैं सुरु भएको छ । वडा दशैँको पहिलो दिन आज विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा सुरु हुने गर्छ । घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।
आजदेखि नौ दिनसम्म देवीको आरधना गरी १०औं दिन विजया दशमीको दिन प्रसाद मानेर जमरा लगाउने गरिन्छ। घटस्थापनाको साइत बिहान ११ बजेर २९ मिनेटमा तय गरिएको छ ।

आजैदेखि नवरात्र सुरु हुन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

केही व्यक्तिले सामूहिक र देवी मन्दिरमा पनि घटस्थापना गर्ने गर्दछन्। आजदेखि नौ दिनसम्म महाकाली, महालक्ष्मी, र महासरस्वती माताको विशेष आरधना गर्ने गरिन्छ।

आजदेखि उपत्यका र देशभरका देवी मन्दिरमा दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ। काठमाडौंको गुहेश्वरी, दक्षिणकाली र उपत्यकाभित्रका देवी मन्दिरमा दर्शनार्थी परिक्रमा दर्शन गर्ने गर्दछन्।