
राष्ट्रिय कोटीहोम रथ यात्रा लमजुङकोे बेसीशहरमा आई पुगेको छ । देशका ३८ वटा जिल्लाको यात्रा सकेर रथ यात्रा विहिबार लमजुङ आइपुगेको हो ।
विश्व हिन्दु महासंघ लमजुङको संयोजनमा बैदिक सनातन धर्म संस्कृतिको संरक्षण गरौं, विभिन्न जातजाती र धर्म संस्कृति बीच समन्वय र सद्भाव कायम गरौं भन्ने नारा सहित सदरमुकाम बेसीशहरमा रथ यात्रा कार्यक्रम गरिएको छ ।
बाजागाजाका साथमा सुरु गरिएको कार्यक्रममा ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय बेसीशहर, राधा गोविन्द परिवार बेसीशहर, लमजुङ नेवा खल लगायत विभिन्न आमा समूहहरुले रथ यात्रामा कलश र व्यानसर सहित सहभागिता जनाएका थिए भने नेवा खलले आफ्नै संस्कृती लाखे नाच तथा टाकटुके प्रर्दशन गरेको थियो ।
बेसीशहरको सेरा बजारबाट सुरु भएको रथ यात्रा मनाङे चौतारा पुगी फूलबारी मञ्चमा आएर सभामा परिणत भएको थियो । बेसीशरह नगरपालिका प्रमुख गुमान सिं अर्यालको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, प्रहरी नायव उपरीक्षक सशस्त्र बल लमजुङका खेमराज शर्मा लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा राष्ट्रिय कोटीहोम रथयात्राका अध्यक्ष मुकुन्द शर्मा हुमागाईले रथयात्राको महत्व माथि प्रकाश पार्नु भएको थियो । उहाँले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा लड्केश्वर महादेवको मन्दिर रहेको र सोहि ठाउँमा विश्वकै सबै भन्दा अग्लो त्रिशुल रहेको बताउदै सोही ठाउँमा विशाल कोटीहोम गर्ने लक्ष्य रहेको बताउनुभयो । त्यसको लागि रथ यात्रा गरी देशका सबै जिल्लाहरुमा पुगी कोटीहोमको लागि निमन्त्रणा दिएको र त्यस पवित्र कार्यमा सहभागी हुन सबैलाई आव्हान समेत गर्नु भएको छ ।
विश्व हिन्दु महासंघका शालिग्राम अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थिथो ।
ओमकार टेलिभिजन र ओमकार फाउन्डेसनले आयोजनामा सुरु गरेको रथ यात्रा लमजुङ पछि हिमाल पारीको जिल्ला मनाङ जाने र त्यसपछि देशको ७७ वटा जिल्लामा पुग्ने योजना भएकोले बाँकी रहेको अन्य जिल्लामा जाने बताइएको छ ।
