
हिन्दु धर्मालम्बी महिलाहरुले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन् । तीजको दिन ब्रत बस्ने महिलाहरुले अघिल्लो दिन मिठामिठा परिकार दरको रुपमा खाने चलन विगतदेखि चलिआएको छ ।
विशेषगरी टाढा रहेका दिदी बहिनीलाई माइती पक्षले तीजमा निम्ता गर्छन। दिदी बहिनी, परिवारका सदस्य, इष्टमित्र र छिमेकीहरु एकै ठाउँमा भेला भएर विभिन्न मिठा परिकारको दर खाँदै रमाइलो गर्ने चलन विगतदेखि चलिआएको छ।
विगतमा तीजको अघिल्लो दिन मात्रै दर खाने चलन रहेपनि आजभोलि शहरी क्षेत्रमा एक डेढ महिनाअघिदेखि नै दर खाने र खुवाउने चलनको विकास हुन थालेको छ। जसलाई कतिपयले विकृतिको रुपमा पनि अथ्र्याउने गरेका छन् ।
दरमा खिर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँअनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ । दरमा पौष्टिक तत्व भएका खानेकुरा खाने चलन छ । तर विज्ञले भने आफ्नो स्वास्थ्यको ख्याल गरेर दर खान सुझाव दिएका छन् । राति १२ बजेपछि भाद्र शुक्ल चौँथीका दिन बिहान गणेशको पूरा गरी साँझ सूर्यलाई अर्घ्य दिएरमात्र खाने परम्परा छ ।
आज दर खाने र भोलि हरितालिका तीज परेकाले माइतीघरमा तीज मनाउन महिलाहरु घरगाउँतिर जाने क्रम पनि बढेको छ ।
पछिल्लो समय तीज मनाउने शैली फेरिँदै गएको छ । महिना दिनदेखि दर खाने र रमाइलो गर्ने प्रचलन बढेको छ । दिदीबहिनी भेटघाट गर्ने, दुःख–सुख एवं आपसी अनुभवलाई गीतमार्फत् व्यक्त गर्ने र मिठा परिकार खाएर तीज मनाउने परम्परा रहेकोमा अहिले यसलाई रमाइलो पर्वका रुपमा लिन थालिएको छ।
पछिल्लो समय भने निराहार व्रत बस्नेको संख्या घट्दै गएको छ। चिकित्सकले पनि आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्रै व्रत बस्न सुझाव दिने गरेका छन्।









