
आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्तीका अवसरमा लिस्नो साहित्यिक मञ्च नेपाल, बेसीसहर लमजुङले प्रभातफेरी तथा कविता वाचन कार्यक्रम आयोजना गरेको छ। बेसीसहरको मनाङे चौताराबाट सुरु भएको प्रभातफेरी विभिन्न स्थानको परिक्रमा गर्दै जिल्ला समन्वय समिति लमजुङको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।
लिस्नो साहित्यिक मञ्चका अध्यक्ष कमला दनाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पुर्णबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी निरीक्षक झपेन्द्र बानियाँलगायत विभिन्न सरकारी कार्यालयका प्रमुख, साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो अवसरमा लिस्नो साहित्यिक मञ्चका संरक्षक तथा गण्डकी प्रदेश प्रज्ञा–प्रतिष्ठानको सदस्यमा मनोनित हुनुभएकोमा साहित्यकार बसन्त अधिकारीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा भरतबाबु घिमिरे, कमला केसी, बसन्त अधिकारी, बसन्त बहादुर थापा, माधव थापा लगायतका स्रष्टाले भानु जयन्तीको सान्दर्भिक कविता वाचन गर्नुभएको थियो। अन्य सहभागी साहित्यकारहरूले पनि कविता प्रस्तुत गर्दै आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानमा पुर्याउनुभएको योगदानको स्मरण गरेका थिए।
भानु जयन्ती नेपाली भाषा र साहित्यको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष विविध कार्यक्रमका साथ मनाइँदै आएको छ। कार्यक्रमको सञ्चालन लिस्नो साहित्यिक मञ्च नेपाल, लमजुङका सचिव दीपक पाण्डेले गर्नुभएको थियो।









