
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला परेका शवको संख्या ६ सय नाघेको छ। अधिकांश शवको अझै पहिचान हुन सकेको छैन। अत्यधिक गर्मीका कारण शव सड्न थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमण तथा महामारीको जोखिम बढेपछि सरकारले पहिचान नखुलेका शवलाई अस्थायी रूपमा जमिनमा गाड्ने निर्णय गरेको हो।
प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८, नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ शव फेला परेका छन्। सबै शवलाई लामो समयसम्म सुरक्षित राख्न आवश्यक शवगृह तथा चिस्यानयुक्त भण्डारणको क्षमता पर्याप्त नभएपछि अस्थायी रूपमा गाड्ने विकल्प रोजिएको हो।
सबैभन्दा धेरै शव भेटिएको चितवनको रामनगर–देवघाट क्षेत्रमा शव गाड्ने काम सुरु गरिएको छ। तर शवलाई सामूहिक रूपमा बेवारिसे ढंगले गाडिने भने होइन। प्रत्येक शवको छुट्टाछुट्टै फोटो, अनुहार, शारीरिक चिन्ह, कपडा तथा साथमा भेटिएका सामग्रीको विवरण सुरक्षित गरिनेछ। कानुनी प्रक्रिया पूरा गरी प्रत्येक शवलाई युनिक पहिचान नम्बर दिइनेछ भने डीएनए नमुना पनि सुरक्षित राखिनेछ।
शवलाई विशेष ब्यागमा राखेर करिब १।५ मिटर गहिरो खाडलमा गाडिने र प्रत्येक शवबीच निश्चित दूरी कायम गरिने जनाइएको छ। शवसँगै र गाडिएको स्थानमा समेत पहिचान नम्बर राखिनेछ। साथै शव गाडिएको स्थानको फोटो, भिडियो, जीपीएस विवरण तथा नक्सांकनसमेत सुरक्षित राखिने भएकाले भविष्यमा कुन शव कहाँ गाडिएको हो भन्ने पत्ता लगाउन सकिनेछ।
शव गाडिएको क्षेत्रलाई समेत सुरक्षित राख्ने व्यवस्था मिलाइनेछ। शवका टुक्रा वा क्षतविक्षत अवस्थामा फेला परेका मानव अवशेषलाई पनि सग्लो शवकै प्रक्रियाअनुसार अभिलेख, डीएनए र पहिचान नम्बरका आधारमा व्यवस्थापन गरिनेछ।
अधिकारीहरूका अनुसार यो शवलाई स्थायी रूपमा बेवारिसे बनाउने प्रक्रिया होइन। भविष्यमा आफन्तले दाबी गरेमा उनीहरूसँगको विवरण, फोटो तथा अन्य अभिलेखसँग शवको विवरण रुजु गरी डीएनए परीक्षणबाट पहिचान पुष्टि गर्न सकिनेछ। पहिचान खुलेपछि गाडिएको शव उत्खनन् गरी आफन्तलाई बुझाउन सकिने व्यवस्था गरिएको छ।
यसरी तत्काल शव सुरक्षित राख्ने क्षमता अपुग भएका कारण अस्थायी रूपमा गाडिए पनि प्रत्येक शवको पहिचान र भविष्यमा परिवारलाई बुझाउने सम्भावना जोगाएर व्यवस्थापन गर्न लागिएको हो।









