
कास्की । गुरुङ समुदायको परम्परा, संस्कृति, इतिहास र मौलिक जीवनशैलीलाई कथावस्तुमा समेटेर निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘बुकीफूल’ को शुभमुहूर्त आगामी असोज १ गते कास्कीको मादी गाउँपालिका–१, सिक्लेसमा हुने भएको छ।
अभियान फिल्मस प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन तथा निर्माण तयारीबारे शनिबार सिक्लेसमा स्थानीय सरोकारवालासँग छलफल गरिएको छ। छलफलमा चलचित्रका निर्माता वेदबहादुर गुरुङ ९श्याम०, निर्देशक ओमप्रकाश गुरुङ र प्रोडक्सन म्यानेजर डिबी गुरुङसहितको टोली सहभागी थियो।
टोलीले मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङ, सिक्लेस आमा समूहकी अध्यक्ष सन्तोषी गुरुङ, टोल संयोजक, पर्यटन व्यवसायी तथा स्थानीय प्रतिनिधिसँग चलचित्रको कथावस्तु, छायांकनस्थल, स्थानीय सहभागिता तथा निर्माण व्यवस्थापनका विषयमा छलफल गरेको हो।
वडाध्यक्ष देवीजंग गुरुङले चलचित्रको शुभमुहूर्त तथा छायांकनका क्रममा आवश्यक व्यवस्थापन र स्थानीय सहभागिताका विषयमा निर्माण टोलीसँग छलफल भएको जानकारी दिए।
निर्माण पक्षका अनुसार ‘बुकीफूल’मार्फत गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा, इतिहास र जीवनशैलीलाई पर्दामा प्रस्तुत गर्दै नयाँ पुस्तासम्म त्यसको पहिचान पुर्याउने प्रयास गरिएको छ।
चलचित्रमा सिक्लेस तथा आसपासका क्षेत्रको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र मौलिक जीवनशैलीलाई समेत समेटिने जनाइएको छ। यसबाट सिक्लेसको पर्यटन तथा सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप चिनाउन सहयोग पुग्ने अपेक्षा निर्माण पक्षको छ।
स्थानीय समुदायको सहभागितालाई प्राथमिकतामा राखेर चलचित्र निर्माण गरिने भएकाले यसले सिक्लेसको संस्कृति र प्राकृतिक सौन्दर्यलाई चलचित्रको माध्यमबाट थप उजागर गर्ने विश्वास गरिएको छ।










