यस वर्षको तीज: उत्सवभन्दा पीडितको साथमा नेपाली महिला

-


     सृजना बराल     
     भाद्र २९ गते २०८३ मा प्रकाशित


नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज आज देशभर मनाइँदैछ। धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने तीजमा महिलाहरूले भगवान् शिवको पूजा–आराधना गर्दै सुख, शान्ति र पारिवारिक समृद्धिको कामना गर्ने परम्परा छ। विवाहित तथा अविवाहित महिलाहरूले व्रत बस्ने, पूजाआजा गर्ने र माइती तथा साथीभाइसँग भेटघाट गर्ने भएकाले तीजलाई महिलाको भावना, सम्बन्ध र संस्कृतिसँग जोडिएको पर्वका रूपमा पनि लिइन्छ।

तीजका अवसरमा महिलाहरू व्रत बसेर भगवान् शिवको पूजा–आराधना गर्ने तथा विभिन्न शिवालयमा पुगेर पूजाआजा गर्ने गर्छन्। यस दिन देशका प्रमुख शिवालयहरूमा महिलाहरूको ठूलो भीड लाग्ने गरेको छ।

तर, यस वर्षको तीजको माहोल विगतका वर्षहरूभन्दा फरक देखिएको छ। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण देश शोकमा रहेका बेला तीजलाई विगतजस्तो उत्सवका रूपमा मनाउने वातावरण बनेको छैन।

तीजको अवसरमा हरेक वर्ष विभिन्न संघसंस्था, महिला समूह तथा समुदायले तीज गीत, नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेका थिए। तर यस वर्ष यस्ता कार्यक्रमहरूमा कमी आएको छ। देश नै पीडामा रहेका बेला तडकभडक र मनोरञ्जनभन्दा विपत्तिमा परेकाहरूको साथमा उभिनुपर्ने भावना बलियो बनेको देखिन्छ।

यसैबीच, तीजको अवसरलाई सहयोग र मानवीय सेवासँग जोड्ने क्रम पनि बढेको छ। बाढी तथा पहिरोपीडितका लागि विद्यालयका बालबालिकाले आफ्नो खाजा खर्च कटाएर सहयोग गरेका छन्। महिला तथा पुरुष, आमा समूह, विभिन्न सामाजिक संघसंस्था, शिक्षक, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले आफ्नो क्षमताअनुसार राहतका लागि रकम तथा सामग्री सहयोग गरिरहेका छन्।

विपत्तिका बेला नेपालीले नेपालीलाई सहयोग गर्नुपर्छ भन्ने मानवीय भावना अहिले अझ बलियो बनेको छ। पर्व मनाउने क्रममा हुने खर्चलाई समेत पीडितको राहतमा लगाउने र दुःखमा परेकाहरूलाई सहयोग गर्ने संस्कारले यस वर्षको तीजलाई फरक अर्थ दिएको छ।

देश नै शोकमा रहेका बेला धेरै नेपालीको मनमा विगतका वर्षझैँ उमंग र उत्साह नहुनु स्वाभाविक हो। त्यसैले यस वर्षको तीजले भड्किलो उत्सवभन्दा सहानुभूति, सहयोग र मानवीयताको सन्देश दिएको छ।

दुःखमा रहेका नेपालीको पीडामा साथ दिँदै, सकेको सहयोग गर्दै र विपत्तिमा एकअर्काको सहारा बन्ने भावनासहित यस वर्षको हरितालिका तीज मनाइँदैछ।