
लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ जल्केनीमा शनिबार गाउँपालिकाको बोलेरो जिप दुर्घटनामा परी घाइते भएका मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ थप उपचारका लागि काठमाडौं प्रस्थान गरेका छन्।
दुर्घटनापछि अध्यक्ष गुरुङलाई तत्काल प्रदेश अस्पताल, लमजुङ लगेर उपचार गरिएको थियो। चिकित्सकीय परीक्षणका क्रममा उनको ढाड र टाउकोमा सामान्य चोट तथा दुखाइ देखिएपछि थप उपचारका लागि शनिबार दिउँसो काठमाडौं प्रस्थान गरेका हुन्।
शनिबार बिहान करिब ११ः२५ बजे बेसीशहर–चामे सडकखण्डअन्तर्गत जल्केनीमा गाउँपालिकाको ग १ झ ३३१ नम्बरको बोलेरो जिप सडकबाट करिब ४० मिटर तल मर्स्याङ्दी नदी किनारतर्फ खस्दा दुर्घटना भएको हो। दुर्घटनाका बेला अध्यक्ष गुरुङ आफैंले जिप चलाइरहेका थिए।
उनी लमजुङ साइक्लिङ सङ्घद्वारा आयोजित ‘कोरा २०२६’ साइकल दौडको समापन तथा ‘प्रथम टुर दि लमजुङ–२०२६’ सम्बन्धी कार्यक्रमका लागि सहभागी टोलीलाई खानेपानी पु¥याउन र स्वागत गर्न गाउँपालिका केन्द्र भुलभुलेबाट खुदीतर्फ जाँदै थिए।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार जिपको अगाडिको सिटमा राखिएको पानीको कार्टुन कोल्टिएपछि त्यसलाई सम्हाल्ने क्रममा सवारी अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
चिकित्सकले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै केही दिन आराम गर्न सुझाव दिएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार अध्यक्ष गुरुङको अवस्था खतरामुक्त रहेको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।









