आर्थिक अभावले छानोविहीन बनेका सार्की दम्पतीलाई बाबुराम पौडेलद्धारा जस्तापाता सहयोग

-


     नयाँ दीप    
     कार्तिक १३ गते २०८३ मा प्रकाशित


लमजुङको सुन्दरबजार नगरपालिका–४, अर्च्यालिनीका ५९ वर्षीय भुमे सार्की (मंगलबहादुर सार्की ) दम्पतीले लामो प्रतीक्षापछि आफ्नै घरमा सुरक्षित ओत लाग्ने आशा पाएका छन्। आर्थिक अभावका कारण घर निर्माण गरे पनि छानो हाल्न नसकेका उनीहरूलाई फ्युचरस्टार आवासीय माध्यमिक विद्यालय, सिउँडीबारका संस्थापक तथा समाजसेवी बाबुराम पौडेलले जस्तापाता सहयोग गरेका छन्।

करिब आधा रोपनी जग्गा भएका सार्की दम्पतीको आर्थिक अवस्था कमजोर छ। एक छोरा र एक हल गोरुको भरमा जीवन गुजारा गर्दै आएका उनीहरूको घरमा शौचालयसमेत थिएन। श्रीमती पनि रोगबाट पीडित रहेकी छन्। आर्थिक अभावकै कारण घर निर्माण सम्पन्न भए पनि छानो हाल्न नसक्दा उनीहरू लामो समयदेखि कष्टकर जीवन बिताउन बाध्य थिए।

सार्की परिवारको अवस्था देखेपछि स्थानीय समाजसेवी कृष्णविलास न्यौपाने र रामबहादुर बी।के।ले सहयोग जुटाउन पहल गरेका थिए। उनीहरूको पहलमा न्यौपानेले घर तथा शौचालय निर्माणका लागि करिब ३० हजार रुपैयाँ र बी।के।ले १० हजार रुपैयाँ सहयोग गरेका थिए। तर, घर बने पनि छानो हाल्ने खर्च जुट्न सकेको थिएन।

सार्की परिवारको अवस्थाबारे जानकारी गराउँदै सहयोगका लागि अनुरोध गरेपछि पौडेलले जस्तापाता उपलब्ध गराएका हुन्। उनले जस्तापाता घरसम्मै पुर्‍याउने व्यवस्था मिलाएका थिए।

जस्तापाता पाएपछि सार्की दम्पती खुसी भएका छन्। अब घरमा छानो हालेर सुरक्षित रूपमा बस्न पाउने आशाले उनीहरूलाई ठूलो राहत मिलेको छ। विपन्न परिवारको दुःखमा स्थानीयस्तरबाटै जुटेको यो सहयोगले मानवीय सेवासँगै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।