
लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, मिप्रामा आयोजित २०औँ कन्यादेवी कप–२०८३ अन्तर्गत पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि अन्नपूर्ण युवा क्लब, छापाले जितेको छ। कन्यादेवी क्लबको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा दुवैतर्फ उपाधि जित्दै छापाले दोहोरो सफलता हात पारेको हो।
मर्स्याङ्दी गाउँपालिकाको प्रवर्द्धन तथा वडा नं। ४ को कार्यालयको सह–प्रवर्द्धनमा आयोजित प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ चार टोली सहभागी थिए। पुरुषतर्फको फाइनलमा छापाले चन्द्रमा युवा क्लब, थाकनलाई ५–० गोलले पराजित गर्दै उपाधि जित्यो। महिलातर्फ छापाले आयोजक कन्यादेवी क्लबलाई ३–० गोलले हराउँदै च्याम्पियन बन्यो।
पुरुषतर्फ विजेता छापाले एक लाख १५ हजार १५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता थाकनले ७५ हजार ७५ रुपैयाँ प्राप्त गर्यो। महिलातर्फ विजेता छापाले २० हजार २० रुपैयाँ र उपविजेता कन्यादेवी क्लबले १२ हजार १२ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे।

पुरुषतर्फ कालिका युवा क्लब, आठखेतका मनोज विक सर्वाधिक गोलकर्ता, आदित खनाल उत्कृष्ट गोलरक्षक र छापाका पुष्कर गुरुङ उत्कृष्ट खेलाडी घोषित भए। महिलातर्फ छापाकी सुष्मा गुरुङ सर्वाधिक गोलकर्ता र रोशनी गुरुङ उत्कृष्ट खेलाडी बनिन् भने आयोजक कन्यादेवी क्लबकी युविना गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भइन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट पुरुष खेलाडीले जनही दुई हजार र महिला खेलाडीले जनही एक हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि मर्स्याङ्दी गाउँपालिका–४ का वडाध्यक्ष बलबहादुर गुरुङ, क्लबका अध्यक्ष सुब्बा गुरुङ तथा पूर्वअध्यक्ष राजकुमार गुरुङलगायतको उपस्थिति थियो। प्रतियोगिता निष्पक्ष, मर्यादित र विवादरहित रूपमा सम्पन्न गराउन भूमिका खेलेको भन्दै आयोजकले एन्फा रेफ्री निश्चल गुरुङलाई विशेष धन्यवाद दिएको छ। खेलको प्रत्यक्ष प्रसारणमार्फत प्रतियोगितालाई दर्शकमाझ पुर्याएकोमा लमजुङ स्पोर्ट्सका सञ्चालक तथा कमेन्टेटर सुनिल खनालप्रति पनि आभार व्यक्त गरिएको छ।
प्रतियोगिता सफल बनाउन सहयोग गर्ने संघसंस्था, सहयोगदाता, सहभागी क्लब, खेलाडी, खेलप्रेमी, स्थानीयवासी, स्वयंसेवक तथा शुभेच्छुकलाई आयोजक कन्यादेवी क्लबले धन्यवाद दिएको छ। स्थानीयस्तरमा खेलकुदको विकास, युवा प्रतिभाको पहिचान तथा प्रवर्द्धन, खेल संस्कृतिको विकास र मिप्रा गाउँको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको खेल संयोजक प्रदीप गुरुङले बताउनुभयो। खेलकुदमार्फत युवालाई प्रोत्साहित गर्दै मिप्रालाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउने अभियानलाई निरन्तरता दिने उहाँले बताउनुभयो।









