
लमजुङको सुन्दरबजार नगरपालिका–७, पाउदीमा बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङको नेतृत्वमा शुक्रबार गरिएको अनुगमनका क्रममा १० वटा व्यवसायको निरीक्षण गरिएको हो।
अनुगमन गरिएका व्यवसायमध्ये नौवटा किराना तथा स्टोर्स र फलफूल पसल तथा एउटा होटल तथा खाजाघर रहेको जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीले जानकारी दिए।
चाडपर्वका समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव तथा जम्माखोरी नियन्त्रणलाई प्राथमिकतामा राखेर अनुगमन गरिएको उनले बताए। अनुगमनका क्रममा व्यवसायीलाई उपभोक्ता हित संरक्षण, खाद्य सुरक्षा तथा गुणस्तरीय वस्तुको बिक्रीवितरणका विषयमा आवश्यक सुझावसमेत दिइएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा भएको अनुगमनमा एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकाल, सुन्दरबजार नगरपालिकाका प्रशासकीय अधिकृत ऋषिराम पौडेल, जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारी, उपभोक्ता हित तथा संरक्षणका प्रतिनिधि तथा इलाका प्रहरी कार्यालयका प्रहरी प्रतिनिधिलगायत सहभागी थिए।
जिल्ला प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०८३ र ८४ मा हालसम्म जिल्लामा १७ पटक बजार अनुगमन गरिएको छ। तीमध्ये आठपटक चाडपर्व लक्षित अनुगमन गरिएको हो।
बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्रीवितरण नियन्त्रण गरी उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिइने समितिले जनाएको छ।











