चाडपर्वको मुखैमा घरमा चोरी हुँदा दशैं भयो खल्लो

-


     सृजना बराल    
     कार्तिक १ गते २०८३ मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिका–७, चण्डीडाँडा तल्लोगाउँमा घरको ताल्चा फोडेर करिब २२ देखि २३ तोला सुन र नगद चोरी भएको एक महिना बितिसक्दा पनि चोर पत्ता लाग्न सकेका छैनन्। जीवनभर दुःख गरेर कमाएको सम्पत्ति चोरी भएपछि घिमिरे परिवारमा दसैँ नजिकिँदा समेत खुसी र रौनक हराएको छ।

गत भदौ ३१ गते बिहान करिब ९:४५ बजे घरमा ताल्चा लगाएर नजिकैको खेतमा घाँस काट्न गएकी गोमा घिमिरे बिहान १० देखि ११ बजेको बीचमा घर फर्किंदा मुख्य ढोकाको ताल्चा गायब र ढोका खुला अवस्थामा भेटिएको थियो। भित्र हेर्दा सुत्ने कोठाको दराज फुटाएर सुनका गहना तथा नगद चोरी भएको पाइएको थियो। माथिल्लो तलामा रहेको कान्छो छोराको कोठाको दराजसमेत फोडिएको थियो।

परिवारका अनुसार चोरी भएका सुनका गहनामध्ये बिल भएका गहना १४ तोला २५ लाल छन्। चोरी भएको दिनको सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँका दरले हिसाब गर्दा बिल भएका गहनाको मात्रै मूल्य ४३ लाख ६५० रुपैयाँ हुन्छ। अन्य गहनासमेत जोड्दा करिब २२ देखि २३ तोला सुन चोरी भएको शंकर घिमिरेले बताएका छन्। सुत्ने कोठाको दराजमा रहेको ४० हजार रुपैयाँ नगद भने चोरले छाडेर गएको र कान्छो छोराको कोठाबाट करिब ३ हजार रुपैयाँ लगेको परिवारले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी जितेन्द्रकुमार बस्नेतले सुनचोरीको घटनाको अनुसन्धान भइरहेको बताउनुभएको छ। उहाँका अनुसार प्रहरीले घटनासँग सम्बन्धित क्षेत्रका टेलिफोन नम्बरहरू संकलन गर्ने, कल विवरण विश्लेषण गर्ने तथा शंकास्पद नम्बरहरू पहिचान गरी अनुसन्धान र खोजी गर्ने काम गरिरहेको छ।

घटनाका बेला घर आसपास निलो रङको पल्सर मोटरसाइकलमा मास्क लगाएर कालो लुगा लगाएको र अनुहार नदेखिने गरी हिँडिरहेको एक व्यक्तिलाई छिमेकीहरूले देखेको बताइएको छ।

आफू र जेठो छोरा–बुहारीले विदेशमा दुःख गरेर कमाएको सम्पत्ति एकैपटक चोरी भएपछि परिवार ठूलो आर्थिक तथा मानसिक पीडामा परेको छ। कान्छो छोरा काठमाडौंमा पढ्न गएकाले गोमा घरमा एक्लै बस्दै आएकी थिइन्। चाडपर्व नजिकिए पनि घरमा खुसी र उल्लासको साटो शून्यता छाएको गोमाले बताएकी छन्। जीवनभरको मेहनतबाट जोडेको सम्पत्ति गुमाउँदा चाडपर्व मनाउने उत्साहसमेत हराएको उनको भनाइ छ।

चोरीलगत्तै प्रहरीलाई खबर गरी घटनास्थलको मुचुल्कासमेत उठाइएको भए पनि एक महिनासम्म चोरको पहिचान र चोरी भएको सुनको अवस्थाबारे जानकारी पाउन नसक्दा परिवार चिन्तित बनेको छ। यद्यपि, अन्य ठाउँमा भएका चोरीका घटनासमेत प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको देखेकाले आफ्नो घटनामा पनि प्रहरीले चोर पक्राउ गरी चोरी भएको सम्पत्ति फिर्ता गराउनेमा आफूहरू विश्वस्त रहेको गोमाले बताएकी छन्।

घिमिरे परिवारले घटनाको शीघ्र अनुसन्धान गरी चोरी भएको सुन खोजिदिन प्रहरीसँग आग्रह गरेको छ। साथै, चोरी भएको सुन कसैले सुनचाँदी पसलमा बिक्री गरेको थाहा पाएमा वा घटनाबारे कुनै सुराक तथा जानकारी भएमा सहयोग गर्न परिवारले सर्वसाधारणसँग अपिल गरेको छ। उपयोगी सूचना दिने व्यक्तिलाई उचित नगद पुरस्कार दिने र सुराकीको नाम तथा परिचय पूर्ण रूपमा गोप्य राखिने शंकर घिमिरेले बताएका छन्।