बुढीगण्डकीमा भीषण बाढी, ३५ घर बगायो, जगतबाट ६ जनाको हवाई उद्धार

-


     नयाँ दीप    
     असाेज २५ गते २०८३ मा प्रकाशित


गोरखा — गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि एक्कासि लेदोसहितको ठूलो बाढी आएको छ। बाढीले विभिन्न बस्तीका घर तथा पुल बगाउनुका साथै नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रबाट उद्धारका लागि नेपाली सेनासहित सुरक्षा निकाय परिचालन गरिएको छ।

एकाबिहानै ठूलो आवाजसहित बाढी आएको थाहा पाएपछि नदी किनारका बासिन्दा घर छाडेर अग्लो तथा सुरक्षित स्थानमा पुगेका छन्। स्थानीय बासिन्दा र जनप्रतिनिधिले बाढी भोटेकोशीमा आएको बाढीजस्तै रहेको बताएका छन्।

बाढीले चुमनुब्री गाउँपालिकाको पैयू र बगर गाउँका ३५ घर बगाएको छ। दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि ठूलो क्षति भएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले बताउनुभएको छ। चुमनुब्री–३ का बजार क्षेत्रमा समेत बाढीले क्षति पुर्‍याएको छ।

बाढीले आरुघाट गाउँपालिकाको सोती र मान्बु जोड्ने मोटरेबल पुल, चुमनुब्री–३ स्थित सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल तथा धार्चे गाउँपालिका–५ को माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ।

धार्चे गाउँपालिका–५ माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा ५ देखि ७ वटा घर र त्यति नै सङ्ख्यामा टहरामा बाढी पसेको प्रहरीले जनाएको छ। धार्चे–३ सल्लेरीका २० देखि २२ वटा घरसमेत जोखिममा रहेका छन्।

जगत्बाट ६ जनाको हवाई उद्धार

बुढीगण्डकीमा आएको बाढीपछि खोज तथा उद्धारका लागि नेपाली सेनाको फौज हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ। पहिरोको जोखिममा परेको जगत् क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको जानकारी प्राप्त भएको छ।

काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमलाई समेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा परिचालन गरिएको जनाइएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकोप्टर परिचालन गरिएको छ।

नदी किनारमा नजान आग्रह

बुढीगण्डकी नदीमा जलसतह बढ्दै गएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। प्रहरीले धादिङको बेनीघाटसम्म नदी किनारमा नजान र सुरक्षित अग्लो स्थानमा बस्न अनुरोध गरेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आरुघाटमा बुढीगण्डकी नदीले खतराको तह पार गरेको छ र जलसतह बढ्दो क्रममा रहेकाले त्रिशूली दोभानसम्म नदी आसपास नजान आग्रह गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ। नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र सम्बन्धित निकायले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरिएको छ।

आपत्कालीन सम्पर्क नम्बर

  • एम्बुलेन्स: १०२
  • जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC): १२३४
  • जिल्ला प्रहरी कार्यालय, गोरखा: ९८५६०६१६९०
  • प्रमुख जिल्ला अधिकारी, गोरखा: ९८५६०५७७७८