
रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जना र बाहिर रहेका १ जना गरि २४ जनालाई जन्मकैदको सजाय सुनाएका हुन् ।
उक्त घटनामा संलग्न रहेका २३ पूर्पक्षका लागि कारागारमा थिए । बाहिर रहेका ११ जना मध्ये एक जनालाई जन्मकैद, अन्य २ जना नवराज विककी प्रेमिकाकी बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा २\२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।
उनीहरुमाथि ६ जनाको ज्यान मारेको, अरु १२ जना घाइतेहरुको ज्यान मार्ने प्रयास गरेको र जातीय छुवाछुत गरेको आरोप थियो ।
दोषीहरुबाट जनही ४० हजार रुपैया भराउने र उक्त रकम मृतकका परिवारलाई दामासाहीले दिने पनि फैसलामा छ । घटनामा संलग्नताको आरोप लागेका ८ जनाले भने सफाइ पाएका छन् ।
दोषी ठहर हुनेमा चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायत छन् । आइतबारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु भएकोमा मंगलबार अन्तिम आदेश आएको हो ।
साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार छन् ।
२०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका थिए । त्यहीबेला उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए ।
उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो । घटनामा नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो ।