
नेपाली कविता र काव्य परम्पराको वर्तमान समयमा कवि श्रीकृष्ण न्यौपाने आशुलेखन तथा द्रुतलेखनका एक अद्भुत दृष्टान्त बनेर देखापर्नुभएको छ । वि.सं. २०७९ र २०८० मा मात्र आठओटा काव्यकृतिहरू प्रकाशन गरिसक्नुभएका कवि न्यौपाने अहिले फेरि ‘तिम्रो गमला मसित बौल्दैन’ खण्डकाव्य लिएर आउनुभएको छ । उहाँको कवितात्मक गण्डकी प्रवाहले कहाँ पुगेर विश्राम लिने हो वा समुद्रसम्मै पुगेर मोती झिकेर फर्कने हो, हेर्न बाँकी छ तर उहाँभित्रको उत्साह, लनशीलता, समर्पण, त्याग र प्रतिभा प्रवाहलाई हेर्दा आगामी दिनमा पनि उहाँबाट नेपाली काव्यजगत्ले अझै धेरै कुरा प्राप्त गर्न सक्ने सम्भावनाका किरणहरू प्रशस्त देखिएका छन् ।
वि.सं. २०२२ चैत्र १६ गते पिता मेजर टेकबहादुर न्यौपाने र माता दानमाया न्यौपानेका सुपुत्रका रूपमा डिमापुर, भारतको सैनिक तालिमकेन्द्रमा जन्मनुभए पनि नेपालको लमजुङ जिल्ला स्थायी ठेगाना भएका कवि श्रीकृष्ण न्यौपाने छन्दोबद्ध कविता सिर्जना र गीत गायनका क्षेत्रमा सुपरिचित हुनुहुन्छ । शिक्षण पेसामा आबद्ध रहेर कविता तथा गीतहरूको लेखन तथा गायनमा उहाँको विशिष्ट योगदान रहँदै आएको छ । २०५० सालमा नै रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरी दर्जनौँ गीतहरू रेकर्ड गराइसक्नुभएका कवि तथा गायक न्यौपानेको सिर्जनात्मक सक्रियता कविता, गीत र गजलमा, कलागत सक्रियता गायनमा देखिन्छ ।
यसभन्दा अगाडि नै ‘छली’ (सामाजिक काव्य, २०४८), ‘आमा’ (खण्डकाव्य, २०६१), ‘भृकुटी’ (ऐतिहासिक काव्य, २०७९), ‘भाउजू’ (वियोगान्त काव्य, २०७९), ‘सय छन्द’ (कवितासङ्ग्रह, २०७९), ‘राता सिपाही’ (खण्डकाव्य, २०७९), ‘श्रीकृष्ण गजलसङ्ग्रह’ (२०७९), ‘सेतोबाघ’ (ऐतिहासिक महाकाव्य, २०८०), ‘फेसबुक लभ’ (खण्डकाव्य, २०८०), ‘विषालु धरती’ (महाकाव्य, २०८०) जस्ता महत्त्वपूर्ण कृतिहरू नेपाली साहित्यका लागि प्रदान गरिसक्नुभएका कवि न्यौपानेको प्रस्तुत ‘तिम्रो गमला मसित बोल्दैन’ खण्डकाव्य एघारौँ प्रकाशित कृति हो भने उहाँको ‘विपासना’ (महाकाव्य) प्रकाशनको तयारीमा रहेको छ ।
मैले यसभन्दा अगाडि नै ‘सय छन्द’ (कवितासङ्ग्रह) र ‘विषालु धरती’ (महाकाव्य) को भूमिकामा कवि न्यौपानेको व्यक्तित्व र कृतित्वका बारेमा विस्तृत चर्चा गरिसकेको छु । त्यसैले यहाँ भने थोरै खण्डकाव्यसम्बन्धी सैद्धान्तिक चर्चा गरी प्रस्तुत ‘तिम्रो गमला मसित बोल्दैन’ खण्डकाव्यका विषयमा सङ्क्षिप्त अभिमत पस्कने प्रयत्न गरेको छु ।
कविताको लघु रूपभन्दा ठुलो र बृहत् रूपभन्दा सानो मध्यविन्दुको रचनालाई खण्डकाव्य भनिन्छ । अर्थात् यो फुटकर कविताभन्दा ठुलो र महाकाव्यभन्दा सानो हुन्छ । आकारप्रकारका दृष्टिकोणले नै यो दुवैतिरबाट भिन्न हुन सक्छ । अर्थात् यसले कविताको लघु रूप र बृहत् रूप छुट्याउनमा लक्ष्मणरेखाको काम गरेको छ । काव्यको एक देशको अनुसरण गर्ने काव्य नै खण्डकाव्य हो भनी आचार्य विश्वनाथले यसलाई परिभाषित गरेका छन् । खण्डकाव्यमा आख्यानलाई अनुभूतिसँग घोलेर प्रस्तुत गरिएको हुन्छ । फुटकर कविताभन्दा विस्तृत हुँदै गइरहेको अनुभूतिले आख्यानलाई समात्छ भने आख्यानले कवितालाई विकसित हुन सहयोग गर्छ । अनुभूतिको एकोहोरो प्रवाह मात्र वा आख्यानको एक्लो प्रबलता मात्र खण्डकाव्य बन्न सक्दैन, यसमा त यी दुवैको सन्तुलित अभिव्यक्ति हुनुपर्छ । फुटकर कवितामा आख्यानको एउटा सानो ढिस्को हुन सक्छ भने खण्डकाव्यमा एउटा सानो पहाड नै भेट्न सकिन्छ त्यसैले पनि यो कविताको मध्यम रूप हो । ‘खण्ड’ र ‘काव्य’ गरी दुई शब्दको मेलबाट ‘खण्डकाव्य’ शब्दको निर्माण भएको पाइन्छ ।
‘काव्यस्य खण्डम् = खण्डकाव्यम्’ संस्कृत षष्ठी तत्पुरुषात्मक विग्रहबाट बनेको ‘खण्डकाव्य’ शब्दको नेपाली निर्माण भने ‘काव्यको खण्ड = खण्डकाव्य’ पष्ठी तत्पुरुषबाट नै गर्नुभन्दा विशेषण र नामको योगबाट हुने कर्मधारय समास गर्दा बढी अर्थपूर्ण हुन्छ । यसले काव्यको एउटा खण्ड, टुक्रा वा अंश नभएर समग्रमा फुटकर कविताभन्दा ठुलो र महाकाव्यभन्दा सानो कविताको मझौला रूप भन्ने अर्थ दिन्छ ।
‘काव्य’ शब्दका माध्यमबाट आशयमूलक अर्थमा खण्डकाव्यलाई चिनाउने काममा छैटौँ शताब्दीका भामहदेखि दण्डी, वामन, मम्मट, आनन्दवर्धनको पूर्वभूमिका देखिए पनि खण्डकाव्यलाई ‘खण्डकाव्य’ नै भनेर औपचारिक रूपमा परिभाषित गर्ने प्रथम आचार्य चौधौँ शताब्दीका विश्वनाथ हुन् । विश्वनाथले (खण्डकाव्यं भवेत् काव्यस्यैकदेशानुसारि च) काव्यको वा जीवनको एउटा विशिष्ट कालखण्डको चित्रण गर्ने वा एक देशको अनुसरण गर्ने काव्यलाई खण्डकाव्य भनिन्छ भनी परिभाषित गरेका छन् । यसरी सुरु भएको खण्डकाव्यसम्बन्धी परिभाषामा पछिल्लो चरणका पूर्वीय विद्वान्हरूले पनि विश्वनाथीय परिभाषाकै सेरोफेरोमा रहेर खण्डकाव्यलाई चिनाएको पाइन्छ । खण्डकाव्य कविताको विकसित रूप भएका कारण यसमा पनि कवित्व शक्ति उच्च रूपमा रहनुपर्ने कुरामा विभिन्न विद्वान्हरूले जोड दिएका छन् ।
अनुभूतिको बाक्लो उपस्थिति देखिने फुटकर कवितामा आख्यानले प्रवेश पायो वा अनुभूति केही तरल बन्न थाल्यो भने खण्डकाव्यको निर्माण हुन थाल्छ । खण्डकाव्य परिभाषाका रूपमा वा सैद्धान्तिक स्वरूप निर्माणमा निकै पछि देखापरे पनि यसको रचनात्मक प्रारूप भने वैदिक कालदेखि नै प्राप्त हुन्छ । वैदिक युगका अपेक्षाकृत लामा र एकै वण्र्य विषय प्रसङ्गमा केन्द्रित सूक्त, उद्गीथ वा अनुवाक्मा उत्तरवैदिक लघु, खण्डकाव्यको पूर्वाभास प्राप्त हुने कुराको उल्लेख डा. वासुदेव त्रिपाठीले गरेका छन् । उत्तरवैदिक कालखण्डमा कालिदास आदिका सिर्जनामार्फत खण्डकाव्यको विधागत उपस्थिति सबल रूपमा देखापरे पनि सैद्धान्तिक परिभाषा भने केही पछि मात्र भएको हो । हालसम्ममा यसलाई चिनाउनका लागि विभिन्न विद्वान्हरूले आआफ्नै तर्कहरू प्रस्तुत गरेका छन् । डा. महादेव अवस्थीले खण्डकाव्य कविता विधाको त्यो प्रबन्धात्मक रूप हो, जो सर्गरहित अनि सर्गसहित हुन सक्छ, जसले समग्र सन्धिको अपेक्षा गर्दैन, जो आख्यानात्मक वा सर्गरहित अनि एकान्वितिपूर्ण पद्यरूपद्वारा संरचित हुन्छ र जसमा एकै उद्देश्य प्राप्तिमा प्रवृत्त जीवन खण्डको वा जीवनगत कालखण्डको र कुनै एक पुरुषार्थ वा मानवार्थको र रस विशेषको अभिव्यक्ति हुन्छ भनी परिभाषित गरेका छन् । यस परिभाषाले खण्डकाव्यको बाह्य तथा आन्तरिक दुवै पक्षको उद्घाटन गरेको छ भने डा. कुमारबहादुर जाशीले जीवन जगत्को एक खण्ड वा जिन्दगीको एक सानो धारा यसमा प्रवाहित हुन्छ । यसमा अनुभूतिको सानो खोलो बग्छ भनी परिभाषित गरेबाट यसको संरचनात्मक स्वरूप पनि स्पष्ट हुन्छ । यसका आधारमा हेर्दा सूक्ष्म आख्यानात्मक रचना वा अनुभूतिको आख्यानीकरण गरिएको कविताको मध्यम वा मझौला रूप नै खण्डकाव्य हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
पूर्वीय साहित्य परम्परामा खण्डकाव्य भनेजस्तै पाश्चात्य साहित्यमा यसलाई लामो कविता भनिन्छ । हुनत, खण्डकाव्य समकक्षी रचनालाई पाश्चात्य साहित्यमा रोमान्स, एलिजी, पास्टोरल, इपिक, लङ पोयम आदि विभिन्न नाम दिइएको पाइन्छ तापनि नेपाली सन्दर्भमा भने लामो कविता (लङ पोयम) नै उपयुक्त मानिन्छ । नेपाली साहित्यमा खण्डकाव्य समकक्षी रचनाहरूलाई गाथा, गाहा, श्रवण, गीतिकाव्य, चरित्र काव्य, साना वंशकाव्य, आख्यान र खास गरी उपाख्यान काव्य, छोटा कथाकाव्य, पयार्यबन्ध र मुक्तक काव्य, स्फूटकाव्य, कोषकाव्य, पत्रकाव्य र दूतकाव्य, सन्देश काव्य, ऋतुकाव्य, शतक, अर्धशतक काव्य, स्तुतिकाव्य, स्तोत्रकाव्य तथा भक्तिकाव्य, लहरी काव्य, प्रशस्ति काव्य र अभिलेख काव्य, साना इतिहास काव्य, नीतिकाव्य, सुभाषित काव्य, शृङ्गार काव्य, वैराग्य काव्य, साङ्गीतिक उपरूपक काव्य, लघुकाव्य, खण्डकाव्य आदि विभिन्न नामले चिन्न सकिने अवधारणा डा. वासुदेव त्रिपाठीको रहेको छ । यी रचनाहरू आन्तरिक प्रवृत्तिका कारण केही फरकजस्ता लागे पनि ती सबै कविताको मझौला रूपअन्तर्गत नै समेटिन आइपुग्छन् ।
खण्डकाव्य कविताकै विकसित वा मध्यम रूप भएकाले कविताका लागि आवश्यक कुराहरू खण्डकाव्यका लागि पनि आवश्यक हुन्छन् तर यसमा आख्यानको प्रवेश पूर्ण वा आंशिक रूपमा हुने हुनाले कवितामा भन्दा केही थप तत्त्वहरू खण्डकाव्यमा देखिन्छन् । भानुभक्त पोखरेलले विषयवस्तु, अनुभूति, रसभाव, सौन्दर्य चेतन, कल्पना, संरचना, छन्द वा लय र शिल्पमय शब्दार्थ खण्डकाव्यका लागि अनिवार्य तत्त्व मानेका छन् भने महादेव अवस्थीले शीर्षक, भाषाशैली, लयविधान, प्रबन्ध विधान, सर्गयोजना, विषयवस्तुगत भावविधान, उक्तिढाँचा, विम्ब, प्रतीक विधान र अलङ्करणका प्रविधि र आयामलाई खण्डकाव्यका प्रमुख तत्त्व मानेका छन् । यी विचारलाई हेर्दा शब्दगत रूपमा वा सङ्ख्यामा केही तलमाथि परे पनि सैद्धान्तिक आशयमा भने त्यति भिन्नता पाइँदैन ।
उल्लिखित सन्दर्भहरूलाई हेर्दा खण्डकाव्यलाई खण्डकाव्य बनाउनका लागि निम्नलिखित कुराहरू अनिवार्य मानिन्छन्—
(क) विषयवस्तु, घटना वा आख्यानको प्रयोग
(ख) अनुभूतिको आख्यानीकरण
(ग) पात्र वा चरित्रको छनोट
(घ) अनुकूल परिवेशको छनोट
(ङ) निश्चित उद्देश्य र वैचारिक धरातलको निर्धारण
(च) लयविधान
(छ) भावविधान
(ज) विम्ब, प्रतीक र अलङ्कार विधान
(झ) भाषाशैली
यसरी अनुभूतिलाई आन्तरिक लयचेतना वा बाह्य लयचेतना दुवै माध्यमबाट प्रस्तुत गर्दै विषय, पात्र, परिवेश र विचारलाई शिल्पसचेत अभिव्यक्तिका साथमा प्रस्तुत गर्न सफल खण्डकाव्यको यात्रा कविताको यात्रा सँगसँगै अगाडि बढेको देखिन्छ । कवितामा अनुभूति सघन हुने र खण्डकाव्यमा केही तरल हुने अनि खण्डकाव्यमा कविता र कथा दुवैको स्वाद एकैपटक ग्रहण गर्न पाइने हुनाले कतिपय सन्दर्भमा खण्डकाव्य कविताभन्दा पनि लोकप्रिय बन्न पुगेको देखिन्छ ।
आकारका दृष्टिले खण्डकाव्य फुटकर कविताभन्दा लामो हुन्छ तर खण्डकाव्यको आकार यत्रो हुनुपर्छ र श्लोकसङ्ख्या यति नै हुनुपर्छ भन्ने सीमाङ्कन कतै पनि गरिएको पाइँदैन । आचार्य विश्वनाथले महाकाव्यको संरचना आठ सर्गभन्दा माथिको हुनुपर्छ भनी स्पष्ट उल्लेख गरिदिएका हुनाले खण्डकाव्यको आकार आठ सर्गभन्दा कम हुनुपर्छ भन्न सकिन्छ । साथै श्लोकसङ्ख्याका आधारमा पनि २५० श्लोकभन्दा माथि खण्डकाव्यमा हुनुपर्छ भन्ने एक थरी तर्क पाइन्छ तर यो नै शास्त्रीय मान्यता होइन । माधव घिमिरेको ‘राजेश्वरी’ खण्डकाव्यमा जम्मा १०० श्लोक छन् र ती २० छालमा विभाजित छन् ।
यो नेपाली खण्डकाव्य परम्परामा अत्यन्त सफल र सबल खण्डकाव्य मानिन्छ । त्यसैले खण्डकाव्यलाई बाहिरी सर्गविभाजन वा श्लोकसङ्ख्या निर्धारणका आधारमा भन्दा पनि विषयवस्तुको पूर्णता र त्यसले पार्ने प्रभावका आधारमा हेरिनुपर्दछ । जीवनको एउटा विशिष्ट कालखण्डको चित्रण, विशिष्ट घटना वा सन्दर्भको सशक्त स्थापना र कविले चयन गरेको विषयको काव्यिक पूर्णताको अपेक्षा खण्डकाव्यले गरेको हुन्छ । उल्लिखित अपेक्षाको परिपूर्ति जति सर्ग वा श्लोकमा गर्न सकिन्छ त्यही नै खण्डकाव्यको आकार हो तर आठ सर्गभन्दा माथि र ४००÷५०० श्लोकभन्दा माथि हुन गयो भने त्यसलाई खण्डकाव्य भन्न मिल्दैन । कविशिरोमणि लेखनाथ पौड्यालले आफ्नो कृति ‘तरुण–तपसी’लाई नव्यकाव्य भन्नुको कारण त्यही हो ।
नेपाली कविताको प्राथमिक कालमा नै नेपाली खण्डकाव्यको पनि प्रवर्तन भएको हो । वि.सं. १८५६ तिर दैवज्ञकेशरी अर्यालद्वारा लिखित ‘अश्वशुभाशुभ परीक्षा’लाई नेपालीमा लेखिएको पहिलो खण्डकाव्य मानिन्छ । यसपछि वीरधाराका उदयानन्द अर्याललगायतका कविहरू, कृष्णभक्ति धाराका वसन्त शर्मा, रामभक्ति धाराका भानुभक्त आचार्य र निर्गुण भक्तिधाराका ज्ञान दिलदास आदि कविहरूले प्राथमिक कालीन खण्डकाव्यलाई उचाइमा पु¥याए भने मोतीराम भट्ट, शम्भुप्रसाद ढुङ्गेल आदि कविहरूले माध्यमिक कालीन खण्डकाव्यको परिचय प्रदान गरे । यसरी नै आधुनिक कालमा लेखनाथ पौड्याल र बालकृष्ण समजस्ता शास्त्रीयतावादी परिष्कारवादी धाराका कविहरू, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरेजस्ता स्वच्छन्दतावादी कविहरू, गोकुल जोशी, युद्धप्रसाद मिश्रजस्ता प्रगतिवादी कविहरू, मोहन कोइरालालगायतका प्रयोगवादी कविहरू र वर्तमान खण्डकाव्य साधनामा समर्पित समसामयिक धाराका कविहरू सबैको विशिष्ट योगदानबाट वर्तमानमा नेपाली खण्डकाव्यको स्वरूप निर्माण भएको छ । कवि श्रीकृष्ण न्यौपानेको प्रस्तुत खण्डकाव्य यही परम्पराको सर्वाधिक पछिल्लो प्राप्ति हो ।
विषयवस्तुको छनोटका आधारमा पनि खण्डकाव्यको स्वरूपमा फरकपन देखिन्छ । खण्डकाव्य जेका बारेमा लेखिने हो त्यसलाई ‘विषयवस्तु, घटना वा आख्यान’ भनिन्छ । खण्डकाव्य जेका बारेमा लेख्न लागिएको हो त्यही खण्डकाव्यको विषयवस्तु हो, काव्यमा जुन कुरालाई जोड दिइएको छ त्यो घटना हो र जुन कथावस्तु समेटिएको छ त्यो आख्यान हो । खण्डकाव्यमा आएको कथावस्तु वा घटना कुनैमा स्पष्ट रूपमा देखिन्छ भने कुनैमा नदेखिन पनि सक्छ । देवकोटाको ‘मुनामदन’मा घटनाक्रम र आख्यानको प्रत्यक्ष अनुभव गर्न पाइन्छ तर लेखनाथको ‘ऋतुविचार’मा घटनाक्रम र आख्यान दुवै कुराको अभाव छ । यसका आधारमा खण्डकाव्य ‘मुनामदन’जस्तो आख्यानयुक्त पनि हुन सक्छ र ‘ऋतुविचार’जस्तो आख्यानविहीन पनि हुन सक्छ भन्ने थाहा पाइन्छ तर आख्यानहीनताचाहिँ खण्डकाव्यको साँचो चिनारी होइन । प्रत्यक्ष बाहिर नदेखिए पनि आन्तरिक आख्यानविन्यास हुन सक्यो भने त्यो ‘खण्डकाव्य’ नै मानिन्छ । कवि श्रीकृष्ण न्यौपानेको प्रस्तुत खण्डकाव्यलाई ‘मुनामदन’जस्तै आख्यात्मक खण्डकाव्य परम्पराको सबैभन्दा पछिल्लो कृतिका रूपमा लिन सकिन्छ ।
आशुकवित्व र द्रुतलेखनका उदाहरण बन्नुभएका कवि श्रीकृष्ण न्यौपानेको ‘तिम्रो गमला मसित बोल्दैन’ खण्डकाव्य स्वच्छन्दतावादी भावविधान र परिष्कारवादी शिल्पविधानगत विशेषता बोकेको एक सुन्दर काव्यकृति हो । नेपाली कविता वा काव्यका क्षेत्रमा प्रयोग नै नभएको नयाँ छन्दमा समग्र आख्यानलाई अटाएर एउटा विशिष्ट काव्यसौन्दर्य प्रदान गर्न सक्नु कविको उल्लेखनीय खुबी हो । सामान्यतः प्रचलित र अलि लामा आकारका छन्दमा मात्र काव्यात्मक सङ्कथनले पूर्णता पाउँछ भन्ने मान्यतालाई यस खण्डकाव्यले चुनौती दिएको छ । त, ज, स गण र दुई गुरु हुने एघार अक्षरको ‘मुरलीध्वनि छन्द’मा यस खण्डकाव्यको रचना भएको छ । पाँच तरङ्गमा संरचित यस खण्डकाव्यमा हरेक तरङ्गमा ६० श्लोकको संरचनागत एकरूपता पाइन्छ । एउटै छन्दका ३०० श्लोकमा समग्र कथावस्तु र कवित्वलाई अटाइएको यस खण्डकाव्यमा बालचेतना, युवाचेतना हुँदै परिपक्व मानवीय मनोविज्ञानको एकै ठाउँमा व्यवस्थापन गरिएको पाइन्छ ।
‘तिम्रो गमला मसित बोल्दैन’ अलि फरक प्रकृतिको र ध्वन्यात्मक अर्थ बोकेको शीर्षकीकरणले नै प्रस्तुत खण्डकाव्य अनौठो प्रकारको छ भन्ने कुरालाई सङ्केत गरेको छ । खण्डकाव्यको अघिल्लो खण्डमा वा मध्य खण्डमा कतै पनि गमलाको सन्दर्भ आउँदैन । एकैपटक खण्डकाव्यको अन्तिम श्लोकमा कविले यस्तो उल्लेख गर्नुभएको छ—
दर्जाङसितै छ गमला हात
कार्यालयमा घमनका साथ
खोल्यो मुख खै हृदय खोल्दैन
तिम्रो गमला मसित बोल्दैन । (५.६०)
यसरी व्यञ्जनात्मक अर्थमा गमलालाई उभ्याएर घमनले आफ्नो विगतको प्रेमिल यथार्थको प्रतीकका रूपमा हेरेको सन्दर्भबाट यस खण्डकाव्यको शीर्षकीकरण भएको देखिन्छ । काठमाडौँको शिवपुरीको गाउँमा जन्मिएको घमन यस खण्डकाव्यको प्रमुख पात्र हो । बाल्यावस्थादेखि युवावस्था हुँदै जागिरे जीवन बिताउँदासम्मको उसको रागात्मक सौन्दर्यप्रेमी चरित्रलाई यस काव्यमा प्रमुखताका साथ प्रस्तुत गरिएको छ ।
गाउँले जीवनमा हुर्किंदै गरेको घमन प्राथमिक तहमा पढ्दै गर्दा नै सरिना नामकी गुरुआमासँग आकर्षित हुनु, माध्यमिक तहमा पढ्दा अर्विना नामकी शिक्षकसँग प्रभावित हुनु र नराम्रो हल्ला चल्नु, क्याम्पस पढ्दा मान्मा नामकी शेर्पा युवतीसँग लाग्नु, अनेकौँ दुःख पाउनु, धनसम्पत्ति सिध्याउनु, बेलायती लाहुरेसँग मान्माको विवाह भएपछि पागलजस्तो भएर हिँड्नु, गाँजा खान थाल्नु, केही बुद्धि फिरेर शिवपुरीको गोठमा बसेर पढी क्याम्पसको पढाइ समाप्त गर्नु, कीर्तिपुरकी रूपसीसँग विवाह गर्नु, लोकसेवा दिएर अधिकृतमा नाम निकालेर जागिर खान थाल्नु, केही समयमा उपसचिव पनि बन्नु र कुनै पनि युवतीसँग आकर्षित नहुने प्रण गरेर काममा लाग्नु तर उसभित्र रहेको विपरीत लिङ्ग आकर्षित चरित्र पुनः प्रकट हुन थाल्नु, आफ्नै कार्यालयमा काम गर्ने दर्जाङ नामकी युवती देखेपछि पुरानो प्रेम जागृत हुन थाल्नु, त्यस युवतीमा मान्माको छाया देखिन थाल्नु, दर्जाङलाई भनेर आफ्नो कार्यालयको टेबुलमा एउटा सुन्दर फूलको गमला राख्न लगाउनु र त्यही गमलाबाट बोली ननिस्किएकामा खिन्न हुँदै विप्रलम्भ अनुभूतिको सम्प्रेषण गर्नु यस खण्डकाव्यमा प्रस्तुत घटनाक्रमहरू हुन् ।
यसरी हेर्दा यस खण्डकाव्यमा निकै लामो समयक्रम र धेरै घटनाहरूको उपस्थिति देखिन्छ । केही स्वाभाविक र केही अस्वाभाविक घटनाहरूको विन्यास यस खण्डकाव्यमा भएको देखिन्छ । विपरीत लिङ्गप्रतिको आकर्षक हरेक प्राणीको नैसर्गिक चिनारी हो तापनि प्राथमिक तह भर्ना हुन गएको घमन नै आफूलाई पढाउने गुरुआमासँग वात्सल्यपूर्ण भावमा नभएर रतिरागात्मक भावमा आकर्षित हुनु चाहिँ कविको साँच्चै अनौठो कल्पना हो । यहाँ घमनको पछिल्लो चरित्रको सङ्केतका लागि बाल्यकालीन चञ्चलता र स्त्री जातिप्रतिको आकर्षक चरित्रलाई देखाउन खोजिए पनि वास्तविक जीवनमा भने यसलाई अस्वाभाविक कल्पनाका रूपमा लिनुपर्दछ । यसपछिका उसका चरित्रमा देखिएका विशेषताहरूले सामाजिक यथार्थकै प्रतिनिधित्व गरेका छन् । एकातिर छोटो छन्दको छनोट र अर्कातिर घटनाहरूको खचाखच उपस्थितिले गर्दा कविलाई यहाँ कवित्वको व्यवस्थापन गर्नभन्दा पनि कथावस्तुलाई दौडाउनमा नै हतार भएको स्पष्ट देखिन्छ ।
जस्तोसुकै परिवेश निर्माण भए पनि मान्छेमा रहेको मूल चरित्रको समाप्ति कहिल्यै हुँदैन भन्ने कुरालाई देखाउनु नै यस खण्डकाव्यको प्रमुख उद्देश्य रहेको देखिन्छ । जीवन भोगाइका क्रममा पटक पटक परिस्थिति नकारात्मक बनेपछि र कैयौँपटक धोका खाएपछि मान्छेभित्र रहेको चेतन मनले सुधारका लागि प्रण गरे पनि सोही परिवेश अगाडि देखापर्नासाथ सुषुप्त संवेग जागृत भइहाल्नु अचेतन मनको कारण हो । संयम एउटा योग हो र आत्मनियन्त्रण एउटा अनुशासन हो । यी कुराहरूलाई अचेतन मनले जित्यो भने मान्छेमा अमानवीय चरित्रले प्रवेश गर्छ र मानव हृदय त्यसको स्थायी वासस्थान बन्ने गर्छ भन्ने मनोवैज्ञानिक आदर्शलाई यस खण्डकाव्यले आफ्नो वैचारिक धरातलका रूपमा प्रस्तुत गरेको देखिन्छ । यसका आधारमा हेर्दा यो खण्डकाव्य मनोवैज्ञानिक यथार्थवादी कृतिका रूपमा नेपाली काव्यजगत्मा देखा परेको छ ।
वर्णनात्मक विषयविन्यास र कवितात्मक घोडादौड यस खण्डकाव्यको विशिष्ट चिनारी हो । आशुलेखन र द्रुतलेखनले गर्दा यहाँ कवि कवित्वको गहिराइसम्म पुग्न भ्याउनुभएको छैन तापनि निर्धारित विषयसँगै जोडिएर आएका ध्वन्यात्मक अर्थयुक्त कवितांशहरू यस खण्डकाव्यमा प्रशस्त पाइन्छन् ।
घरले दिने संस्कार र व्यक्तिले छनोट गर्ने गन्तव्यमा विरोधाभास हुन सक्ने सम्भाव्यतालाई कविले यस खण्डकाव्यमा यसरी प्रस्तुत गर्नुभएको छ—
संस्कार दिने त घर नै हुन्छ
गन्तव्य कुनै घमनले बुन्छ
सन्तुष्टि लिने रहरले बढ्छ
कस्तो मतिको कहरले बढ्छ । (१.४९)
मान्छे जहाँ जहाँ पुगे पनि उसले टेक्ने धरातललाई बिर्सेको दिन उकालो होइन, ओरालो लाग्न थाल्छ । त्यसैले अनावश्यक उद्दण्डता मानव जीवनका लागि घातक हुन्छ भन्ने कुरालाई कविले यहाँ यसरी प्रस्तुत गर्नुभएको छ—
टेकेर हिँडे जमिनमा गोडा
बन्ने छ मनुष्य उसको जोडा
जो जीवनको कठिनता बुझ्छन्
पीडा जसले मनुजको पुछ्छन् । (१.५२)
संसार बुझ्ने आआफ्नै तरिका हुन्छन् । यो संसार जसरी हे¥यो, त्यस्तै देखिन्छ । संसारमा नै सुख पनि छ र दुःख पनि । यो जीवन उपहार पनि हो र घृणा पनि । त्यसैले यसलाई सार्थक स्वरूप प्रदान गर्ने काममा लाग्नु नै जीवनको सफलताको द्योतक हो भन्ने कुरालाई यहाँ कविले यसरी व्यक्त गर्नुभएको छ—
संसार मिठो छ सुखले हेर्दा
यो हो उपहार दिलमा बेर्दा
पाइन्न कि फेरि यसरी चाँडो
खोले सुख हुन्छ मनको भाँडो । (२.५६)
जीवनलाई सार्थक बनाउनका लागि दह्रिलो हिम्मत चाहिन्छ । साहसले नै मान्छेले सफलताको शिखर चुम्ने हो । स्पष्ट उद्देश्य र निर्धारित गन्तव्य प्राप्तिका लागि दृढ अठोट, अविचल सङ्कल्प र गतिवान् पाउको आवश्यकता पर्ने हुनाले यी कुराहरू साथमा भएको मान्छेले मात्र लक्ष्य हासिल गर्न सक्ने व्यावहारिक सन्देशहरू पनि यस खण्डकाव्यका ठाउँ ठाउँमा यसरी आएका छन्—
छन् हिम्मतका गतिमयी पाउ
त्यो जीवनको सुखदिने भाउ
उद्देश्य लिएर अघि जो बढ्छ
गन्तव्य लिँदै शिखरमा चढ्छ । (४.४०)
यसरी निकै लामो कथावस्तुलाई मझौला संरचनामा बाँध्न सफल यस खण्डकाव्यले विषय र प्रस्तुति दुवै कुरामा केही फरक स्वाद प्रदान गरेको छ । गहिरिएर खोज्न थाल्ने हो भने यस खण्डकाव्यमा सुधारात्मक पक्षहरू निकै फेला पर्दछन् तर यो कवित्व प्रवाहको अनुपम नमुना हो । आशुकवित्व र द्रुतलेखनको जीवन्त उदाहरण हो । यति हुँदाहुँदै पनि खण्डकाव्यमा घटना, कल्पना, कवित्व, विचार र शिल्पलगायतका सबै पक्षको सर्वाङ्गपूर्णताको अपेक्षा पाठकले राख्नु पनि स्वाभाविक कुरा हो । सिर्जनात्मक सौन्दर्यको उच्चतम प्राप्तिको अपेक्षा सर्जक र भावक दुवैमा नरहने हो भने सिर्जनात्मक प्रगतिका पाइलाहरू त्यहीँ रोकिन्छन् ।
त्यसैले कवि श्रीकृष्ण न्यौपानेको साधनाको यात्रा अविरल रहनुपर्छ अनि सङ्ख्यात्मक र प्रयोगात्मक सिर्जनामा भन्दा गुणात्मक र आदर्श सिर्जनामा आफूलाई समर्पित गर्नुपर्छ भन्ने मलाई लाग्छ । अन्त्यमा, यति छोटो अवधिमा यति धेरै, यति सुन्दर र यति द्रुतगतिमा खण्डकाव्यजस्तो कृति नेपाली साहित्यका लागि प्रदान गर्नुहुने कवि श्रीकृष्ण न्यौपानेलाई सहर्ष बधाई ज्ञापन गर्दछु र अझै सुन्दर, अझै सशक्त, अझै परिष्कृत, अझै युगीन र अझै कालजयी सिर्जनशीलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दै बिदा हुन्छु ।

लेखक : साधनागृह, लोहकिल्थली, भक्तपुर निवासी प्रा.डा. देवी नेपाल नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्व प्राज्ञ परिषद् सदस्य, बरिष्ठ समालोचक तथा छन्द गुरु हुनुहुन्छ ।