
लमजुङ। गाउँघरदेखि सहरबजारसम्म दसैँ–तिहारको चहलपहल बढिरहेका बेला लमजुङका अलैँची किसानलाई भने बाली भित्र्याउने चटारो छ। असोज लागेसँगै अलैँची टिप्ने समय सुरु भएपछि गाउँ छाडेर पढाइ, रोजगारी तथा बालबालिकाको शिक्षाका लागि सहर पुगेका परिवारका सदस्यसमेत खेतीपातीमा सघाउन गाउँ फर्किएका छन्। जिल्लाका विभिन्न क्षेत्रमा अहिले अलैँची टिप्ने, सुकाउने र बिक्रीका लागि तयार पार्ने काम तीव्र बनेको छ।
लमजुङमा समुद्री सतहबाट करिब सात सयदेखि १२ सय मिटर उचाइका क्षेत्रमा अलैँची खेती हुँदै आएको छ। जिल्लाको छिनखोला, बाहुनडाँडा, ताराचोक, सेरा, उप्लिङ र दुराडाँडालगायतका क्षेत्रमा किसान अलैँची टिप्न व्यस्त छन्। डम्बरशाही, जिर्मले र साउने जातका अलैँची पाकेपछि किसानले बगानबाट टिपेर सुकाउने काम गरिरहेका छन्। गाउँका ज्येष्ठ नागरिकदेखि युवायुवती र बालबालिकासम्म अलैँची टिप्ने तथा सुकाउने काममा जुटेका छन्। जंगलमा रहेका अलैँची बगानदेखि गाउँका सुकाउने भट्टीसम्म किसानको चहलपहल देखिन्छ।
नेपाल अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङका अनुसार अहिले अलैँची टिप्ने मुख्य सिजन हो। यस समयमा सुकेको अलैँची प्रतिकिलो दुई हजारदेखि दुई हजार दुई सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। बजार मूल्य राम्रो रहेकाले यस वर्ष पनि किसानले राम्रो आम्दानी गर्ने अपेक्षा गरेका छन्। अलैँची पाकिसकेपछि समयमै टिपेर उचित तरिकाले सुकाउनुपर्ने भएकाले चाडपर्वको समयमा समेत किसानलाई फुर्सद मिलेको छैन।
अलैँची जोन केन्द्र लमजुङका उपलब्ध विवरणअनुसार जिल्लामा गत वर्ष २०८२ मा अलैँची बिक्रीबाट किसानले करिब २४ करोड रुपैयाँ आम्दानी गरेका थिए। जिल्लाभर एक लाख नौ हजार ९० किलोग्राम अलैँची उत्पादन भएको थियो। जिल्लामा करिब सात सय हेक्टर क्षेत्रफलमा अलैँची खेती विस्तार भएको छ भने १५ हजारभन्दा बढी किसान यस व्यवसायमा संलग्न छन्। अलैँची खेतीबाट राम्रो आम्दानी हुन थालेपछि ग्रामीण क्षेत्रमा कृषि व्यवसायप्रतिको आकर्षण बढ्दै गएको छ। गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न पनि यसले सहयोग पुर्याएको छ।
लमजुङमा उत्पादित अलैँची गुणस्तरीय मानिने भएकाले यसको खेती र उत्पादनबारे बुझ्न जिल्लाबाहिरका किसान तथा व्यापारीसमेत आउने गरेका छन्। भुटानका अलैँची व्यापारीले समेत यहाँको खेती र उत्पादनमा चासो देखाउने गरेका छन्। मर्स्याङ्दी गाउँपालिका–६, छिनखोलाका किसानका अनुसार अलैँची खेती विस्तार भएसँगै बगान हेर्न तथा खेतीबारे जानकारी लिन आन्तरिक पर्यटकसमेत गाउँ पुग्ने गरेका छन्। यसले अलैँची खेतीलाई आम्दानीको स्रोतका साथै ग्रामीण क्षेत्रको पहिचानका रूपमा समेत स्थापित गर्न सहयोग पुर्याएको छ।

यद्यपि, अलैँची खेतीमा किसानका लागि समयमै बाली भित्र्याउनु र उचित तरिकाले सुकाउनु मुख्य चुनौती हो। पाकिसकेको अलैँची समयमै नटिप्दा गुणस्तर घट्ने र ढुसी लाग्ने जोखिम हुने किसान बताउँछन्। त्यसैले असोज महिनादेखि सुरु भएको टिपाइ र सुकाइको काम कात्तिक १५ गतेसम्म अधिकांश सक्ने गरी किसान लागिपरेका छन्। बगानबाट टिपिएको अलैँची भट्टीमा सुकाएर बिक्रीका लागि तयार पारिन्छ।
चाडपर्वको समयमा समेत काममै व्यस्त हुनुपर्दा किसानलाई भेटघाट र मनोरञ्जनका लागि पर्याप्त समय मिल्दैन। त्यसैले कतिपय गाउँमा दिनभर अलैँची टिप्ने र सुकाउने काममा खटिएका किसान साँझ एकै ठाउँमा भेला भएर गीत गाउने, नाच्ने र खुसी साटासाट गर्ने गर्छन्। स्थानीय युवाले सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेर चाडपर्वको रौनकलाई निरन्तरता दिने गरेका छन्।
लमजुङमा अलैँची खेतीको क्षेत्रफल र किसानको सहभागिता बढ्दै गए पनि यसको दीर्घकालीन विकासका लागि गुणस्तर कायम राख्ने, उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने र बजार विस्तार गर्ने विषय महत्त्वपूर्ण देखिएका छन्। उत्पादनलाई भरपर्दो बजारसँग जोड्न सके किसानको आम्दानी अझ बढ्ने र गाउँमै कृषि व्यवसाय विस्तार गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
दसैँ–तिहारको रमझमबीच लमजुङका अलैँची किसानका लागि अहिले बाली भित्र्याउनु नै पहिलो प्राथमिकता बनेको छ। अरूलाई चाडपर्व मनाउने चटारो छ भने किसानलाई पाकेको अलैँची टिपेर सुकाउने र बिक्रीका लागि तयार पार्ने हतारो। किसानका लागि यही व्यस्तता वर्षभरिको मेहनतलाई आम्दानीमा बदल्ने महत्त्वपूर्ण समय बनेको छ।









