चक्रवात अर्नबको प्रभाव: तीन दिन सतर्क रहन आग्रह

-


     नयाँ दीप    
     कार्तिक १२ गते २०८३ मा प्रकाशित


बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबको प्रभावले नेपालभर बदली, वर्षा र हिमपात भइरहेको छ। मौसम पूर्वानुमानअनुसार आज रातिदेखि आगामी दुई दिन केही स्थानमा भारी वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ।

मौसमविद्का अनुसार प्रणाली कमजोर हुँदै गए पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा विशेष सतर्कता आवश्यक छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि हावाहुरी, चट्याङ, भारी वर्षा र हिमआँधीको जोखिमलाई ध्यानमा राख्दै सावधानी अपनाउन आग्रह गरेको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै हिमाली क्षेत्रमा पर्वतारोहण तथा पदयात्रा नगर्न र वर्षाको सम्भावनाका कारण केही दिन धान नकाट्न सुझाव दिइएको छ। सरकारले आधिकारिक मौसम सूचना पालना गर्न, अफवाहबाट बच्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। मौसमविद्का अनुसार शनिबार बेलुकादेखि मौसम प्रणाली बाहिरिने सम्भावना छ।