
सरकारले तोकेको शैक्षिक कार्यतालिकाभन्दा अगावै लमजुङमा विद्यालयहरूमा पठनपाठन सुरु गरिएको छ। नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने र वैशाख २१ गतेबाट नियमित कक्षा सञ्चालन गर्ने संघीय सरकारको निर्णय रहे पनि जिल्लामा वैशाख १० गतेदेखि नै कक्षाहरू सञ्चालनमा ल्याइएको हो।
स्थानीय तहको समन्वयमा नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधि र विद्यालयका प्रधानाध्यापकहरूको बैठकले वैशाख १० गतेदेखि नै पठनपाठन सुरु गर्ने निर्णय गरेको स्रोतले जनाएको छ। सोही निर्णयका आधारमा जिल्लाका अधिकांश निजी तथा सामुदायिक विद्यालयहरूले कक्षा सञ्चालनमा ल्याएका हुन्।
शिक्षा मन्त्रालयले देशभर शैक्षिक क्यालेन्डरमा एकरुपता कायम गर्ने उद्देश्यले नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो। उक्त कार्यतालिकाअनुसार वैशाख १५ गतेबाट नयाँ शैक्षिक सत्रको औपचारिक सुरुवात तथा भर्ना अभियान सञ्चालन गर्ने र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने व्यवस्था गरिएको छ।
तर, लमजुङमा भने स्थानीय स्तरमै गरिएको निर्णयअनुसार विद्यालयहरूले भर्ना प्रक्रिया र पुस्तक वितरण समय अगावै सम्पन्न गरी वैशाख १० गतेदेखि अध्यापन कार्य सुरु गरेका छन्।
विद्यालय प्रशासनले लामो बिदाका कारण विद्यार्थीको पढाइमा असर पर्ने र पाठ्यक्रम समयमै पूरा गर्न कठिन हुने भएकाले कक्षा चाँडै सुरु गरिएको जनाएको छ।
सरकारले तोकेको मितिभन्दा अगावै पठनपाठन सुरु हुँदा शैक्षिक सत्रको एकरुपतामाथि प्रश्न उठेको छ। स्थानीय तहकै निर्णयमा कक्षा सञ्चालन भएपछि संघीय निर्देशन कार्यान्वयनमा चुनौती देखिएको छ।
नयाँ शैक्षिक सत्रको सुरुवातसँगै संघीय सरकार र स्थानीय तहबीच समन्वय अभाव देखिएको छ । अब यस विषयमा सरकारले कस्तो कदम चाल्छ भन्ने चासो बढेको छ।









