रसुवाको बाढीपछि लमजुङका आठ जनाभन्दा बढी सम्पर्कविहीन, खोजी गर्न परिवारको आग्रह

-


     नयाँ दीप    
     भाद्र ११ गते २०८३ मा प्रकाशित


लमजुङ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि लमजुङका विभिन्न पालिकाका आठ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन्। बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको भन्दै परिवारजनले खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

सम्पर्कविहीन हुनेमा मस्र्याङ्दी गाउँपालिका–९ का सशस्त्र प्रहरीमा कार्यरत युवराज भण्डारी, मस्र्याङ्दी गाउँपालिका–३ की तथा माथिल्लो त्रिशूली–३ मा कार्यरत रमिला भण्डारी रहेका छन्।

त्यस्तै, बेँसीशहर नगरपालिका–११ चितीका झपटबहादुर घर्ती र उनकी श्रीमती राधिका घर्ती, दोर्दी गाउँपालिका–६ पैरखोलाका राजकुमार तामाङ, राइनास नगरपालिका–९ साततलेका राजन थापा, बेँसीशहर नगरपालिका–२ उदिपुरका सुमग सिलवाल, लमजुङको सुन्दरबजार नगरपालिका–८ सिउँडीबारस्थित मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रमा कार्यरत तेज जिरेल सम्पर्कविहीन भएका छन्।
उनी त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा ओभरहोलिङको कामका लागि गएका थिए। बुधबार बिहानदेखि जिरेलसँग कुनै सम्पर्क हुन नसकेको परिवारले जनाएको छ।
सुन्दरबजार नगरपालिका–१ का नेपाली सेनामा कार्यरत आशिष दुरा बाढीपछि भने परिवारकोे सम्पर्कमा आएको जनाइएको छ ।

सम्पर्कविहीन भएका व्यक्तिहरूको संख्या अझै यकिन हुन सकेको छैन। रसुवामा रहेका लमजुङका अन्य नागरिकसमेत परिवारको सम्पर्कमा आउन नसकेको हुनसक्ने भएकाले थप विवरण संकलन भइरहेको जनाइएको छ।

भोटेकोशी बाढीपछि सम्पर्कबीहिन लमजुङका ८ जना नागरिक

सम्पर्कविहीनमध्ये केही सरकारी तथा सुरक्षा निकायमा कार्यरत थिए भने केही जलविद्युत् आयोजनामा काम गर्दै आएका थिए। केही व्यक्ति भने पर्यटकका रूपमा रसुवा पुगेको बताइएको छ।

बाढीपछि परिवारजनले फोन तथा अन्य सञ्चारमाध्यमबाट सम्पर्क गर्ने प्रयास गरे पनि उनीहरूसँग सम्पर्क स्थापित हुन नसकेको बताएका छन्। त्यसैले सम्भावित जोखिममा रहेका व्यक्तिको अवस्था तत्काल पत्ता लगाई खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन परिवारजनले सम्बन्धित सुरक्षा निकाय तथा प्रशासनसँग आग्रह गरेका छन्।

यसैबीच, रसुवा क्षेत्रमा रहेका लमजुङका नागरिकबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित परिवार वा नजिकको सुरक्षा निकायलाई खबर गरिदिन पनि अपिल गरिएको छ।