
नेपाल सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आगामी चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
बिदाको दिन थपिएसँगै कार्यालय समयमा पनि परिमार्जन गरिएको छ। अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन। यस्तै, आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय भएको छ।
सोमबारबाट लागू हुने गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने शैक्षिक संस्थाबाहेक उल्लिखित कार्यालय तथा निकायहरूको कार्यालय समय बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म हुने निर्णय राजपत्रमा प्रकाशित भएको हो ।
तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको कार्यालय समय बिहान ९ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कायम गर्ने निर्णय गरिएको हो ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको हो। वातावरण संरक्षण र इन्धन खपत कम गर्ने उद्देश्यले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको सरकारका प्रवत्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।









