
लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ बाहुनबेसीमा रहेको यशोब्रम्हा माध्यमिक विद्यालयको ६४ औँ बार्षिक उत्सव तथा ६३ औं अभिभावक दिवस सम्पन्न भएको छ । सोमवार आयोजित वार्षिकोत्सव समारोहको कार्यक्रमका प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख गुमासिंह अर्यालले उद्घाटन गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक दुलालको अध्यक्षतामा भएको बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्नुहुदै नगरप्रमुख अर्यालले विद्यालयमा गुणस्तरीय शिक्षा कायम राख्न शिक्षक, विद्यार्थी र अभिभावक तीन पक्षको महत्वपूर्ण भूमिका रहने वताउनुभयो । बालमैत्रि शैक्षिक वातावरण निमार्णको लागि समुदायमा रहेका हरेक व्यक्तिहरु जिम्मेवार वन्नुपर्नेमा उहाँको जोड थियो । उहाँले सफलता व्यक्तिको मेहनत, अनुशासन, निरन्तरतामा भरपर्ने भन्दै लक्ष्य तय गरेर अघि वढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ लमजुङका प्रमुख दिवाकर शर्मा चिलुवाल, विद्यालयका निर्वतमान अध्यक्ष श्रीकान्त घिमिरे, बुद्धिजिवी अगंराज घिमिरे, विद्यालयका पुर्व विद्यार्थी समाजका अध्यक्ष भरतबाबु घिमिरे, समाजसेवी रेशम खड्का, विद्यालयका पुर्व अध्यक्ष महेन्द्र दनाई, पुर्व शिक्षक गमबहादुर दनाई, विद्यालय व्यवस्थापन समितिका सदस्य विमला हिमाली, पुर्व विद्यार्थी दिलिप राना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालयका शिक्षक सृजना घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट कक्षा १० कि छात्रा सरिसा दुलालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रमुख डिएसपी रेशम बोहरा, ससस्त्रका प्रहरी निरिक्षक झपिन्द्र बानिया, समाजसेवी राजेन्द्र बोहरा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद बरालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन र आयव्यय प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा विद्यालयमा स्थापना गरिएको अक्षयकोषको रकमबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । कार्यक्रममा उपस्थित अक्षयकोष दाताबाट नै विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । त्यस्तैगरी विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई ज्येष्ठ नागरिक तथा अध्क्षयकोष संस्थापक सरीता घिमिरेले ३७ हजार बराबरको स्टेसनरी सामाग्री वितरण गर्नुभएको थियो ।

वार्षिकउत्सवको अवसरमा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष श्रीकान्त घिमिरेले ३ जना छात्राछात्रलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ । उहाँले स्वर्गिय मातापिताको नाममा २०७३ सालबाट प्रत्येक वर्ष कक्षा ५, ६ र ८ मा उत्कृष्ट हुने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आउनुभएको छ ।
कार्यक्रममा विद्यालयमा कार्यरत ३ जना शिक्षक सृजना घिमिरे बराल, शान्ता भुजेल र पवित्रा गुरुङलाई वर्षको उत्कृष्ट शिक्षकका रुपमा सम्मान गरिएको थियो भने उत्कृष्ट अभिभावकमा मित्रकुमारी गुरुङलाई र पुर्व शिक्षक लक्ष्मीप्रसाद घिमिरेलाई, त्यस्तैगरी जग्गादाता सरीता पाण्डे र ज्येष्ठ नागरिक सरीता घिमिरेलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक अरुण बराल र सृजना घिमिरेले गर्नुभएको थियो । वार्षिक उत्सव समारोहमा विद्यालयहरुले गित, नृत्य लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक विद्यार्थी सहित अभिभावकहरु, सहयोगदाता, चन्दादाता, अक्षयकोष दाता पूर्व विद्यार्थी लगायतको उपस्थिती थियो ।









