
नेपालमा अर्बुद रोग निवारण संस्थाको ४३ औं स्थापना दिवसको अवसरमा क्यान्सर रोगबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । संस्थाको जिल्ला शाखा लमजुङको आयोजनामा बेसीशहर नगरपालिका वडा नं ३ मा रहेको यशोब्रह्ममा माध्यमिक विद्यालयमाम सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले कार्यक्रमको उदघाटन गर्दै क्यान्सर प्राणघातक रोग भएकाले यो लाग्न नदिनु नै बेस हो र त्यसका लागि हामी सबैले प्रयास गरौं, समयमा स्वास्थ्य जाँच गरौं भन्नुभयो ।
सचेतनाका लागि यो कार्यक्रमको आयोजक जस्ता संस्थाले प्रयास गरेका छन् । यस्ता कार्यक्रम जिल्लाका सबै विद्यालय, आमा समूह, बाबा समूह, क्लबहरू लगायत गाउँगाउँसम्म पु¥याउन जरुरी रहेको उहाँले सुझाव दिनु भयो ।
सो अवसरमा कार्यक्रमका अतिथि जिल्ला आयुर्वेद औषधालय लमजुङका प्रमुख उत्सव पौडेलले क्यान्सर जस्तो प्राण घातक रोग लागेपछि उपचार गर्नुभन्दा लाग्न नदिने उपयतर्फ लाग्नु जरुरी छ भन्नुभयो । उहाँले स्कूल पढ्ने उमेरदेखिनै यो रोग प्रति सचेत हुनुपर्नेमा जोड दिदै स्कूलमा विद्यालय लक्षित यो कार्यक्रम सान्दर्भिक छ भन्नुभयो । उहाँले आहार विहारमा ध्यान दिएमा क्यान्सरबाट बच्न सकिने उल्लेख गर्दै जंक फुटको सेवनबाट बच्नु पर्छ भन्नुभयो । उहाँले विहार भनेको जीवन शैली हो, विहान सबेरै घाम उदाउनु अघि उठ्ने बानी बसाल्नु पर्नेमा जोड दिदै व्यक्तिगत, पारिवारिक र सामाजिक वातावरणको सरसफाईमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

यसैगरी, अर्का अतिथि प्रदेश अस्पताल, लमजुङका शल्यचिकित्सक नारायणप्रकाश शर्माले क्यान्सर के हो ? कसरी हुन्छ ? लक्षण, उपचार विधि लगायतका विषयमा प्रकाश पार्नु भएको थियो । उहाँले शरिरमा कोषहरूको अनावश्यक बृद्धि तथा ट्युमर क्यान्सरको प्रारम्भिक रुप हो भन्ने जानकारी दिनुभयो । उहाँले क्यान्सरलाई चोरसँग तुलना गर्दै चोरको तह र तारिका जस्तै क्यान्सर पनि विभिन्न प्रकारका हुने उल्लेख गर्नु भयो । उहाँले प्रदेश अस्पतालमा हरेक शुक्रबार क्यान्सरको स्क्रीनिङ गर्ने गरेको जानकारी दिदै त्यस्तो आशंका भएमा त्यसका लागि सम्पर्क गर्न आग्रह गर्नु भयो ।
आयोजक संस्थाका जिल्ला सभापति एवम् कार्यक्रमका अध्यक्ष नवराज पहाडीले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै संस्थागत गतिविधिबारेमा जानकारी दिनु भएको थियो । आयोजक संस्थाका सहसचिव भरतबाबु घिमिरेले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमा सोही विद्यालयकी शिक्षक सिर्जना बरालले सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा वडा नं ३ वडा सदस्य कृष्ण भुजेल, आयोजक सस्थाका उपाध्यक्ष नवराज बराल, सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष तिलकबहादुर दुलाल, आयोजक संस्थाका कोषाध्यक्ष तैमाया गुरुङ, सहसचिव भरतबाबु घिमिरे, विद्यालयका अध्यक्ष तिलक दुलाल, सदस्य, विमला हिमाली, विद्यालयका प्रअ सूर्यप्रसाद बराल लगायत अभिभावक, शिक्षक, विद्यार्थीहरुको लगायतको सहभागिता थियो ।









