
आजबाट नयाँ वर्ष २०८२ सुरु भएको छ । देश तथा विदेशमा रहने हरेक नेपालीहरुले नयाँ वर्षको स्वागत गर्दै उल्लासका साथ मनाइरहेका छन् ।
तर त्यही बेला नेपालका शिक्षकहरू भने शिक्षा क्षेत्रको सुधारको मागसहित सडकमा उत्रिएर नारा जुलुस लगाई लगाइरहेका छन्।
नेपाल शिक्षक महासंघको आह्वानमा २० चैतदेखि जारी आन्दोलन सोमबार १३ औं दिन प्रवेश गरेको छ। नयाँ वर्ष २०८२ को पहिलो दिन पनि उनीहरूले माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गर्दै वर्षको सुरुवात सडकमा गरे।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘यसपलिका नयाँ वर्ष हामी सडकमा नै मनाउँदैछौं। नयाँ वर्षको आरम्भको यो दिन पनि आम नेपाली विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलनको मोर्चामा खर्च गर्दैछौं।’
शिक्षकहरूको मुख्य माग शिक्षा ऐनको तुरुन्त घोषणा हो। उनीहरू भन्छन्— विगतमा पटक–पटक सहमति भएर पनि कार्यान्वयन नभएको अनुभव दोहोरिन सक्दैन। त्यसैले, जबसम्म नयाँ शिक्षा ऐन विधिवत रूपमा जारी हुँदैन, तबसम्म आन्दोलन जारी राख्ने अडानमा छन्।
यसबीच, सरकार र शिक्षक महासंघबीच पटक–पटक संवाद भएको भए पनि ठोस सहमति जुट्न सकेको छैन। सरकारले शिक्षा सम्बन्धी विषयहरू संसद्को आगामी अधिवेशनबाट ऐन जारी गर्ने तयारी गरिरहेको बताउँदै आएको छ। तर, शिक्षकहरू भने यो आश्वासनमा मात्र नटिक्ने बताएका छन्।









