
लमजुङको क्व्होलासोथार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा नागरिकले गाउँपालिकाको विकासमा चासो देखाएका छन् ।
उनीहरुले विकासविना समृद्धि हासिल गर्न नसक्ने भएकाले नागरिकको प्रत्यक्ष सहभागितामा चौतर्फी विकासको योजना बनाएर लागू गर्न गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई सुझाव दिए ।
क्व्होलासोथार गाउँपालिका ७, उपल्लो चरागाउँमा शुक्रबार क्व्होलासोथार गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–०८२ को दोस्रो चौमासिकमा सञ्चालित विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता विषयमा सार्वजनिक सुनुवाई आयोजना गरिएको थियो ।
सार्वजनिक सुनुवाइमा स्थानीयले सडकको सुधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन साथै करलगायतको विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति अशोककुमार गुरुङ, नेकपा एमाले वडा कमिटी अध्यक्ष लक्ष्मण गुरुङ लगायतले नागरिकका समस्या पहिचान गरी समाधान गर्नतर्फ जनप्रतिनिधि लाग्नुपर्नेमा जोड दिए ।
गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइमा गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले न्याययिक समितिले गर्दै आएको कामकारबाही र अनुगमनका विषयमा जानकारी गराइएकी थिइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा गाउँपालिकाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष लक्षुमन गुरुङ, वडा नं. २ का वडाअध्यक्ष खुशीमान गुरुङ, वडा नं. ५ का वडाअध्यक्ष गीतबहादुर गुरुङ, वडा नं. ८ का वडाअध्यक्ष सन्तोष घले र वडा नं. ९ का वडाअध्यक्ष हुमराज गुरुङले आफ्नो वडाको प्रगतिविवरण प्रस्तुत गरेका थिए ।
सहभागिका जिज्ञासामा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले गाउँपालिकाको गतिविधिलाई पारदर्शी र थप व्यवस्थित बनाउँदै आम सरोकारका विषयमा नागरिकलाई जिम्मेवारी बनाउन सार्वजनिक सुनुवाइ गरिएको बताए । सार्वजनिक सुनुवाइबाट आम नागरिकले गाउँपालिकाले गरेका गतिविधि एवं क्रियाकलापको बारेमा थाह पाउने, गाउँपालिकाको समग्र विकासबारे नागरिकले बुझ्न पाउने र नागरिकको रचनात्मक प्रतिक्रिया पाउने भएकाले यसबाट आगामी योजना निर्माण, विकास तथा समृद्धिमा थप सहयोग पुग्ने उनले अपेक्षा गरे ।
सार्वजनिक सुनुवाईमा उठेको विषयमा प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले, वडाअध्यक्ष लक्षुमन गुरुङ, स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङ, पशु सेवा शाखा प्रमुख डा. अनुप गुरुङलगायतले सम्बोधन गरेका थिए ।
लमजुङ मिडिया हाउसको सहजीकरणमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सञ्चालन पत्रकार आशबहादुर गुरुङले गरेका थिए । सार्वजनिक सुनुवाइको महत्वबारे जानकारी गराउँदै आचारसंहिताबारे पत्रकार देवेन्द्र गुरुङ (सुरज) ले जानकारी गराएका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा कार्यपालिका सदस्यहरु केशकुमारी गुरुङ, खासदेवी गुरुङ, पुष्पा सुनार, निवर्तमान वडाअध्यक्ष डीलकुमारी गुरुङ, वडा सदस्यहरु दलबहादुर गुरुङ, राजेन्द्रप्रसाद गुरुङ, बीरमाया गुरुङलगायतको उपस्थिति थियो ।









