पत्रकार सुरेश रजकको हत्याको अनुसन्धान गरी कारबाही गर्न लमजुङ शाखाको माग

-


     भरत बाबु घिमिरे     
     चैत्र १८ गते २०८१ मा प्रकाशित


नेपाल पत्रकार महासंघ लमजुङ शाखाले आन्दोलनका क्रममा हत्या गरिएका पत्रकार सुरेश रजकको हत्याको गहिरो अनुसन्धान गरी हत्यामा संलग्नहरुलाई फौज्दारी अभियोगमा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले सोमबार प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङमार्फत ध्यानाकर्षण पत्र पेस गर्दै सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन सरकारसंग माग गरेको छ ।

ध्यानाकर्षण पत्रमा समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा आन्दोलनमा उत्रिएका लमजुङका पत्रकारहरूले विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि माग गरिएको छ ।

पत्रमा महासंघका माग एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न आग्रह गरिनुका साथै त्यसो हुन नसके सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन महासंघ बाध्य हुने चेतावनी दिइएको छ । महासंघले सम्पूर्ण पत्रकारहरुको जीउधनको रक्षा गर्न, स्वतन्त्र पत्रकारिता गर्ने वातावरणको सृजना गर्न, विधिको शासन र दण्डहीनताको अन्त्य गर्न नेपाल सरकारसंग जोडदार माग गरिएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसी र महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेलको नेतृत्वमा गएको पत्रकारहरुको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारीलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो ।

शुक्रबार राजधानीको तीनकुनेमा भएको राजावादीहरुको आन्दोलनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएकामा रजकको त्यही जलेर मृत्यु भएको थियो ।

आन्दोलनकै क्रममा पत्रकार दिनेश गौतममाथि आक्रमण हुँदा उनको खुट्टा भाँचिएको छ । आन्दोलनकै क्रममा फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ । आन्दोलनकारीले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पुर्याएका थिए । त्यस्तै कान्तिपुर टेलिभिजनको भवनमा पनि क्षति पुर्याइनुका साथै हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरिएको थियो ।