शैक्षिक क्षेत्रको समस्या समाधान गर्न नयाँ शिक्षा ऐन आउँछ – पूर्वमन्त्री शंकर भण्डारी

-


     नयाँ दीप    
     पौष २५ गते २०८१ मा प्रकाशित


शैक्षिक क्षेत्रमा व्यापक समस्या भएको हुँदा यिनको समाधानका लागि नेपाल सरकारले नयाँ शिक्षा ऐन ल्याउन लागेको पूर्वमन्त्री शंकर भण्डारीले बताउनु भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ९ सिउँडीबारमा रहेको फ्यूचर स्टार आवासीय माध्यामिक विद्यालयको ३१ औँ वार्षिकोत्सव तथा २९ औँ अभिभावक दिवसको उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनु भएको हो ।

२०२८ सालको शिक्षा नीतिले शैक्षिक क्षेत्रमा थप समस्या ल्याएको र शिक्षाको समस्या नै राष्ट्रिय समस्या भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका भण्डारीको भनाई छ । राजनीति प्रति विश्वास घट्दै गएको र अब दलहरुले गम्भिर भएर विगतमा भएका गल्ती सच्याउने साहस नगर्ने हो भने थप समस्या आउन सक्ने नेता भण्डारीको दावी छ ।

कार्यक्रमका विशेष अतिथी रहेका गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले आवश्यक तयारीका साथ लाग्ने हो भने सोचे जस्तो भविष्य निर्माण गर्न सकिने बताउनुभयो । हिजोको जस्तो कहाली लाग्दो अवस्था आज नरहेको भन्दै जनजाति, दलितले धेरै कष्ट भोग्नु पथ्र्यो तर अहिले सबैलाई अधिकार प्राप्त भएको मन्त्री गुरुङको भनाई थियो ।

फ्यूचर स्टारको वार्षिकोत्सवमा अभिभावक विच घैटो फुटाई, कुर्चीचाल प्रतियोगिता, स्लो बाइक रेस, साथी बोकेर कुद्ने अन्तर माविस्तरीय छात्रा भलिबल छात्र बास्केटबल प्रतियोगिताको आयोजना गरिएको थियो । खेलमा विजयी विद्यार्थी तथा अभिभावकलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।

उक्त कार्यक्रममा पूर्व जिल्ला सभापति शंकरकान्त जोशी, नेपाली काँग्रेस केन्द्रीय सदस्य कृष्णचन्द्र गौतम, सुन्दरबजार नगर प्रमुख कृष्णप्रसाद कोइराला, काँग्रेस महासमिति सदस्य गमप्रसाद गुरुङ, सचिव कृष्ण बहादुर अधिकारी, नेपाल रेडक्रस सोसाइटी पूर्व सभापति दिपक बराल लगायतले विद्यालय प्रगतिको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

विद्यालयका संस्थापक अध्यक्ष बाबुराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल रामकृष्ण घले र शिक्षक चेतन अधिकारीले सञ्चालन गर्नुभएको थियो । साथै कार्यक्रममा विभिन्न संस्कृतिमा आधारित नृत्य प्रस्तुत गरिएको थियो ।

३० वर्ष पूरा गरेर ३१ वर्ष प्रवेश सो विद्यालयमा हाल ६ सय १६ जना छात्रा र ४ सय ४५ जना छात्र गरी १ हजार ६१ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।