नेपालको स्वाधिनताको रक्षा गर्न सकियो भने भ्रष्टाचार अन्त्य गर्न सकिन्छ: देवप्रसाद गुरुङ

-


     नयाँ दीप    
     पौष ९ गते २०८१ मा प्रकाशित


नेपालको स्वाधिनताको रक्षा गर्न सकियो भने मात्रै भ्रष्टाचारको अन्त्य गर्न सकिने नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बताउनु भएको छ । नेकपा माओवादी केन्द्र बेसीशहर नगर समितिको दोस्रो अधिवेशनका क्रममा मंगलवार बेसीशहरको भिमसेनस्थान चोकमा भएको खबरदारी सभामा गुरुङले यस्तो बताउनु भएको हो ।

अहिले बेला न कुबेला संविधान संसोधनका नाममा पश्चगामी मुद्धा उरालेर प्राप्त उपलब्धी माथि हमला गर्ने र द्वन्द्व मञ्चाउने खालका गतिविधि भएका छन् भन्दै यस्ता गतिविधि रोक्न नसके देश थप बर्बादीतिर जाने महासचिव गुरुङले बताउनु भयो ।
जनविरोधी क्रियाकलाप, भ्रष्ट चरित्र निर्मुल गर्न राज्यमा सुशासन कायम गर्न माओवादीले देशभर खबरदारी सभा आयोजना गरेको नेता गुरुङको भनाई थियो । दलहरु वीचमा राष्ट्रिय सहमतिको खाँचो छ, सबै पक्षको बृहत्तर एकताको विकल्प नभएको गुरुङले जोड दिनु भयो ।

नेकपा माओवादी केन्द्र बेसीशहर नगर अधिवेशन पूर्व बेसीशहर बजारमा बाजा गाजा सहित नगर परिक्रमा गरि तामाङ घेदुङको हलमा पुगेर सम्मेलन आयोजना गरिएको थियो ।

उक्त सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पारसमणि पौडेल, मधु अधिकारी, लाल बहादुर गुरुङ, सतिमाया तामाङ, केन्द्रीय सल्लाहकार हेमकुमारी सुनार, चित्रबहादुर कार्की, प्रदेश सहसचिव मेख बहादुर भण्डारी, जिल्ला सचिव सुनिल सुनार, प्रदेश सदस्य हरिजंग तामाङ, राइनास अध्यक्ष प्रमोद दवाडी, मध्यनेपाल अध्यक्ष लालजंग दुरा, मस्र्याङदी गाउँपालिका अध्इक्ष होमराज तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

सम्मेलनको दोस्रो सत्रमा शिव थापा र गम बहादुर दनाईको निर्वाचन मण्डल गठन गरिएको छ । निर्वाचन मण्डलले सर्वसहमतिमा नेकपा माओवादी केन्द्र बेसीशहर नगर समिति चयन गर्ने बताएको छ ।

बेसीशहर नगर समितिका अध्यक्ष देवबहादुर गहतराजको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भुपाल दनाईले स्वागत गर्नुभएको थियो भने सचिव शान्ति बहादुर बस्नेतले सञ्चालन गर्नुभएको थियो ।