जनविकास माविको बार्षिकोत्सवको आर्थिक मामिला मन्त्री गुरुङद्धारा उद्घाटन

-


     भरत बाबु घिमिरे     
     पौष ८ गते २०८१ मा प्रकाशित


लमजुङ सदरमुकाम बेसीशहरमा रहेको जनविकास माध्यमिक विद्यालयले आफनो ४९ औँ बार्षिकोत्सव तथा ४० औँ अभिभावक दिवस मनाएको छ ।

सोमबार एक कार्यक्रमका बिच गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले बार्षिकोत्सव एवं अभिभावक दिवसको औपचारिक उदघाट्न गर्नुभएको हो ।

कार्यक्रमको प्रमुख अतिथि रहनुभएका मन्त्री गुरुङले सम्बोधन गर्दै शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासका लागि राज्यको लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । शिक्षा क्षेत्र बिग्रिएमा समाजको विकासक्रम नै बिग्रने भएकाले शिक्षाका भौतिक पूर्वाधार तथा प्रविधि विकास र सामयसापेक्ष पाठ्यक्रम तर्जुमाका लागि लाग्नुपर्ने मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले गुणस्तरीय शिक्षाका लागि क्षमतावान् शिक्षक राखिनुपर्ने र शिक्षकलाई मर्यादा, प्रतिष्ठाका साथै सुविधा दिनुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष बुना कुमारी रिमाल, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण बहादुर अधिकारी, शिक्षा शाखा प्रमुख किसानराज चिलुवाल, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण बराल, रास्वपा होमबहादुर राउत, पूर्व विद्यार्थी सुरेश प्रधान र विर्खबहादुर गुरुङ, राप्रपाबाट अजित बहादुर अधिकारी, छिमेकी विद्यालयका तर्फबाट सूर्यप्रसाद बराल, यूनिभर्सल बोर्डिङका प्रिन्सिपल विमल अधिकारी, भूपू बोर्डिङका प्रिन्सिपल विनोद गुरुङ, ल्याण्ड स्टार बोर्डिङका प्रिन्सिपल ईश्वर पौडेल, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अतिथिहरुले कार्यक्रममा बोल्दै शिक्षा क्षेत्र समयसापेक्ष, सिपयुक्त जनशक्ति उत्पादन गर्ने कारखाना बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

विद्यालयक प्रधानाध्यापक एकदेव घिमिरेले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुसी बरालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रअ विरेन्द्र रिमाल र वि व्य स का सदस्य कुमार विकले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालयका शिक्षक राजु रावतले सहजिकरण गर्नुभएको थियो ।