चिती साहित्य समाजको बोलबम यात्रा

-


     नयाँ दीप    
     श्रावण २२ गते २०८१ मा प्रकाशित


बेसीशहर नगरपालिका वडा नं ११ रहेको चिती साहित्य समाजको आयोजना र त्रैलोकेश्वर मन्दिर व्यवस्थापन समितिको संयोजनमा बोलबम यात्रा कार्यक्रम गरिएको छ । महादेव पार्वतीको झाँकी सहित भक्तजनहरु तिलाहार सिद्धेश्वर मन्दिरबाट निस्केको यात्रा रामचोकमा त्रिवेणी धाममा रहेको त्रैलोक्यश्वर महादेवको मन्दिरमा पुजा अर्चना गरि समापन गरिएको हो ।

त्रैलोक्यश्वर मन्दिर व्यवस्थापन समिति अध्यक्ष प्रेमदत्त सेढाईले दुई नदी दोर्दी र गंगाको संगममा रहेको पवित्र स्थल त्रिवेणी धामलाई धार्मिक ऐतिहासिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गरी सबैको आकर्षणको केन्द्र बनाउन समिति लागि परेकोले यसमा सबैको साथ सहयोगको आफुले अपेक्षा राखेको बताउनुभयो । त्रिवेणी धाम निर्माणका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेकोले पवित्र कार्यमा लगाएको सहयोग रकमले पुण्य प्राप्त हुने भएकोले सक्नेहरुले मन खोलेर सहयोग गर्न आग्रह गर्नुभयो । मन्दिर व्यवस्थापन समितिका पुर्ब अध्यक्ष डम्बरधोज सेढाईले त्रिवेणी धामको महत्व बारे जानकारी दिदै बराह देवीले त्रिवेणीमा स्थान गरी त्यहाको जल लिएर सिद्देश्वर महादेवको मन्दिरमा समेत चडाउने गरेकोले त्रिवेणी गढी थापाडाँडा र सिद्देश्वर मन्दिरसंग समेत सम्बन्ध रहेको किंवदन्ती रहेको बताउनुभयो ।

चिति साहित्य समाजका उपाध्यक्ष नेत्र केसीले साहित्य समाजले प्रत्येक बर्ष गर्दै आएको कार्यक्रमको निरन्तरता भएको र संस्कृत संरक्षणमा संस्था लागि रहने बताउनुभयो । बिश्व हिन्दु महासंघ लमजुङका सचिव कमल अधिकारीले मानिसलाई सत्मार्गमा लाग्न यस्ता कार्यक्रमले प्रेरणा दिने बताउनुभयो ।

कार्यक्रममा चिति साहित्य समाजका कोषाध्यक्ष बाबुराम पाण्डे, सदस्य खिलादत्त थपलिया लगाएत पदाधिकारी सदस्यहरु त्रैलोकेश्वर मन्दिर व्यवस्था समिति र स्थानीयहरुको उल्लेख्य उपस्थिती थियोे ।