
आगामी जेठ १३ गतेदेखि लमजुङमा पोलियो विरुद्धको आई.पि.भी. खोप अभियान– २०८१ सुरु हुदैछ । आइतबार बेसीशहरमा स्वास्थ्य कार्यालय लमजुङले सरोकारवाला तथा पत्रकारहरुसँग अभिमुखीकरण कार्यक्रम गरी यस्तो जानकारी गराएको हो ।
सो अवसरमा स्वास्थ्यका कार्यालयका प्रमुख प्रवीणकुमार खनालले एक कार्यपत्र प्रस्तुत गर्दै खोप अभियान जेठ १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गर्ने बताउनुभयो ।
यो खोप सम्पूर्ण बालबालिकालाई नभई २०७३ को बैशाखदेखि २०७५ को असोज महिनासम्म जन्मिएका बालबालिकालाई मात्रै दिइने प्रमुख खनालले बताउनुभयो ।
सो समयमा जन्मिएका लमजुङका ६ हजार ६ सय ६५ जना बालबालिकालाई खोप दिइने छ भने मुलुकभरका १४ लाख ६२ हजार ७१२ जना बालबालिकालाई खोप दिने कार्यक्रम रहेको छ ।
ती बालबालिकाहरुमा सबैभन्दा बढी सुन्दरबजार नगरपालिकामा १ हजार ८ सय ३६ जना र सबैभन्दा कम दूधपोखरी गाउँपालिकामा २ सय १ जना रहेका छन् ।
अन्य पालिकाहरूमा बेसीशहरमा १ हजार ७ सय ९४ जना, मध्यनेपाल नगरपालिकामा ९ सय ७९ जना, मस्र्याङ्दी गाउँपालिका ५ सय ६८ जना, राइनास नगरपालिकामा ५ सय ५४ दोर्दी गाउँपालिकामा ५ सय ९ जना र क्ब्होलासोथर गाउँपालिकामा २ सय ५४ जनालाई खोप दिने लक्ष्य रहेको छ ।
खोप अभियानको लागि १ सय ६९ जना स्वास्थ्यकर्मी तथा ६ सय ६२ जना स्वय्सेवक खटिने प्रमुख खनालले जानकारी दिनुभयो । त्यसका लागि जिल्ला भर १ सय ३ खोप केन्द्रको प्रवन्ध गरिएको छ । उहाँले भन्नुभयो, ‘यो कार्यक्रम विद्यालय केन्द्रीत हुनेछ । त्यसका लागि जिल्लाका ३३१ विद्यालय लक्षित छन् ।
स्वास्थ्य कार्यालयका प्रमुख खनालले पोलियोको तीन वटा टाइप हुनेमा दुई टाइप प्राकृतिक रहेको जानकारी दिनुभयो । पछिल्ला वर्षमा विश्वको तत्थ्याङ हेर्दा पाकिस्तान र अफगानिस्तानमा मात्र पोलियोको नयाँ बिरामी फेला परेको उल्लेख गर्दै नेपालमा २०६७ भदौ १४ गतेदेखि नयाँ बिरामी फेला नपरेको उल्लेख गर्नुभयो ।
तर पनि ती देशमा गएर फर्कने व्यक्तिले पोलियो ल्याउन सक्ने भएको हुँदा यो अभियान सञ्चालन गर्नु परेको खनालले बताउनुभयो ।

उहाँका अनुसार यो रोग लाग्दैमा सबैलाई लक्षण देखिन्छ भन्ने हुँदैन । लक्षण नदेखिए पनि उसले अन्यलाई सार्न सक्ने सम्भवना भने प्रवल हुन्छ । त्यसैले खोप अभियान सञ्चालन गर्नु परेको हो उहाँले भन्नुभयो ।सो अवसरमा खोप सुपरभाइजर निरोजकुमार श्रेष्ठले मुख्य गरी पोलियो रोग दुषित पानीबाट नै सर्ने हुदाँ सके सम्म पानी उमालेर मात्रै खाँदा पोलियो लगायत धेरै रोगबाट बच्न सकिने बताउनुभयो ।
उहाँले लमजुङमा खानेपानीको प्रशोधन नहुने समस्या बढी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा सञ्चालन भएका छ वटा खानेपानी आयोजनामा मात्र प्रशोधन प्लान्ट भएपनि एउटा भोटेओडारको तार्दीखोला खानेपानी आयोजनाको मात्रै राम्रो प्रशोधित प्रान्ट प्रयोग रहेको जानकारी गराउनुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख बुनाकुमारी रिमालको अध्यक्षतामा भएको सो कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, शिक्षा विकास तथा समन्वयका इकाईका प्रमुख विरबहादुर गुरुङ, रेडक्रसका सभापती ऋषिराम अधिकारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।