लमजुङका कहाली लाग्दा भिरहरुमा ‘हनी हन्टिङ’ गरिदै

-


     भरत बाबु घिमिरे    
     वैशाख ३१ गते २०८१ मा प्रकाशित


यतिबेला लमजुङका कहाली लाग्दा भिरहरुमा ‘हनी हन्टिङ’ अर्थात मह शिकार गरिदै छ । मर्स्याङदी गाउँपालिकाको वडा नं ४ मा रहेको मिप्राको छोप्ली भिरमा र ताघ्रिङको कोइम्रोमा ‘हनी हन्टिङ’ गरिएको छ ।

मह शिकार गरेर एक छोप्ली भिरबाट मात्रै २ सय ४० लिटर मह निकालिएको छ भने ताघ्रिङको कोइम्रोबाट १२० लिटर मह जम्मा गरिएको छ । यसरी निकालिएको मह गाउँले सबैलाई बराबर भाग लगाएर बाडिने स्थानीय प्रदिप गुरुङले जानकारी दिनुभयो । भिर मौरीको मह प्रति लिटरको २ हजार देखि २५ सय रुपैया सम्ममा विक्री हुने गर्छ ।

भीर मौरीको महको लागि मिप्राका स्थानीय जमिर गुरुङ, मीन बहादुर गुरूङ, डिल बहादुर गुरूङ, राजकुमार गुरुङ त्यस क्षेत्रका नाईके सिकारी रहेको र उनीहरुको नेतृत्वमा ५०\६० जनाको टोलीले मह शिकार गरेको हो ।

ज्यानको बाजी नै थापेर जोखिम मोलेरै ‘महसुर’ मह शिकारीले मात्रै मह शिकार गर्न सक्छन् । छङ्गाछुर भीरमा डोरीकै भरमा मह शिकार गर्नु निकै साहशिक मानिन्छ । मह शिकार हेर्ने दर्शकको घुइँचो नै लाग्ने गर्छ । मह शिकार गरेको हेर्न रमाइलो हुन्छ । तर मह शिकार गर्न निकै कठीन हुन्छ ।

परापूर्वकालदेखि नै भिरपहरामा पाइने भिरमौरीको सिकार गर्न गाउँलेको हानाथाप हुने गरेपनि अहिले त्यस्ता मह शिकारी भेट्टाउनै मुस्किल हुन्छ । गाउँमा युवा जनशक्तिको अभाव हुन थालेपछि वृद्धहरूले नै मह सिकार धान्दै आएका छन् । मिप्रा गाउँका मुख्य मह शिकारी ८० बर्षिय आशबहादुर गुरुङले आफूले अहिले नसकेपछि आफ्ना शिष्यहरुलाई सिकाउन थालेको बताउनुभयो ।

गुरुङ समुदायको परम्परागत पेसासँग जोडिएको मह सिकारलाई पछिल्लो समय पर्यटक आकर्षण गर्ने माध्यमको रूपमा समेत प्रवद्र्धन गर्न थालिएको छ ।

लमजुङमा सामान्यतया प्रत्येक वर्ष वैशाख, कात्तिक र मंसिर महिनामा भिरमाहुरीको मह सिकार गर्ने सिजन भएकोले यो समयमा मह शिकार गरिन्छ ।

निकै अग्लो भीरमा निगालो र बाँसको चोयाबाट निर्मित डोरीमा काठ राखेर भर्याङ बनाईन्छ र यसैमा झुण्डिएर मह काढ्ने गरिन्छ । परम्परादेखि महको शिकार यसरी गरिदै आएपनी ज्यानको बाजी राखेरनै मह काढ्ने यो एउटा सीप पनि हो, गाउँमा हुने यस्ता क्रियाकलापले समाजलाई एकताबद्द राख्ने र सामाजिक मेलमिलाप कायम हुने वडा नं ४ का वडाध्यक्ष बलबहादुर गुरुङको भनाई छ ।

लमजुङका अधिकांश भीर तथा पहराहरुमा भीर मौरीको मह शिकार गर्ने गरिएपनि मुख्य गरी मर्स्याङदी गाउँपालिकाको स्याँगे, घनपोखरा, सिउरुङ, नाइँचे, क्व्होलासोंथर गाउँपालिकाको भुजुङ ताघ्रिङ, दोदी लगायतका ठाउँमा भीर मौरीको मह शिकार गर्ने चलन रहेको छ ।

मह सिकार गर्ने प्रचलन धेरै पुरानो रहे पनि पर्यटक आकर्षकका लागि ‘हनी हन्टिङ फेस्टिभल’का रूपमा पहिलोपटक ०६३ सालमा लमजुङको ताघ्रिङस्थित काप्रे भिरमा गरिएको थियो । त्यसपछि धेरै गाउँमा पर्यटक आकर्षणका रूपमा मह शिकार हुने गरेको छ ।