
लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ गाउँशहरको रानीकुवा नजिकै पुरानोकोट र नाल्मा जाने सडकमा प्रवेशद्वार निर्माणको शुभारम्भ गरिएको छ ।
प्रवेशद्वारको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले शुक्रबार एक समारोहबीच शिलन्यास गर्नुभएको छ ।
डुम्रे बेसीशहर चामे सडक अन्तर्गत बेसीशहर नगरपालिकाकोे रानीकुवाबाट पश्चिमतर्फ मूल सडकबाटै देखिने गरी प्रवेशद्वार निर्माण गर्न लागिएको हो । बेसीशहर नगरपालिकाले ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय स्थल गाउँशहर र पुरानोकोट तथा नाल्मा जाने सडक प्रवेशद्वार निर्माण शुरु गरेको हो । यसको नाम गाउँशहर प्रवेशद्वार राखिएको छ ।
शिलन्यास कार्यक्रममा बेनपाका उपप्रमुख पद्मा गुरुङ, वडा नं. ३ का अध्यक्ष चित्रबहादुर दनाई, वडा नंं ४ का अध्यक्ष गमबहादुर गुरुङ, वडा नंं ५ का अध्यक्ष ईन्द्रबहादुर गुरुङ, कार्यपालिका सदस्य श्रीनाथ दुलाल, समाजसेवी दीपकराज बराल लगायतको उपस्थिती रहेको थियो ।
चौविसे राज्यमध्ये शक्तिशाली मानिएको तत्कालीन लमजुङ राज्यको राजधानीसमेत रहेको सुन्दर गाउँशहर एवं पुरानोकोट र नाल्मा जोड्ने उक्त सडकको जिरो कि.मी मै त्यस क्षेत्रको ऐतिहासिकता एवं धार्मिक पक्ष झल्कने चित्रहरु अंकित गरी प्रवेशद्वार निर्माण गर्न लागिएको बेसीशहर नगरपालिका ३ का वडा अध्यक्ष चित्रबहादुर दनाईले बताउनभयो । बेसीशहर नगरपालिकाको २० लाख रुपैयाँको लागतमा प्रवेशद्वार निर्माण गर्न लागिएको हो । प्रवेशद्वारको लम्बाई ९ मिटर र उचाई ११ मिटर रहने बताइएको छ ।
सो सडक हुँदै गाउँशहर, शान्ति स्तुपासहित पुरोनोकोट र नाल्मा हुँदै पोखरासम्म जान सकिन्छ ।
प्रवेशद्धार निर्माणको लागि सो बाटोमा यातायात अवरुद्ध हुने हुदाँ केही दिनको लागि बेसीशहरको सितलपाटी, मिलन टोल हुदँै गाउँशहर जानको लागि वडा नं ३ ले सुचना जारी गरेको छ ।