एमाले लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित

-


     नयाँ दीप    
     चैत्र १९ गते २०८० मा प्रकाशित


नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित हुनुभएको छ । आफ्ना प्रतिश्पर्धी एमालेका निर्वमान अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अध्यक्ष पदमा नवनिर्वाचित विष्टले २ सय ८८ मत प्राप्त गर्नुभएको थियो भने अधिकारीले एक सय ९९ मत प्राप्त गर्नुभएको थियो । बेँसीशहर नगरपालिका–११ मा घर भएका विष्ट यसअघि एमाले बेँसीशहर नगर कमिटीको अध्यक्ष हुनुहुन्थ्यो ।
विष्ट र अधिकारीले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिनुभएको थियो ।

उपाध्यक्षसहित उपसचिव समेतमा विष्ट पक्ष विजयी भएका छन् । यस कमिटीको उपाध्यक्षमा यसअघिका जिल्ला सचिव सुभाष पौडेलाई पाँच मत अन्तरले हराउँदै जीतबहादुर गुरुङ निर्वाचित हुनुभयो । गुरुङले दुई सय ४२ मत प्राप्त गर्नुभयो भने पौडेलले दुई सय ३७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, सचिवमा जनकराज मिश्रलाई दुई सय ३९ मतअन्तरले हराउँदै राजेन्द्र बोहोरा विजयी हुनु भएको छ । राजेन्द्रले तीन सय ५८ मत प्राप्त गर्नुभयो भने मिश्रले एक सय १९ मत प्राप्त गर्नुभएको थियो । उपसचिवमा राजेन्द्र अधिकारीलाई दुई सय २० मत अन्तरले हराउँदै विवश बुढाथोकी विजयी हुनुभएको छ । बुढाथोकीले दुई सय ४९ मत प्राप्त गर्नुभयो भने अधिकारले एक सय २९ मत प्राप्त गर्नुभयो । सहसचिव महिलातर्फ भने आइतबार नै राममाया राना मगर निर्विरोध निर्वाचित हुनुभएको थियो ।

जिल्ला कमिटी सदस्यको लागि क्व्होलासोथार गाउँपालिका, दोर्दी, मस्र्याङ्दी र दूधपोखरी गाउँपालिका साथै मध्यनेपाल र राइनास नगरपालिकामा सर्वसम्मत भएको थियो । भूगोलतर्फ बेंसीसहर र सुन्दरबजार नगरपालिकाका प्रतिनिधिबीच निर्वाचन भएको थियो ।

जिल्ला कमिटीमा ५७ जना निर्विरोध निर्वाचित भएका छन् । लेखा कमिटीमा अध्यक्षसहितका पदाधिकारी निर्विरोध भएका छन् । १ जना सदस्यमा मात्रै निर्वाचन भएको थियो ।

अधिवेशनबाट खुलातर्फ प्रेमबहादुर भट्टराई, पेमा गुरुङ, कृष्ण केसी, शिवप्रसाद जोशी, अर्जुन अधिकारी र सूर्यप्रसाद गुरुङ निर्वाचित भएका छन् । खुला महिलातर्फ चन्द्रमा घिमिरे, पदमा गुरुङ, शान्ता सापकोटा र बुनाकुमारी रिमाल निर्वाचित भएका छन् ।

अधिवेशनमा ४ जना पदाधिकारी, खुला ६ जना र महिला ४ जना गरी खुल्ला सदस्य १० जना, भूगोलतर्फ ३ खुला र २ महिलाका दरले बेंसीशहर नगरपालिका र सुन्दरबजार नगरपालिका साथै लेखा कमिटीको खुल्ला सदस्य १ जनामा निर्वाचन भएको बताइएको छ ।

चैत १६ गते उद्घाटन र १७ गते बन्दसत्रको आयोजना गरेको नेकपा एमाले लमजुङको अधिवेशनको अन्तिम मतपरिणाम सोमबार दिउँसो सार्वजनिक भएको थियो । आइतबार भएको मतदानमा पाँच सय छ जनाले मतदान गरेका थिए । निर्वाचित कमिटीको कार्यकाल तीन वर्षे रहने छ ।